पर्याप्त जानकारी र अनुभवको अभावका कारण सर्वसाधारणको लागी शेयर बजारमा लगानी, जीवन बीमालेखमा लगानी, ऋण पत्र वा बचत पत्रको खरिद, सामूहिक लगानी कोषको खरिदलगायतको वित्तीय उत्पादनहरुबारे निर्णय लिन कठिन हुन्छ ।
धेरै फाइदाहरु र मूल्य निर्धारणले हाम्रो खरिद निर्णयलाई धेरै प्रभाव पार्न सक्छ । कहिलेकाहीँ हामीले प्रचार प्रसार वा बजारको हल्लाका पछि लागेर उत्साहका साथ कुनै वित्तीय उत्पादनहरु खरिद गछौं तर छोटो समयमै थाहा पाइन्छ की हामी त ठगियौं वा हामीलाई झूठो सल्लाह दिएर बिक्री गरिएको रहेछ ।
विशेष गरी जीवन बीमा योजनाको बिक्रीमा यस्तो समस्याहरु व्याप्त रहेको छ । जीवन बीमा योजनाको बीमालेख वा यसको ब्रोशरहरु सरल भाषामा सर्वसाधारणले बुझ्ने गरी लेखिएका हुँदैनन् । बीमा क्षेत्रमा मात्र प्रयोग हुने विशेष शब्द वा जटिल प्राविधिक शब्दको कारणले बीमितलाई पर्याप्त जानकारी लिन वा राम्ररी बुझ्नबाट वञ्चित पारिरहेको हुन्छ ।
सर्वसाधारणले आफूले खरिद गर्न लागेको बीमालेखको फाइदा,बेफाइदा, सुविधा र सीमितताको बारेमा स्पष्ट जानकारी प्राप्त गर्न सकेको अवस्थामा मात्र कुन बीमालेख आफ्नो लागि उपयुक्त वा अनुपयुक्त छ भन्ने सही छनौट र निर्णय गर्न सकिने अवस्था हुन्छ ।
बीमालेख सम्बन्धमा सचेतना बढाउन र बीमितलाई कुनै पनि किसिमको भ्रममा पार्ने वा झूठो आश्वासन दिएर बीमालेख बिक्रीमा रोक लगाउनको लागी बीमा समितिले जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ र समय समयमा सार्वजनिक सूचनामार्फत् नै सचेत गराइ रहेको छ ।
बीमा अभिकर्ता वा बीमा कम्पनीका कर्मचारीले बीमितलाई बीमांकको डब्बल भन्ने भ्रम छरेर बीमालेख बिक्री गर्ने प्रवृत्ति अझै रोकिएको छैन । बीमा समितिले यस्तो प्रवृत्ति नियन्त्रण गर्नको लागी बीमालेख सम्बन्धी कुनै पनि संचार सामाग्रीमा सम्बन्धित बीमकको पछिल्लो दुई तीन वर्षको बोनश दरको आधारमा संभावित भावि प्रतिफल गणना गरिएको तालिका प्रकाशन गर्न लगाउनु जरुरी छ । छिमेकी मुलुक भारतमा त्यहाँको नियामक निकायले यसबारे प्रावधान राखेको छ ।
न्यून आय क्षमता भएको तथा बीमा सम्बन्धमा अत्यन्त न्यून जनचेतना भएको हाम्रो मुलुकमा जीवन बीमालेख बिक्री गर्नु सहज कार्य अवश्य पनि होइन । यो चुनौतीपूर्ण व्यवसाय नै हो । यस्तो व्यवसायमा बीमा अभिकर्ताले जसरी पनि बीमालेख बिक्री गर्ने ध्याउन्नमा बीमितलाई नानाथरी आश्वासनहरु दिने र पुलिन्दा बाँध्ने कार्य गर्ने प्रवृत्ति आमरुपमा रहेको छ । तर आफूलाई अभिकर्ताले दिएको जानकारी सहि वा गलत छ भन्ने कुरा सम्बन्धित जीवन बीमा कम्पनीको प्रधान कार्यालयमा टेलिफोनमार्फत् सम्पर्क गरेर यकीन गर्नु अत्यन्तै जरुरी हुन्छ । यसले सही निर्णय लिन सघाउँछ ।
जीवन बीमाको विशेषता अन्य वित्तीय उपकरणहरुभन्दा फरक हुन्छ । यसको आधारभूत उद्देश्य भनेको बीमितको संभावित आर्थिक जोखिम बहन गर्ने र सँगसँगै केही रकम बचत पनि गर्ने ।
हाल संचालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले लगभग उस्तै उस्तै विशेषता भएका जीवन बीमालेखहरु आ–आफ्नो कम्पनीको नामबाट बिक्री गरिरहेका छन् । कुनै पनि बीमालेख खरिद गर्नु अघि भविष्यको आवश्यक्ता र आफ्नो आम्दानीको श्रोतको निरन्तरताबारे स्पष्ट हुनुपर्छ । बीमा अभिकर्तालाई भेट्नु अघि र भेटि सकेपछि आफूले खरिद गर्न लागेको बीमालेख सम्बन्धमा अन्य श्रोतबाट पनि जानकारी लिने र पुष्टी गर्ने कार्य गर्नुपर्छ ।
जीवन बीमालेख खरिद गर्नुपूर्व बीमांक रकम, बीमाशुल्क, बीमालेखको विशेषता, भुक्तानी प्राप्त गर्ने शर्तहरुबारे स्पष्ट जानकारी लिनुपर्छ । कुनै कुरा अभिकर्ताले मौखिकरुपमा भनेको छ तर बीमालेखमा उल्लेख छैन भने त्यो गलत हो भन्नेमा स्पष्ट हुनुपर्छ ।
सम्बन्धित बीमा कम्पनीको वेभसाइट, फोन नम्बर, मोबाइल नम्बर, फेसबुक पेजको मेसेन्जरलगायतबाट सम्पर्क गरेर आफूलाई बीमा अभिकर्ताले वा बीमा कम्पनीको स्थानीय कर्मचारी दिएको जानकारी सही वा गलत के हो भन्ने रुजु गर्न सकिन्छ । गलत जानकारी दिएको रहेछ भने कानूनी उपचार खोज्नको लागी बीमा समितिमा इमेलमार्फत् नै गुनासो समेत गर्न सकिन्छ ।