IME Life New

जीवन बीमा कम्पनीको ८२ प्रतिशत लगानी मुद्दती निक्षेपमा, पुर्वाधार क्षेत्रमा तीन अर्ब ५५ करोड मात्रै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले लगानीको दायरा फराकिलो बनाए पनि जीवन बीमा कम्पनीहरुको ८२ दशमलब १७ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै सिमित रहेको पाइएको छ।  सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन खर्ब २५ अर्ब रुपैयाँ लगानी गरेका छन्। यस मध्ये दुई खर्ब ६७ अर्ब रुपैयाँ बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गरेका छन्।

कम्पनीहरुले आफ्नो अधिकांश लगानी बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा मात्रै सिमित गरेको भन्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले गएको साता सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै तोकिएको सिमाभित्र रहेर अनिवार्य कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिएका थिए। तर यस्तो क्षेत्रमा बीमा कम्पनीको लगानी जम्मा तीन अर्ब ५५ करोड रुपैयाँ मात्रै छ। जवकी यस्तो क्षेत्रमा बीमा कम्पनीहरुले टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउछन्।

Esewa
Crest

अध्यक्ष सिलवालले कम्पनीहरुलाई शेयर पुँजी मार्फत पुर्वाधार क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन्। कम्पनीहरुले ऋण लगानी गर्न पाउदैनन् त्यसैले सोझेदारीमा ठुला ठुला पूर्वाधार क्षेत्रमा लगानी गर्नु पर्ने उनको तर्क छ।

बीमा समितिले लगानी निर्देशिका २०७५ मा कम्पनीहरुलाई घरजग्गामा लगानी गर्ने व्यवस्था गरिदिएको थियो। तर कम्पनीहरुले घर जग्गामा जम्मा ४२ करोड २ लाख रुपैयाँ लगानी गरेका छन्। बीमा कम्पनीहरुले यस्तो क्षेत्रमा टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म लगानी गर्न पाउछन्।

बीमा कम्पनीहरुको मुद्दती निक्षेप बाहेक ठुलो रकम दोस्रो बजारमा सूचिकृत शेयरमा लगानी रहेको छ। कम्पनीहरुले दोस्रो बजारमा मात्रै १८ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेका छन्। बीमा कम्पनीहरु पछिल्लो समय दोस्रो बजारको ठुला खेलाडिको रुपमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाको व्याजदर तलमाथि हुनुमा बीमा कम्पनीको ठुलो हात रहेकोमा शेयर बजारको उतार चढावमा पनि बीमा कम्पनीको संलग्नता बढ्न थालेको हो। १८ अर्बको पोर्टफेलियो भएमा जीवन बीमा कम्पनीले दैनिक अर्बौ रुपैयाँको कारोबार गर्ने गरेका छन्।

बीमा कम्पनीहरुको सबैभन्दा धेरै मुद्दती निक्षेप बाणिज्य बैंकहरुमा छ। यस्तो रकम दोस्रो त्रैमासिक अवधिमा मात्रै २ खर्ब ३७ अर्ब रुपैयाँ छ। त्यस्तै विकास बैंकको मुद्दती निक्षेपमा २७ अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने फाइनान्सहरुमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी छ।

जीवन बीमा कम्पनीहरुले सर्वसाधारणको बचत तथा जीवन जोखिमको दायित्व बहन गर्ने हुँदा सुरक्षित स्थानमा मात्रै लगानी गर्नुपर्ने व्यवस्था छ। त्यसै कारणले सरकारी ऋणपत्र तथा ‘क’ बर्गका बैंकहरुको मुद्दती निक्षेपमा बढि लगानी गरेका हुन्।

जोखिमयुक्त क्षेत्रमा लगानी गर्दा सर्वसाधारणको बचत तथा कुनै कारणवश ठूलो जोखिम आईपरेको खण्डमा तत्काल लगानी फिर्ता गर्न समस्या पर्ने हुँदा जीवन बीमा कम्पनीहरुको पहिलो रोजाइ नाम चलेका बाणिज्य बैंकहरु पर्छन्।

समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २९ अर्ब ४० करोड रुपैयाँ लगानी छ।

कुन कम्पनीको कति लगानी 

दोस्रो त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफले सबैभन्दा धेरै लगानी गरेको छ। कम्पनीले यस त्रैमासिक अवधिसम्ममा ८३ अर्ब २३ लाख रुपैयाँ बैंकको मुद्धती निक्षेप र अन्य क्षेत्रमा लगानी गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस अवधिसम्ममा ५९ अर्ब ६८ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले ३५ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन्।

राष्ट्रिय बीमा संस्थानले ३० अर्ब १५ करोड रुपैयाँ, मेट लाइफले २१ अर्ब ८६ करोड रुपैयाँ, एशियन लाइफले २१ अर्ब ६० करोड रुपैयाँ, प्राइम लाइफले १४ अर्ब ७७ करोड रुपैयाँ, सूर्या लाइफले १० अर्ब १९ करोड रुपैयाँ, गुराँस लाइफले १० अर्ब ६ करोड रुपैयाँ, यूनियन लाइफले ६ अर्ब ९१ करोड रुपैयाँ र सिटिजन लाइफले ४ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् ।

त्यस्तै, रिलायबल (नेपाल) लाइफले ४ अर्ब ५० करोड रुपैयाँ, ज्योती लाइफले ४ अर्ब ९ करोड रुपैयाँ, आइएमई लाइफले ३ अर्ब ५७ करोड रुपैयाँ, रिलायन्स लाइफले ३ अर्ब ५३ करोड रुपैयाँ, प्रभु लाइफले ३ अर्ब १७ करोड रुपैयाँ, सन नेपाल लाइफले ३ अर्ब ११ करोड रुपैयाँ, सानिमा लाइफले २ अर्ब ६९ करोड रुपैयाँ र महालक्ष्मी लाइफले २ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS