काठमाडौं। तीन महिनाकै अवधिमा २ खर्बको अधिक तरलता ७३ अर्ब रुपैयाँमा सिमित भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर महिनामा बजारमा २ खर्ब रुपैयाँको अधिक तरलता थियो तर आजका दिनमा यो ७३ अर्बमा खुम्चिएको नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले जानकारी दिए।
बजारमा अधिक तरलता भएको भन्दै राष्ट्र बैंकले बजारबाट ५१ अर्ब रुपैयाँ खिचेर राखेको छ। गएका महिनामा बैंकहरुले बजारमा अधिक तरलता भएको भन्दै अस्वभाविक रुपमा निक्षेपको व्याजदर घटाउन थाले पछि राष्ट्र बैंकले विभिन्न उपकरण मार्फत तरलता खिचेको हो।
बैंकहरुले कोभिड प्रभावित ऋणीहरुको लागि भन्दै ८० अर्ब रुपैयाँको पुनरकर्जा लगिसकेको भट्टले जानकारी दिए। तत्कालको अवस्थामा तरलताको दवाव भएको भन्न नमिले पनि विस्तारै बजारमा तरलता कम भैरहेको अवस्था रहेको राष्ट्र बैंकका भट्टले बताए।
कोभिडको प्रभाव विस्तारै न्युनिकरण हुँदै गैरहेको राष्ट्र बैंकले जनाएको छ। मानिसहरु कोभिड १९ को महामारीबाट माथि उठ्दै लगानी गर्न थालेका हुन्। कोभिड १९ का कारण बन्द रहेका कतिपय परियोजनाले संझौता बमोजिमको कर्जा लैजान थालेकाले पनि अधिक तरलता खुम्चिन थालेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए।
अर्को तर्फ व्यापारीहरुले सामान आयातका लागि एलसी खोल्न थालेका छन्। खाद्यान्नदेखि लिएर उद्योग कलकारखानाका लागि आवस्यक पर्ने कच्चा पदार्थको आयात बढ्न थालेकाले पनि कर्जा गैरहेको हो। छड उद्योगहरुले कच्चा पदार्थको रुपमा प्लेटको आयात बढाउन थालेका हुन्। आयोजनाले काम सुरु गर्ने भएको भन्दै छड सिमेन्ट लगायतका निर्माणजन्य उद्योगले उत्पादन सुरु गरेका हुन्। आर्थिक वर्षको पछिल्लो चार पाच महिनामा विकास खर्च बढ्ने भएकाले पनि उद्योगहरुले कर्जा लैजान थालेको शेरचनले जानकारी दिए।
कतिपय आयोजनाले निर्माण कार्य नै ठप्प पारेर बसेका थिए। कोभिडको भ्याक्सिन आए सँगै कम्पनीले कामदार झिकाउन थालेका छन्। काम सुरु हुँदा निर्माणाधिन आयोजनाले विस्तारै पैसा लैजान थालेका हुन्। कोभिड पछि सबै क्षेत्र विस्तारै चलायमान हुन थालेकाले कर्जाको माग बढेको प्रभु बैंकका शेरचनको विश्लेषण छ।
बजारमा अधिक तरलता सिर्जना हुँदा बैंकहरुले पछिल्लो समय प्रत्यक्ष अप्रत्यक्ष रुपमा शेयर बजारमा कर्जा पार्किङ गरिरहेका छन्। प्रत्यक्ष रुपमा १० अर्ब हाराहारीको कर्जा शेयर बजारमा गए पनि उद्योगी व्यापारी लगायतले बैंकमा निक्षेपको रुपमा रहेको पैसा शेयरमा लगानी गरिरहेका छन्। केहि हदसम्म शेयर बजारमा कर्जा जादा पनि अधिक तरलता खुम्चिएको हो।
पछिल्लो केहि समयदेखि खुम्चिदै गैरहेको अधिक तरलताबाट तत्कालै तरलता टाइट हुने अवस्था भने नरहेको शेरचन बताउछन्। बैंकहरुले आक्रमक रुपमा जसरी कर्जा लगानी गरिरहेका छन् यहि हिसावले लगानी भैरहने हो भने पुनः तरलता अभावको अवस्था नहोला भन्न नसकिने राष्ट्र बैंकका भट्ट बताउछन्। उनले ‘अहिले नै बजारमा तरलता अभाव भयो भन्न सक्ने अवस्था नरहेपनि यहि हिसावले कर्जा जाने हो भने निकट भविष्यमै तरलताको प्रयाप्तता कम हुँदै जान सक्छ।‘
अहिलेकै हिसावले कर्जा गैरहने हो भने पनि यस आर्थिक वर्षमै भने तरलता अभाव हुने अवस्था नरहेको शेरचनको तर्क छ। सरकारले फागुन, चैत, बैंशाख र जेठमा खर्च बढाउनु पर्ने बाध्यता भएकाले अहिलेको मागलाई धान्ने उनले बताए।
अहिलेको अवस्थाले यस आर्थिक वर्षभरी भने खासै असर नपर्ने शेरचनको विश्लेषण छ। सरकारले पनि खर्च बढाइरहेको छ। फागुन चैत बैशाख र जेठमा सरकारले पनि राम्रो खर्च गर्ने भएकाले अहिले जसरी तरलता टाइट हुने अवस्थालाई व्यवस्थापन गर्न सक्ने शेरचन बताउछन्। सरकारले विकास खर्च गर्दा बजारमा पैसा आउने भएकाले बैंकहरुमा तरलता बढ्छ। असारसम्म सरकारी खर्चले धान्ने भएकोले बाँकी साउन भदौमा खासै नयाँ कर्जा जादैन। तर असोज, कात्तिक, मंसिरदेखी भने गएका दुई वर्षमा जस्तै तरलता अभावको अवस्था दोहरिने अनुमान गरिएको छ।