प्रकाश कुमार श्रेष्ठ । अभिकर्ता भन्नाले विशेषत जीवन बीमा अभिकर्तालाई जनाउँदछ । बीमा ऐन २०४९ को दफा २ (ठ) बमोजिम ‘‘बीमा अभिकर्ता भन्नाले बीमकको तलबी कर्मचारी नभई कमिशनको आधारमा बीमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ’’ भनी ब्याख्या गरेको छ ।
विश्व अभ्यासमा नै बीमा क्षेत्रमा बीमक (बीमा कम्पनी) र बीमित (बीमा किन्ने ब्यक्ति) बीच अभिकर्ताको मध्यस्थताको भूमिका अहंम रहेको हुन्छ । जुनै व्यवसायमा मध्यस्थकर्ताले राम्रो फाइदा लिए जस्तै अभिकर्ताले पनि बीमा व्यवसायमा राम्रो फाइदा लिन सक्दछ किन कि बीमक आफै बजारसम्म पुगेको हुदैन भने बीमित पनि आफै बीमा कम्पनीसम्म पुगेको हुदैन । बीमाको सम्पूर्ण बजारीकरणको जिम्मेवारी केवल अभिकर्ताले पाएको हुन्छ । जीवन बीमा व्यवसाय अभिकर्ताबिना कल्पना पनि गर्न सकिदैन । तसर्थ कम्पनीहरुले पनि अभिकर्ताका लागि प्राथमिकताका साथ खर्च गरिरहेका हुन्छन् ।
प्रायजसो पेशा, व्यवसायमा आफ्नो मात्र लाभको बारेमा सोचिन्छ भने अभिकर्ता एक यस्तो पेशा/व्यवसाय हो जहाँ कुनै एक बीमितको मात्र नभै पूरै परिवार, समाज तथा राष्ट्रको हितमा काम भएको हुन्छ । अर्थात यो पूण्यको काम पनि हो ।
बीमा व्यवसाय अभिकर्ताको लागि आम्दानीको महासागर हो, आफ्नो क्षमता अनुसार अभिकर्ताले जति पनि कमाइ गर्न सक्दछ । अभिकर्ता बन्नको लागि एक हजार रुपैयाँ तिरेर ३ दिनको तालिम आवश्यक पर्दछ जसको लागि नेपाली नागरिकता, कम्तिमा एस.ई.ई. वा सो सरहको योग्यता, पासपोर्ट साइजको फोटो, बैंक खाता नम्बर र प्यान नम्बर चाहिन्छ ।
अभिकर्ता पेशा नभै व्यवसायः
एक अध्ययनले बताए अनुसार “अबको सफल ब्यक्ति त्यो हुनेछ, जसको संजाल ठूलो हुनेछ” । अभिकर्ता पेशा एक व्यवसाय हो । यस व्यवसायमा संजाल निर्माण पनि गर्न सकिन्छ– सञ्जालयुक्त व्यवसाय, त्यो पनि बिना लगानी । तसर्थ अभिकर्ताले धेरै भन्दा धेरै जनसम्पर्क गर्नु आवश्यक छ । अर्थात आफ्नो व्यवसायिक संजाल निर्माण गर्न जान्नु पर्दछ । जसमा हरेक सदस्यले आपसी सहयोगद्धारा थप आम्दानी गर्न सक्दछ ।
नेपालमा जीवन बीमा वि.स. २०२९ सालबाट सुरु भएको हो, हाल यसको बजार उदयमान अवस्थामा रहेको छ । आर्थिक बर्ष २०७७/७८ सम्ममा जनसंख्याको जम्मा २५ प्रतिशत मात्र बजारहिस्सा ओगटेको तत्थ्याङ्क छ जसमा एकै ब्यक्तिको धेरै वटा बीमाहरु समावेश छन् अर्थात एकै ब्यक्तिको जीवन बीमा ब्यक्तिको क्षमताको आधारमा जति ओटा पनि थप्न सकिन्छ ।
सामान्यतः अभिकर्ताले कम्पनीहरुको बारेमा जानकारी लिनुका साथै तिनीहरुको प्रटक्ट/पोलिसीहरुको सहि जानकारी लिएको हुनुपर्दछ । साथै नियमित कार्यालय आवातजावत, तालिम–गोष्ठी, बीमितको खोजी, नियमित भेटघाट, प्रस्ताव, सम्झाई–बुझाई, पूनर्बीमा बारे जानकारी, अस्वीकार मापन तथा निराकरण, कागजात मिलान, बीमालेख हस्तान्तरण, दीर्घकालिन सेवा लगायत बजार विश्लेषण, प्रविधीको ज्ञान तथा प्रयोग, अवसरको खोजी, जानकारहरुको साथसहयोग आदि हुनु आवश्यक छ । तर पनि बीमा बजारमा अभिकर्ताको सम्बन्धहरु नै बढी बिक्री हुने गर्दछन् । तसर्थ सम्बन्ध निर्माणको लागि अभिकर्ताले दैनिक दशौं जनासँग सम्पर्क गर्नु आवश्यक छ ।
जीवन बीमा ‘पुस मार्केटिङ्ग’ हो । अभिकर्ताले आफ्ना सम्भावित ग्राहकहरुको तथ्याङ्क तयार गरी निरन्तर ताकेदा गर्नुपर्दछ । केही पटकको ताकेदा पछि पूनः ताकेदा गर्न छोड्नु नै ठूलो गल्ति हुनेछ । बिक्रेता अर्थात अभिकर्ताले के बुझ्न जरुरी छ भने ‘बिक्रीमा अन्तिम ताकेदापछि पनि पूनः प्रस्ताव गर्दा अवश्य सफलता मिल्नेछ किन कि कुनै पनि ब्यक्तिले एक दिन पक्कै जीवन बीमा गर्दछ, त्यो केहि दिनपछि या केहि महिनापछि या केहि बर्षपछि किन नहोस’ । तसर्थ प्रत्येक ग्राहकलाई कम्तिमा पनि दशौं पटक ताकेदा गर्नु आवश्यक छ ।
अभिकर्तालार्ई अवसरै अवसर
यो पेशा/व्यवसायमा शून्य लगानीमा चक्रिय कमाइ हुन्छ, चाहेको समयमा जहाँबाट पनि काम गर्न सकिन्छ । यसमा ‘काम एक कमाइ अनेक’ अर्थात आर्थिक रुपमा सातौं बाटाहरुबाट असिमित आम्दानी गर्न सकिन्छ जब कि अन्य पेशा तथा व्यवसायमा मात्र केहि सिमित बाटाहरु हुन्छन् । कम्पनीले बिभिन्न शीर्षकहरुमा ‘इन्सेटिभ’ भुक्तान गरिरहेको हुन्छ साथै बिना धितो ऋण सुविधा पनि दिने गर्दछ ।
अभिकर्तालाई गैर–आर्थिक रुपमा झनै धेरै फाइदाहरु छन् । जस्तो बिभिन्न व्यक्तित्वहरुसँग सम्पर्क बढ्दछ, ब्यक्तित्व बिकाश हुन्छ, बजार चेतनामा बृद्धि हुन्छ, कार्य क्षमता/शैलीमा बृद्धि हुन्छ, अन्य पेशा/व्यवसायप्रति दोहोरो टेवा पुग्दछ, राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्दछ, बुढेसकालसम्म सक्रिय रुपमा व्यवसाय गर्न सकिनेछ, सँगै साथीभाइ बनाउन सकिनेछ ।
बीमा बजार यस्तो बजार हो जहाँ बीमाका ग्राहकहरु सुषुप्त अवस्थामा प्रशस्त मात्रामा रहेका हुन्छन् । प्रायः बीमा लिई सकेका ब्यक्तिहरुले जीवन बीमा पूनः खरिद गर्दछन् भने बीमा नलिएका ब्यक्तिहरुले कुनै न कुनै दिन पक्कै खरिद गर्नेछन् । बीमा लिई सकेकाहरुले बजार मूल्य तथा आम्दानीका कारण प्रायजसो दोश्रो/तेश्रो बर्षपछि नयाँ बीमा पोलिसीहरु थप्दछन् भने नलिएकाहरुले बीमा बुझाउन सके पक्कै पनि सानो/ठूलो पोलिसी खरिद गर्नेछन् । यसको मतलब बजार लगभग पूरै बाँकी रहेको हुन्छ । कोरोनाको महामारीको बेलामा धेरैजसो व्यवसाय बन्द गर्नुपरेको थियो भने बीमा व्यवसाय झनै फस्टाएको थियो । जति नै ठूलो बीमा बिक्री गराउदा पनि अभिकर्तालाई कुनै प्रकारको आर्थिक भार नपर्ने, साथै रोजगार पनि दिलाउन सकिने यो पेशा उत्कृष्ट छ ।
चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अर्थात छ महिनासम्ममा अभिकर्ता कमिसन ७ अर्ब ८६ करोड रुपैया भुक्तानी भइसकेको छ । जहाँ कम्पनीहरुले बिभिन्न शीर्षकहरुमा पनि रकम भुक्तानी गर्ने हुदा एक आर्थिक बर्षमा अरबौं रकम बराबर अभिकर्तालाई बाँडिरहेका हुन्छन् ।
श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी जमलको शाखा प्रबन्धक हुन् ।