IME Life New

के अब बीमालेख कर्जाको ब्याजदर सस्तिएला ? 

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीबाट बीमालेखको धितोमा कर्जा सुविधा उपभोग गरिरहेका बीमितले ब्याजदरमा राहत पाउने भएका छन् । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले हालै जारी गरेको ‘जीवन बीमालेख निर्देशिका २०७८’ मा  बीमालेख कर्जामा बीमकले लिने ब्याजदर निर्धारण बारे व्यवस्था गरिएको छ।

निर्देशिकाको दफा १० को उपदफा ७ मा बीमालेख कर्जामा लिइने ब्याज दर वाणिज्य बैंकको प्रचलित ब्याजदर भन्दा बढी नहुने गरी लिनुपर्ने प्रावधान छ । निर्देशिकाले यसअघि ब्याज दर निर्धारणको लागि बीमा समितिबाट पूर्व स्वीकृति लिनुपर्ने प्रावधान खारेज गरेको छ । अब सम्बन्धित जीवन बीमकको संचालक समितिको स्वीकृतिबाटै ब्याज दर निर्धारण गर्न सक्ने व्यवस्था लागू गरिएको छ ।

Esewa
Crest

जीवन बीमालेखको धितोमा दिइने कर्जामा बीमकहरुले ९ देखि ११ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । हालै कोरोना महामारीको कारण आर्थिक गतिविधि ठप्प भएसँगै बैंक ब्याजदरमा गिरावट आएपनि बीमितले बीमालेख धितोमा साबिककै ब्याज दरमा ब्याज तिर्नु परेको थियो ।

नियामक निकायबाट जारी निर्देशिका बीमकहरुको लागि कानून सरह हुने भएकाले निर्देशिकाको पालना अनिवार्य छ । सामान्य अवस्थामा बीमालेख कर्जाको ब्याजदर वाणिज्य बैंकको ब्याजदर हाराहारीमा रहे पनि वाणिज्य बैंकहरुबीच ब्याज दर प्रतिस्पर्धा चुलिएको बेला वा समग्र बैंकिङ क्षेत्रकै ब्याज दर सस्तिएको बेला जीवन बीमा कम्पनीको बीमितले पनि लाभ लिन पाउनेछन् ।

बीमालेखको धितोमा कसरी लिने कर्जा?

कुनै पनि बीमालेखमा कति समयावधि पछि बीमालेखको समर्पण मूल्य प्राप्त हुन्छ भन्ने शर्त उल्लेख गरिएको हुन्छ । तपाईलाई पनि बीमालेखको धितोमा कर्जा चाहिएको छ भने तपाईको नाममा जारी भएको जीवन बीमालेखमा समर्पण मूल्यको अवधिबारे जानकारी लिन बीमालेखको दोश्रो पानामा उल्लेखित शर्तहरुको बुँदामा पढ्नुहोस् ।

बीमालेख निर्देशिकामा उल्लेख गरिएको व्यवस्था अनुसार निर्देशिका लागू भएको मिति पश्चातको मितिमा जारी भएको कुनै पनि बीमालेख (लघु र म्यादी बाहेक) को समर्पण मूल्य बीमालेख जारी भएको मितिदेखि ३ वर्ष पछि मात्र प्राप्त हुनेछ । साथै कम्तीमा ३ वर्षको बीमाशुल्क किस्ता पनि अनिवार्य रुपमा भुक्तानी गरेको हुनुपर्छ ।

यसअघि एकल बीमाशुल्क भुक्तानी गरिने बीमालेखमा १ वर्ष पुरा भएपछि र नियमित रुपमा भुक्तानी गरिने बीमालेखमा २ वर्ष पुरा भएको र दुई वर्षको बीमाशुल्क भुक्तानी गरेको अवस्थामा समर्पण मूल्य प्राप्त गर्न सकिने प्रावधान रहेको थियो ।

समर्पण मूल्य प्राप्त गर्न आवश्यक शर्त र समयावधि पुरा भएको अवस्थामा बीमालेखको धितोमा बीमितले जुनसुकै बेला पनि कर्जा प्राप्त गर्न सक्छन् । यस्तो कर्जा बीमकले एकदेखि दुई घण्टा भित्रै उपलब्ध गराउँदै आएका छन्।

बीमालेखको धितोमा कर्जा प्राप्त गर्न सम्बन्धित बीमितले बीमालेखको सक्कल कागजपत्र र नागरिकता प्रमाणपत्र लिएर आफूले जीवन बीमा गराएको जीवन बीमा कम्पनीको जुनसुकै शाखामा आवेदन दिन सक्ने सुविधा उपलब्ध छ । ‌केही बीमकले बीमकको वेभसाइटबाटै आवेदन दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएका छन् ।

समर्पण मूल्य गणना गर्ने विधि बीमा समितिले जीवन बीमालेख निर्देशिकामै उल्लेख गरेको छ । आफूले खरिद गरेको जीवन बीमालेखको धितोमा समर्पण मूल्यको ८० देखि ९० प्रतिशत सम्म रकम कर्जा लिन सकिन्छ।

बीमालेखको कर्जामा अर्द्ध वार्षिक रुपमा ब्याज गणना गरिने भएकोले जरिवानाबाट जोगिन ६-६ महिनामा ब्याज भुक्तानी गर्नुपर्छ । तर साँवा रकम चाहिँ बीमालेख अवधिभित्र आफूलाई उपयुक्त भएको समयमा जतिसुकै किस्ता रकम भुक्तानी गर्दै चुक्ता गर्न सकिने सुविधा छ । बीमालेख कर्जामा बैंकमा जस्तो साँवाको निश्चित रकम प्रत्येक महिनामा किस्ता ‌तिर्नुपर्ने बाध्यता हुँदैन । जीवन बीमकमध्ये नेपाल लाईफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्सको बीमालेख कर्जाको साँवा र ब्याज रकम ईसेवा वा फोन पे एप्स मार्फत् अनलाइनबाटै सिधै भुक्तानी गर्न सकिने सुविधा उपलब्ध छ ।

हाल बीमा कम्पनीहरुले ९ देखि ११ प्रतिशतसम्म व्याजदर लिइरहेका छन् । बाणिज्य बैंकहरुको औषतमा आधार व्याजदर ६.८३ प्रतिशत छ । बैंकहरुले आधार व्याजदरमा प्रिमियम जोडेर व्याज लिने गरेका छन् । यदि बैंकहरुले बीमालेख धितोमा राखेर कर्जा दिने हो भने उनिहरुको औषत व्याजदर ८/९ प्रतिशत हाराहारी हुने देखिन्छ । निर्देशिका अनुसार बीमा कम्पनीहरुले बाणिज्य बैंकहरुले प्रवाह गर्ने व्याजदर भन्दा माथि हुन नहुने भन्दै बेन्च मार्क बनाइदिएको हो । यस्तो वेन्च मार्कले बैंकहरुले निर्धारण गरेकै व्याजदर तय गर्नु पर्छ भनेको भने होइन । बीमितलाई आकर्षित गर्न बीमा कम्पनीले बीमालेख धितोमा राखेर कर्जा प्रवाह गरेका हुन् । अर्को तर बीमा कम्पनीहरुले आफ्नो अधिकाम्स स्रोत बैंकहरुमै जम्मा गर्ने भएकाले बैंकमा पैसा जम्मा गर्नु भन्दा बीमितलाई कर्जा प्रवाह गर्दा आम्दानी धेरै हुन्छ ।

हाल बाणिज्य बैंकहरुको औसत ब्याजदर ७.६ प्रतिशत हाराहारीमा छ । यदि कम्पनीहरुले ८ प्रतिशतमै कर्जा प्रवाह गरे भने पनि उनिहरुलाई राम्रै आम्दानी हुन सक्छ । कम्पनीले बीमालेख धितोमा राखेर कर्जा दिने बाहेक अन्य खुद्रा कर्जा भने प्रवाह गर्न पाउदैन । बीमा कम्पनीले बैंकहरुमा व्याजदर घटेको समयमा बीमित सँग सोहि अनुसार व्याजदर दिनु पर्ने हुन्छ । त्यस्तै बैंकहरुमा व्याजदर बढेको समयमा बीमित सँग पनि सोहि अनुसार व्याज लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS