काठमाडौं । सामान्य लेखपढ गरेका नागरिक पनि बीमा कम्पनीको सञ्चालक हुने व्यवस्थाबाट अव निश्चित योग्यता पुगेका लगानीकर्ता मात्रै कम्पनीको सञ्चालक हुने व्यवस्था गरिएको छ । नयाँ बीमा ऐन २०७९ मा बीमा कम्पनीका सञ्चालकको समेत योग्यता तोकिएको छ । ऐनले बीमा कम्पनीको सञ्चालक हुन कम्तिमा पनि स्नातक गरेकै हुनु पर्ने व्यवस्था गरिदिएको छ । बीमा समितिले संस्थागत सुशासन निर्देशिका मार्फत नियमन गर्दै आएको व्यवस्था अव ऐनमै उल्लेख भएको छ ।
संस्थागत सुशासन निर्देशिका उल्लङ्घन गर्दा आखा चिम्मेलर बसेको बीमा समिति उक्त व्यवस्था ऐनमै उल्लेख भए पनि कार्यान्वयन गर्न बाध्य हुनेछ । ऐनमा भएको जुनसुकै व्यवस्था कार्यान्वयन गर्न बीमा प्राधिकरण बाध्य हुनेछ ।
बीमा ऐन २०७९ लागु भएपछि सञ्चालक हुन विदेशी वा स्वदेशी बीमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका सङ्गठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा सङ्गठित संस्थाको अधिकृतस्तरमा कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।
त्यस्तै, कुनै विषयमा स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बीमा, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको सङ्गठित संस्थाको संचालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा सङ्गठित संस्थाको अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको,चार्टर्ड एकाउन्टेण्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा वाणीज्य कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
त्यसैगरी बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र स्वदेशी वा विदेशी बीमक वा सम्बन्धित क्षेत्रको सङ्गठित संस्थाको सञ्चालक वा व्यवस्थापक तहमा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरेको व्यक्ति बीमकको स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त हुन योग्य हुनेछ ।
तर बीमकको सञ्चालक, सञ्चालकको एकाघर परिवारको सदस्य, लेखापरीक्षक, परामर्शदाता तथा बीमकको आधारभूत शेयरधनी वा बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति स्वतन्त्र सञ्चालक हुन पाउने छैन।
सञ्चालकको अयोग्यता
देहायको कुनै व्यक्ति सञ्चालकको पदमा निर्वाचित वा मनोनीत हुन अयोग्य हुनेछः
२५ वर्ष उमेर पूरा नभएको, शारीरिक तथा मानसिक अस्वस्थताको कारणले सञ्चालक भई सेवा गर्न असमर्थ भएको, प्रचलित कानून बमोजिम दामासाहीमा परेको अवस्थामा रहेको, प्रचलित कानून बमोजिम कालोसूचीमा परी फुकुवा भएको मितिले तीन वर्ष पूरा नभएको हुनुपर्नेछ ।
त्यस्तै, बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने सङ्गठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत शेयर लिएको बहालवाला सञ्चालक वा कर्मचारी,सम्बन्धित बीमकको बहालवाला लेखापरीक्षक वा परामर्शदाता वा बीमकसँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति वा संस्था, फर्म र कम्पनी, धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेण्ट बैंकर, अन्य बीमकको सञ्चालकको पदमा बहाल रहेको, शेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धित बीमकको नियमावली बमोजिम अयोग्य रहेको छ ।
त्यस्तै, सञ्चालक हुनको लागि लिनु पर्ने न्यूनतम शेयर नलिएको, सार्वजनिक पद धारण गरेको वा नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक वा बैंक वा वित्तीय संस्थाको बहालवाला कर्मचारी,तर नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले शेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनीत गर्न यस व्यवस्थाले बाधा र्पुयाएको मानिने उल्लेख गरेको छ ।
साथै, प्रचलित कानून बमोजिम तिर्नु पर्ने कर चुक्ता नगरेको,चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुर, बीमा, बैंकिङ्ग वा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको पाँच वर्ष पूरा नभएको मात्र मान्य हुने उल्लेख गरिएको छ ।
त्यसैगरी प्रचलित कानून बमोजिम नियमनकारी निकायले कानून विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष पूरा नभएको, अदालतको फैसला बमोजिम लागेको कैद, जरिबाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको,
प्राधिकरणको निर्देशन पालना नगरेको कारणबाट प्राधिकरणले कारबाही गरेको मितिले तीन वर्ष पूरा नभएको जनाइएको छ ।