IME Life New
GBIME

३५ बीमा कम्पनीका लागि ३ संगठन, २१ जनाको कार्यसमिति !

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजी वृद्धिको दबाब र बहानामा बीमा कम्पनीहरुको संख्या खुम्चिएर २८ मा सीमित भएको छ। पुराना कम्पनी खुम्चिएपछि लघु बीमाको विस्तारका लागि ल्याइएका ७ वटा लघु बीमकसमेत अहिले कुल ३५ वटा इजाजत प्राप्त बीमा कम्पनी अस्तित्वमा छन्। यसबाहेक थप दुईवटा पुनर्बीमा कम्पनी समेत छन्।

पुनर्बीमा कम्पनीबाहेक जीवन बीमकको आफ्नै, निर्जीवन बीमकको आफ्नै र लघु बीमकको पनि आफ्नो बेग्लै प्रतिनिधिमूलक संघ छन्। यी तीनवटै प्रकृतिका बीमकको तीनवटै संघको खास उद्देश्य भनेको बीमकको स्वार्थ संरक्षण गर्ने र नीतिगत सुधार वा परिवर्तन वा सहजीकरणका लागि नीतिगत तहमा दबाब सिर्जना गर्ने रहेको छ। समान उद्देश्य र एउटै नियामकबाट नियमन हुने संस्थाहरु भए पनि संगठन भने बेग्लाबेग्लै, कार्य समिति बेग्लाबेग्लै र गतिविधि बेग्लाबेग्लै रहेको छ।

Crest

जम्माजम्मी ३५ वटा संस्थाका तीनवटा बेग्लाबेग्लै संगठन अस्तित्वमा रहँदा बीमकका तर्फबाट प्रतिनिधित्व हुनुपर्ने निकायमा बलियो रुपमा प्रतिनिधित्व हुन सकेको छैन। निर्जीवन बीमक समेटिँदा जीवन र लघु बीमक छुट्छन्, जीवन बीमक समेटिँदा निर्जीवन र लघु बीमक छुट्छन् र लघु बीमक समेटिँदा बाँकी दुवै बीमकको प्रतिनिधित्व हराइरहेको हुन्छ।

लघु बीमक संघको सदस्य संख्या जम्मा ७ वटा छ। यो संख्यात्मक हिसाबले पनि निक्कै सानो छ। यसबाहेक साधन र स्रोतको हिसाबले पनि यो निक्कै नै कमजोर संस्था हो भन्नेमा दुईमत छैन। सानो पुँजी र ठूला बीमकको चेपुवामा सीमित दायराभित्र रहेर व्यापार गर्नुपर्ने बाध्यताका कारण यो संगठनका सदस्य बीमकहरुसँग संघका लागि पर्याप्त स्रोत जुटाउन सक्ने अवस्था छैन।

जीवन बीमक संघ र निर्जीवन बीमक संघमा पनि १४–१४ वटा संस्था आबद्ध छन्। ती संस्थाले संघको गतिविधि नियमित सञ्चालन गर्न, संस्थागत रुपमा सामाजिक उत्तरदायित्व बहन गर्न, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको सभा–सम्मेलन सञ्चालन गर्न आवश्यक पर्ने रकमको जोहो गर्न सदस्यता शुल्क र अक्षय कोषबाट प्राप्त ब्याज आम्दानीले मात्र सधैँभरि पुग्दैन। प्रत्येक पटक कार्यक्रम आयोजनाका लागि थप रकम सदस्य बीमकहरुबाट योगदानवापत संकलन गर्नुपर्ने बाध्यात्मक अवस्था पनि छ।

बीमितका लागि कोष संरक्षक (ट्रस्टी) को भूमिकामा रहेका बीमा कम्पनीहरु राजनीति गर्ने थलो पनि होइन। तीनवटै संगठन एकीकृत भएर एउटै साझा नेतृत्वमार्फत संगठनात्मक गतिविधि सञ्चालन गर्न सकेको अवस्थामा यो प्रभावकारी हुन सक्ने देखिन्छ। सदस्यता शुल्कवापतको योगदानका लागि तुलनात्मक रुपमा थोरै भार पर्न जानेछ। ठूलो सदस्य संख्या हुँदा अन्तर्राष्ट्रियस्तरको बृहत कार्यक्रमका लागि आवश्यक स्रोत र विशेषज्ञता जुटाउन पनि सहज हुनेछ।

निर्जीवन, जीवन र लघु बीमकको व्यवसायको प्रकृति फरक–फरक भएकाले प्रतिनिधित्व पनि फरक–फरक हुनुपर्छ भन्ने तर्क पनि अघि सारिएला। यहाँ एउटा सजिलो र सिद्ध उपाय हुन सक्छ। एकीकृत संगठनभित्र बेग्ला–बेग्लै समिति गठन गरेर वस्तुगत प्रतिनिधित्व सुनिश्चित गरिदिन तथा निर्जीवन बीमकको हितका लागि निर्जीवन बीमक समिति, जीवन बीमकका लागि जीवन बीमक समिति र लघु बीमकका लागि लघु बीमक समिति गठन गरेर तीनवटै प्रकृतिका बीमकको बेग्ला–बेग्लै प्रतिनिधित्व सुनिश्चित गरिदिन सकिन्छ।

जीवन बीमक संघ नेपालका अध्यक्ष एवं सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले फरक–फरक बीमा व्यवसाय गर्ने कम्पनीहरुको आआफ्नो छुट्टै संगठन हुनु स्वाभाविक रहेको बताए। ‘सबै खाले बीमा कम्पनीका एउटै संगठन बनाउँदा पनि कुनै फरक पर्दैन’, उनले भने, ‘तर, व्यवसाय अनुसार आफ्नो एजेन्डा लिएर अगाडि बढ्न छुट्टाछुट्टै संगठन हुँदा सहज हुन्छ।’

एउटै संगठन बनाएर कार्यसमितिमा जीवन, निर्जीवन र लघु बीमकका पदाधिकारी बस्दा नियामक गएर आफ्ना धारणा राख्न वा एजेन्डा प्रस्तुत गर्दा अलमल हुन सक्ने पौडेलको भनाइ छ। ‘अरु क्षेत्रमा पनि आफ्नो प्रकृतिअनुसार फरक–फरक संगठन छन्’, उनले भने, ‘त्यसैले बीमा क्षेत्रमा पनि आफ्नो प्रकृतिअनुसार छुट्टै संगठन स्थापना भएको हो।’

नेपाल बीमक संघका निवर्तमान अध्यक्ष एवं सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रले यसअघि बीमा कम्पनीहरु थोरै रहँदा जीवन र निर्जीवन दुबैको एउटा संगठन रहेको बताए। ‘त्यतिबेला संगठनको अध्यक्ष जीवन र निर्जीवन बीमा कम्पनीका सिईओहरुले पालैपालो बन्ने गर्थे र दुईजना उपाध्यक्षमा एकजना जीवन र एकजना निर्जीवनबाट प्रतिनिधित्व हुन्थ्यो’, उनले भने, ‘पछि कम्पनीहरु धेरै भए अनि संगठन पनि बेग्लाबेल्लै भयो।’

एउटै संगठन बनाएर पहिलेजस्तै प्रतिनिधित्व गरेर अगाडि बढ्न सकिने क्षेत्रीको भनाई छ। ‘तर, संगठन एउटै बनाउनुपर्छ भनेर कतै कुरा भएजस्तो मलाई लाग्दैन’, उनले भने, ‘लघु बीमकलाई भने व्यवसायको प्रकृतिका आधारमा जीवन र निर्जीवन बीमकको संगठनमा आबद्ध गर्न सकिन्छ। उहाँहरु तयार भएर आउनुपर्यो।’

नेपाल लघु बीमक संघका सचिव एवं प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सिईओ नरेशकुमार रोकाले बीमा व्यवसायको प्रकृतिअनुसार नै संगठन खडा भएकोले आफ्नो मुद्दा उठाउन सजिलो भएको बताए। ‘शुरुमा लघु निर्जीवन बीमकहरू निर्जीवन बीमकको संगठन र लघु जीवन बीमकहरू जीवन बीमकको संगठनमा जाने सोच पनि बनाएका थियौँ, छलफल पनि गरेका थियौँ तर भएन’, उनले भने, ‘त्यही भएर हामीले जीवन र निर्जीवन लघु बीमकको एउटै संगठन बनायौँ।’

सबै बीमकको एउटा संगठन हुँदा समान मुद्दाहरु उठाउन बल पुग्ने रोकाको भनाई छ। ‘तर, छुट्टाछुट्टै संगठन हुँदा आआफ्नो व्यवसायको प्रकृतिअनुसार अगाडि बढ्न सजिलो हुन्छ’, उनले भने, ‘त्यसैले होला अहिलेसम्म एउटै संगठन बनाउनुपर्छ भनेर कतैबाट कुरा उठेको छैन।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS