माधव बानियाँ
कोभिड १९ को प्रभावले विश्व नै आक्रान्त भइरहेको बेला नेपाल जस्तो गरिबी र सानो अर्थतन्त्र भएको देश जहाँ आत्मनिर्भरता भन्दा बढी परनिर्भरता छ । त्यसकारण मुलुकमा आम मानिसको जनजीवन र आर्थिक स्रोत कमजोर हुदैं गएको छ । उत्पादन मुलक क्षेत्र, उद्योग धन्दा, ब्यापार ब्यवसाय पहिले कै अवस्थामा फर्कन कम्तीमा पनि दुई वर्ष लाग्ने विश्व बैंकको आंकलन रहेको देखिन्छ । देशमा रहेको पूंजीको परिचालन र बिकास निमार्ण हुन नसक्दा बित्तिय क्षेत्रमा रहेको पूंजीको तरलता पर्याप्त रहेको राष्ट्र बैंकको बिवरणमा देखिन्छ । तरपनि २०७६ चैत्र ११ गतेको बन्दाबन्दी पछि खुलेको नेपालको एकमात्र शेयर बजार दिनानुदिन बढ्दै गइरहेको छ र आगामी कम्तीमा छ महिना सम्म शेयर बजारले उकालो चढ्ने आंकलन शेयर बिश्लेषणहरुको रहेको देखिन्छ । देशको सबै क्षेत्र सुस्त भइरहेको यो अवस्थामा शेयर बजार मात्र भएपनि प्रगतिन्मुख हुनु अत्यन्त सकारात्मक रहेको छ ।
सबैतिर र क्षेत्र आर्थिक मन्दीको शिकार भइरहेको अवस्थामा बढ्दो शेयर बजार देशको अर्थतन्त्रको सकारात्मक पक्ष हो । शेयर बजार भनेको एउटा यस्तो बजार हो जहाँ लगानी गर्दा फायदा हुन्छ भन्ने आम जन मानिसको सतही भएपनि बुझाइको कारण र नेपाल जस्तो सानो आकारमा रहेको नेप्से सुचाङ्ककको प्रगति भविष्यमा पक्कै पनि बढ्ने छ भन्ने धारणाको कारण शेयर बजारमा हालको अवस्थामा पनि करिब १८ लाखको संख्यामा शेयर लगानी कर्ता रहेको देखिन्छ । आम मानिस बिशेषगरी केही शिक्षित वा चेतनशील, सहरियाबासी अधिकांश मानिस प्राथमिक वा दोस्रो बजारमा शेयरमा संलग्न भइरहेको बर्तमान अवस्थामा शेयरमा लगानी सुनको अण्डा की मरुभुमिको बालुवा भन्ने विषयलाई केही हदसम्म भएपनि यो लेखमा प्रकाश पार्न जमर्को गरिएको छ ।
नेपालको शेयर बजारको इतिहास वा यसको बिकास क्रमलाई नियाल्दा बि.सं. १९९४ सालमा स्थापित नेपाल बैंक र बिराटनगर जुटमिललाई आधार मानिन्छ । यी कम्पनीहरुले सर्ब साधारणहरुमा आप्mनो शेयर आफैंले जारि गरेका थिए र नेपालमा शेयरको कारोबार सुरु भएको थियो । तत् पश्चात बि.सं २०३३ सालमा धितोपत्र खरिदबिक्रि केन्द्रको नामबाट सेक्युरिटी एक्सचेन्ज सेन्टरको स्थापना भयो । यसप्रकार नेपालमा पूंजी बजारको सुरुवात भयो । बि.सं २०४० सालमा धितोपत्र एन ल्याई यसको भुमिकालाई प्रभावबारी बनाउने प्रयास भयो । उक्त एन अनुसार बि.सं. २०५० सालमा नेपाल धितोपत्र बोर्डको स्थापना गरी धितोपत्र खरिदबिक्रि केन्द्रलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा रुपान्तरण गरियो ।
समयको क्रमसगैं नेपालले अवलम्वन गरेको अर्थिक उदारीकरणको नीतिले पूंजी बजारलाई गतिशिल बनाउन र दोस्रो बजारमा धितोपत्र कारोबारलाई अझ सहज तथा प्रबिधी मैत्री बनाउन बिभिन्न ब्रोकर कम्पनीलाई स्वीकृती प्रदान गरी सो मार्फत शेयर कारोबारलाई ब्यवस्थित बनाइयो । हाल ५० वटा ब्रोकर कम्पनी मार्फत नेप्सेमा दोस्रो बजारमा कार्य भइरहेको छ । करिब ९० प्रतिशत साना लगानी कर्ताको सहभागिता रहेको नेपाली शेयर बजारमा बि.सं. २०६४ सालमा अटोमेसन प्रणाली मार्फत सुरु गरेकोमा बि.सं. २०६७ मा सीडियस एण्ड ल्किएरिङ्ग हाउसको स्थापना गरी बि.सं. २०७२ सालबाट शेयरलाई अभौतिकरण (डिम्याट) गरी शेयर कारोबारमा निकै सहजता बनाई नेपालको शेयर बजारमा कारोबारलाई थप सुनिस्चितता र सुरक्षितता पनि प्रदान गरेको पाइन्छ ।
पछिल्लो समय नेपाली पूंजीबजार आधुनिकता तर्फ अगाडी बढ्दै गएको देखिन्छ । जोडजोडले कराएर शेयर खरिद बिक्रि गर्ने ब्यवस्था र कागजी प्रक्रियाबाट सूचना प्रबिधि प्रक्रिया शेयर खरिद बिक्रिको लागि चेक उपलब्ध गराउनु पर्ने प्रक्रियाबाट अनलाइन भुक्तानी प्रक्रिया, अनलाइन शेयर खरिद बिक्रि गर्ने ब्यवस्था आदि प्रक्रिया पक्कै पनि नेपाली शेयर बजारको क्षेत्रमा उल्लेखनीय कार्यहरु हुन । जसले गर्दा जुनसुकै क्षेत्रका सचेत नेपाली नागरिक शेयर खरिद बिक्रिमा सहजै सहभागी हुन पाउने ब्यवस्था गरिएको छ । यद्यपी प्राथमिक शेयर बजार ९आईपिओ० देशब्यापी बिस्तार भएपनि पूंजी बजारको दोस्रो बजार र कारोबार नेप्सेबाट इजाजत प्राप्त ५० ओटा ब्रोकर कम्पनीको मुठ्ठीमा रहेको देखिन्छ । ब्रोकर कम्पनीले बजारमा निकै चलखेल गर्ने गरेको र यसतर्फ नियमक निकाय धितोपत्र बोर्ड साक्षी बस्ने गरेको आम साना लगानी कर्ताको गुनासो रहेको देखिन्छ । एक प्रकारले भन्ने हो भने नेपाली पूंजी बजारमा ब्रोकर कम्पनी र केही ठूला लगानी कर्ताको मिलोमतोमा सिण्डीकेट कायम भएको छ ।
यसैगरी विश्व शेयर बजार वा स्टक मार्केटको इतिहास वा बिकास क्रमलाई नियाल्दा १६ औं शताब्दीमा नेदरल्याण्डमा एक्स ड्रईम स्टक लिमिटेडको रुपमा पब्लीक कम्पनी स्थापना भई त्यसपछि सन १८०१ मा लण्डन स्टक एक्सचेन्जको स्थापना भयो । सन १८१७ मा न्युयोर्कमा न्युयोर्क स्टक एक्सचेन्जको स्थापना भई पूंजी बजारको कारोबार भएको पाइन्छ । औधोगिक स्थापना र बित्तिय कारोबारको बढ्दो क्रमसगैं चीन, भारत लगायत युरोप र एसियाका अन्य मुलुकमा समेत स्टक एक्सचेन्जको स्थापना र कारोबार हुन थालेको पाइन्छ । हालका वर्षसम्म आइपुग्दा ती देशहरुमा शेयर बजारको सहभागिता बिना देशको आर्थिक सुचाङ्गकको गणना अपूरो हुन जान्छ ।
कुनै पनि कम्पनीको पूंजी वा स्वामित्वलाई धेरै एकाइमा बिभाजन गरी लगानी कर्ताहरुलाई बिक्रि गरिन्छ भने त्यस कम्पनीको पूंजीको बिभाजनको एकाइको दस्तावेजलाई शेयर भनिन्छ । ब्यक्ति वा संस्थाले कम्पनी वा ब्यवसायमा गरेको लगानीको अनुपातमा घाटा वा नाफा दुबैको हिस्सेदार हुन मन्जुर भई गरिएको लगानीको अंश शेयर हो । कम्पनीको लागि पूंजी जम्मा गर्न शेयर जारी गरिन्छ । कुनै पनि कम्पनीले गरेको ब्यवसायबाट नाफा वा नोक्सान हुन्छ र त्यस्ता कार्यमा शेयर खरिदकर्ता सहभागी हुन्छन । शेयर भनेको स्वामित्व हो । कुनैपनि कम्पनी बिभिन्न मान्छेहरु मिलेर खोलेमा त्यो शेयर वा आफ्नो हिस्सा हुन्छ । यसरी कायम भएको शेयर वा स्वामित्व खरिद बिक्रि गर्ने काम शेयर बजार हो । नेपालमा शेयर बजारको खरिद बिक्रिलाई आधिकारिकता दिने काम नेपाल स्टक एक्सचेन्जले गर्दछ । जसलाई छोटकरीमा नेप्से भनिन्छ । शेयर बजारमा पब्लीक लिमिटड कम्पनीको मात्र शेयर किनबेच हुन्छ । कुनै पनि निजी कम्पनीको शेयर किनबेच शेयर बजारमा नभई आपसी सहमतिमा कानुन अनुसार गर्ने गरिन्छ ।
शेयर बजारमा करिब १८ लाख भन्दा बढी शेयर धनीको संख्या छ र ९०% भन्दा बढी साना लगानी कर्ताहरु रहेका छन । कम्पनीको शेयर दुई प्रकारको संस्थापक शेयर वा अग्रधिकार शेयर वा साधारण शेयर रहेको हुन्छ । नेपाली शेयर बजारमा अधिकांश शेयर लगानी कर्ता वा साना शेयर लगानी कर्ताको पहिलो रोजाई आईपिओ (प्राथमिक) शेयर रहेको छ । शेयरको प्राथमिक निस्कासनमा लागु भएको आस्वा प्रणाली हरेकको हातहातमा पुगेको स्मार्ट फोन र ग्रामीण तह सम्म बिस्तार भएको इन्टरनेटको पहुँचले गर्दा उपयोगमा निकै सजिलो भएको छ । इन्टरनेटबाटै आप्mनो बैंक खातामा रहेको पैसाले शेयर किन्न सक्ने प्रबिधिको उपयोग गर्न पाएकोले समय र श्रमको बचतको कारणले गर्दा लगानी कर्ताहरुको संख्या बृद्धिमा यसले सहयोग गरेको छ ।
शेयर बजार प्रति मानिसको चासो दिन प्रतिनि बढ्दै गएको पाइन्छ । नेपाली शेयर बजारको इतिहासलाई नियाल्ने हो भने पछिल्लो समय खास गरी २०४६ सालको राजनैतिक परिवर्तन पश्चात यसले द्रुत रुपमा बिकास गरेको पाइन्छ । विश्व शेयर बजारको कुरा गर्ने हो भने पनि यति ठूलो रुपमा शेयर बजार अगाडी बढ्छ भन्ने कसैले अनुमान लगाएको थिएन । ब्यक्तिको धन सम्पत्ति नेपाल जस्तो मुलुकमा जग्गा जमिन वा उद्योग आदिको रुपमा मूल्याङ्कन हुने भएतापनि बिकसित मुलुकमा बिभिन्न कम्पनीमा गरेको लगानीलाई मुख्य आधार मान्ने गरिन्छ । विश्व शेयर बजारका वादशाह मानिने वार्रन बफेट ११ वर्षको उमेरमा नै शेयर बजारमा प्रवेश गरेका थिए । बिकसित मुलुकमा जस्तो शेयर बजार नेपालमा अझैं परिपक्व हुन सकेको छैन । शेयर बजारमा विश्वशनियता नै नेपालको समस्या रहेको देखिन्छ ।
कम्पनीहरुको भित्री सूचनाको गलत तरिकाले प्रयोग हुने शेयर खेलाडीहरु सञ्चार माध्यमलाई प्रयोग गरि बनावटी समाचार निकाल्ने, शेयर बजारलाई प्रभावित पार्ने, आम बिशेष गरी साना शेयर कर्ता त्यस्तै प्रकारको हल्लाबाट प्रभावित हुने र शेयर लगानी कर्ता संघको नाममा खुलेका वगे्रल्ती संस्था टाठा बाठा ब्यक्तिहरु आप्mनो लगानी संगठनको प्रयोग गरी बिभिन्न कम्पनीमा साँठगाँठ गरी शेयरमा अदृष्य चलखेल गर्ने यस्तै गरी शेयर बजारको बिभिन्न नविनता प्रबिधिको प्रयोग गरी शेयर किनबेच अपारदर्शी रुपमा चलाउने र त्यसमा नियमक निकायले प्रत्यक्ष संलग्नता वा लाचारीपन ब्यक्त गर्ने आदि कारणले गर्दा नेपाली शेयर बजार केही सिमित ब्यक्ति शेयर दलालको मुठ्ठीमा संचालन भएको देखिन्छ । शेयर बजारमा लगानी कर्ता आपैंm संलग्न हुने ब्यवस्था सहजीकरण नहुनाले प्रबिधि मैत्री बनेको देखिदैंन ।
पछिल्लो समय मर्जन र प्राप्तीको हल्ला चलाएर शेयरमा चलखेल गर्न क्रम बढेको पाइन्छ । आधिकारीक रुपमा केही नआउने तर अफवा फैलाएर शेयर मूल्य बढाउने काम भईरहेको नेप्सेको भनाई छ । यसतर्फ सर्वसाधारण लगानी कर्ता सचेत हुन जरुरी छ । ब्रोकर कम्पनीले बजार बढाउन चाहे बढ्ने र घटाउन चाहे घट्ने जुन प्रकारको सिण्डीकेट अहिले बजारमा ब्याप्त छ । यसलाई तोडेर आम नेपाली नागरिकको सहज पहुँचमा शेयर बजार पु्याउन बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुका साथै पूंजी बजार अनुकुल आर्थिक नीति निमार्ण गरि शेयर बजारमा देखिएको अत्याधिक शेयर कारोबार गर्न अनलाइन ट्रेडिङ्गलाई अझ सहज र प्रबिधि मैत्री बनाउनु आजको आवश्यकता हो ।
लगानीकर्ता सानो होस वा ठूलो सबै महत्वपूर्ण छन । यसर्थ सम्बन्धित निकायले यसतर्फ चासो दिनु पर्दछ । सबै उमेर र तप्काका मानिसहरुको शेयर बजारमा महत्व रहेको हुन्छ । किनभने प्रबिधिको पहुँचको कारणले गर्दा बृद्धबृद्धाले समेत घरबाटै शेयर कारोबार गर्न सक्छन । साना लगानी कर्ताहरुको एउटै गुनासो सुनिन्छ । धेरैजसो ब्रोकरहरुले शेयर लेनदेन गर्दा तथा पैसा लेनदेन गर्दा ठूला लगानी कर्ताहरुको समयमै किनबेच गरिदिन्छन भने साना लगानी कर्ताहरुलाई महिनौ सम्म झुलाउँछन । केही हद सम्म यो सत्य मात्र होइन ध्रूव सत्य नै हो ।