काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढी प्रभावितलाई सहज ढंगले बीमा रकम भुक्तानी जीवन बीमक र लघु जीवन बीमकलाई निर्देशन दिएको छ।
प्राधिकरणले आज सबै जीवन बीमक र लघु जीवन बीमकका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। परिपत्रमा बीमा रकम भुक्तानीमा सरलता हुने व्यवस्था गर्न ८ बुँदे निर्देशन दिइएको छ।
गत भदौ १० गते ल्हेन्दे–खोला–भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा आएको भीषण बाढीबाट प्रभावित बीमितहरुमा हुन गएको विपदजन्य परिस्थितिलाई मध्यनजर गरी बीमित तथा हकवालाको हितका लागि उक्त कारणबाट जीवन बीमाअन्तर्गत मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानीमा पेस गर्नुपर्ने प्रमाण, कागजात तथा प्रक्रियामा सरलीकृत व्यवस्था लागू गर्न प्राधिकरणले निर्देशन दिएको छ।
यस्ता छन् निर्देशन
- दाबीसम्बन्धी निवेदनमा खुलाउनुपर्ने विववरणः बीमितको नाम, मृत्यु भएको मिति, मृत्यको कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको नाता।
- निवेदनमा संलग्न रहनुपर्ने कागजातः बीमित र दाबीकर्ताबीचको नाता प्रमाण, दाबीकर्ताको परिचय यकिन हुने गरी सरकारी निकायबाट जारी परिचयपत्र (नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारीचालक प्रमाणपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा), बीमालेख वा सो नष्ट भएको भए बीमकमा रहेको अभिलेखलाई आधार लिन सकिने ।
- उक्त घटनाबाट मृत्यु वा बेपत्ता भएको सम्बन्धमा प्रमाणित गर्ने अधिकार प्राप्त निकाय वा अधिकारीबाट जारी गरिएको बाढी÷विपदमा परी मृत्यु भएको व्यहोरा खुलाइएको प्रमाणित विवरण÷सिफारिस पत्र वा मृत्युको न्यायिक घोषणा।
- सक्कल बीमालेख उपलब्ध हुन नसकेको अवस्थामा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपि बीमालेखलाई आधार मान्न सकिने।
- सम्बन्धित बीमितबाट बीमालेखको प्रतिलिपि माग भइआएमा निःशुल्क प्रतिलिपि जारी गरिदिने।
- बीमा कम्पनीहरुबाट बीमासम्बन्धी कागजात (पोलिसी डकेट) नष्ट भएको भएमा कागजात विवरण प्राप्त गरी अद्यावधिक गरी राख्न सम्बन्धित बीमित तथा अभिकर्ताले बीमकलाई सहयोग गरिदिने।
- उक्त कारणबाट बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्था आएमा ६ महिनासम्मका लागि ब्याज नलाग्ने गरी मोहलत अवधि थप गरिदिने।
- बेपत्ता बीमितको हकमा सम्बन्धित हकवालाबाट मृत्यु दाबी भुक्तानी लिँदा ‘भविष्यमा बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानुनबमोजिम कारवाही भएमा मञ्जुर रहेको स्वःघोषणा÷प्रतिवद्धता’ पत्र लिई दाबी भुक्तानी गर्ने।












