काठमाण्डौ । हिमालयन पावर पार्टनरले ४ लाख ६८ हजार बढी कित्ता अवितरित हकप्रद शेयर आज जेठ २७ गतेदेखि बिक्रीमा राखेको छ।
कम्पनीले लिलामी प्रक्रियामार्फत अवितरित ४ लाख ६८ हजार ७४० कित्ता हकप्रद शेयर बिक्रीमा राखेको हो। यो कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म १ः०.५ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको शेयर हो।
यो शेयरमा खरिदका लागि जोकोही व्यक्ति, संस्था र कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद निवेदन दिन सकिनेछ।
लिलामीमा राखिएको शेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
इच्छुक लगानीकर्ताले काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र आउँदो असार ४ गते बैंकिङ समयसम्म बुझाउन सकिनेछ।












