काठमाडौं । १७ वर्षअघि गंगा शर्मा पराजुली साइकल चलाउँदै खेत खेत डुलेकी थिइन् । रोपाइको समय गाउँले सबै आफ्नो खेतमा व्यस्त हुने भएपछि उनी बीमा बारे जानकारी दिन खेतै खेत पुग्थिन् । किसानको खेतबारीमा हिँडेर सफल हुन्छु हुँदिन थाहा नभएपनि उनले आफ्नो हिँडाइलाई भने निरन्तरता दिइरहिन् । यसरी एक हप्तासम्मको उनको हिँडाइले नसोचेको उपलब्धि हाँसिल गर्यो । त्यहि साइकलबाट सुरु गरेको उनको यात्रा हाल कार चढेर पूरा गर्छिन् उनी ।
पार्ट टाइम काम खोज्दा अभिकर्ताको बारेमा थाहा भयो
गंगा शर्मा अभिकर्ता पेशामा संलग्न हुनु अगाडी बाँकेको एक विद्यालयमा पढाउने गर्थिन् । श्रीमान् सिटिभिटिमा जागिरे र उनी शिक्षण पेशामा भएकोले नियमित आयस्रोत ठिकै थियो । दुई छाक खान कुनै समस्या नभएपनि भावी दिनका लागि जोहो गर्न भने मुस्किल नै थियो । कमाई गर्न सकुन्जेल खाना लाउन पुग्ने, सन्तान जन्मिएपनि र हात गोडा लाग्न छाडेपछिको आर्थिक संकटलाई कसरी टार्ने भन्ने चिन्ताले उनलाई सताइरहन्थ्यो । विद्यालयमा पढाउने काम बाहेक अन्य पार्ट टाइम गर्ने कामको खोजीमा रहेकी उनले अभिकर्ता पेशाबाट पनि राम्रो आम्दानी हुन्छ भन्ने थाहा पाइन् । चिनेको एकजना दाइले लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालले सञ्चालन गरेको अभिकर्ता तालिममा सहभागी हुन सुझाव दिएका थिए । तर कारणबस उनी उक्त तालिममा सहभागी हुन भने पाइनन् ।
एकदिन, उनकै विद्यालयमा पढाउने शिक्षकले उनलाई बीमा गर्न आग्रह गरे । आफू बीमा गर्न इच्छुक भएको र बीमा गरिदिन भने । तर आफूलाई पनि अभिकर्ता पेशाप्रति रुची भएकोले तालिम सञ्चालन भए खबर गरिदिन आग्रह पनि गरिन् । करिब ६ महिनापछि तीनै शिक्षकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तालिम सञ्चालन गर्ने बारे खबर गरे । घरदेखि निक्कै टाढाँको स्थानमा भएको उक्त तालिममा पानीमा रुझ्दै पुगिन् । त्यहाँ पुगेर बुझ्दा त्यसअघि पनि थुप्रै तालिमहरु सञ्चालन भइसकेको रहेछ । सोहि चार दिने तालिम मार्फत उनी अभिकर्ताको बनेर गाउलेको खेतमै पुगेर बीमा गर्न थालिन् ।
एक हप्तामै विद्यालयबाट पाउने तलबभन्दा धेरै कमाई
उनले तालिम लिए लगत्तै विद्यालयमा वर्षे विदा सुरु भयो । धान रोपाइको चटारोमा गाउँलेहरु घरमा भन्दा बढी खेतमा भेटिन्थे । गंगाले पनि यहि मौकामा आफूसँग भएको साइकल चलाउँदै खेत खेतमा पुगेर बीमाबारे जानकारी दिने र बीमा गर्न प्रोत्साहन गर्न थालिन् । पानी झरी केहि नभनी हिम्मत जुटाएर उनी करिब एक हप्तासम्म खेतमा डुलिन् । एकैपटक धेरै जना समुहमा भेटिने भएकोले उनलाई काम गर्न पनि सहज भएको थियो । असार महिनाको अन्तिम हप्तामा सुरु भएको उनको व्यवसायले साउन महिनाको क्लोजिङमै आम्दानी दिन थाल्यो । उनले एक हप्तामै आफूले विद्यालयबाट एक महिनामा लिने पारिश्रमिकभन्दा धेरै कमाइन् । जसले गर्दा यो पेशाप्रति थप लगाव बढ्न थाल्यो ।
राम्रो प्रस्ताव ल्याएको भन्दै धेरैले सपोर्ट गरे
उनले बीमाबारे प्रस्ताव लिएर जति पनि ठाउँ पुगिन् सबैतिर राम्रै प्रतिक्रिया पाइन् । एकातर्फ उनी एक शिक्षिका थिइन्, सबिस्तार कुरा बुझाउन सक्ने खुबी उनमा थियो । अर्काेतिर उनको बुबा गाविस अध्यक्ष भएकोले पनि उनले राम्रो काम ल्याएकी होलिन् भनेर विश्वास गर्न थाले । यसरी उनले अभिकर्ता पेशामा प्रत्येक दिन सफलता प्राप्त गर्दै गइन् । गाउँ नजिक बैंक नभएको, घरमै बचत गर्न राखिएको पैसा केहि न केहि बहानामा खर्च हुने भएकोले उनको प्रस्ताव सुनेर धेरैजसो पैसा बचत हुने कुराले बीमा गर्न राजी हुन्थे । उनले पैसा बचत गर्ने उपायहरु समेत सिकाउँदै गइन् । यसरी सुरु सुरुमा उनले मासिक, त्रैमासिक, पाक्षिक रुपमा समेत प्रिमियम संकलन गर्ने गर्थिन् । तर पछि भने यसरी प्रिमियम संकलन गर्न अप्ठेरो भएकोले उनले सबै बीमितको प्रिमियम बार्षिक रुपमा संकलन गर्न थालिन् ।
१८ दिनको सुत्केरीमै बीमा गर्न पुगिन्
गंगाले आफू वरिपरि भएका नाता आफन्त चिनजान भएकालाई बीमाको फाइदाबारे बुझाइरहन्थिन् । बीमा पोलिसी खरिद गरेपनि नगरेपनि यसबारे जानकारी दिनु आफ्नो धर्म भएको सोच्दै उनी अनवरत रुपमा आफ्नो काममा खटिन्थिन् । यसरी काम गर्ने क्रममा खानेपानीमा काम गर्ने भाइहरुलाई पनि बेला बेलामा यसबारे जानकारी दिन्थिन् । दशैंको बोनस आएपछि बीमा गर्छाैं भनेका ती भाइहरुले उनलाई लगातार फोन गरेर आफूहरुको बीमा गरिदिन आग्रह गरे । सो समय गंगा १८ दिनको सुत्केरी थिइन् । दोस्रो सन्तानलाई जन्म दिएकी उनले आफ्नो अवस्था बताउँदा समेत ती भाइहरुले पैसा खर्च हुन्छ बीमा गरिदिनु भनेकोले उनी बीमा गर्न गइन् । उनी त्यो क्षणलाई आफ्नो जीवनमा कहिल्यै बिर्सन नसक्ने क्षणको रुपमा लिन्छिन् । उनी बीमा गर्न लागि र विद्यालय पढाउन आफ्नो पहिलो सन्तानलाई आमाबुबाको सहारामा छोड्ने गर्थिन् । माइती नजिक भएकोले उनलाई काम गर्न सहज भएको थियो ।
विद्यालय छोडेर पूर्ण रुपमा अभिकर्ता
२०७२ सालबाट भने उनी शिक्षण पेशा नै त्यागेर अभिकर्ता पेशामा लागि परेकी थिइन् । बीमितसँग भेटघाट गर्न, सहयोग गर्न र विभिन्न कार्यक्रममा सहभागी भइरहनुपर्ने भएकोले विद्यालयमा खासै समय दिन सकिनन् । विद्यालयमा गएल भइरहदाँ विद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त गर्न नपाएको भान हुन्थ्यो उनलाई । यहि मात्र नभई आफूले बीमा गराएका बीमितले समेत राम्रो सेवा नपाएपछि उनले दुई मध्ये एक पेशा छान्ने निर्णय गरिन् र शिक्षण पेशा छाडिन् । विद्यार्थीले आफूभन्दा क्षमतावान शिक्षक पाउनेमा उनी विश्वस्त थिइन् । तर बीमा क्षेत्रले सक्षम अभिकर्ता गुमाउन नपरोस् भन्ने सोचले उनी अभिकर्ता पेशालाई नै निरन्तरता दिने सोचमा पुगिन् । तर यी दुबै पेशा उनको लागि सम्मानजनक पेशा हो ।
६ पटक एमडीआरटी, कोर्ट अफ द टेबलको टार्गेट पनि पूरा
नेशनल लाइफ इन्स्योरेन्सले एमडीआरटी सुरु गरेदेखि नै गंगा एमडीआरटीको लागि क्वालिफाइड भइरहेकी छिन् । उनले कोर्ट अफ द टेबलको टार्गेट पनि पूरागरेकी छिन् । अभिकर्ता पेशाबाटै उनले दुई पटक युरोप भ्रमण गर्ने मौक पाइन् भने अन्य विभिन्न देशमा समेत जाने मौका पाइन् । सुरुवाती समयमा बार्षिक १ करोड प्रिमियम संकलन गर्ने उनी हरेक वर्ष दोब्बर तेब्बर प्रिमियम संकलन गर्दै सफल अभिकर्ता बनेकि छिन् । उनले साइकल चलाउँदै सुरु गरेको अभिकर्ता पेशाले स्कुटीको रङ्ग मात्र होइन कार समेत फेर्ने मौका दिएको छ । जसकारण उनी यो पेशा प्रति पूर्ण रुपमा सन्तुष्ट छिन् । साथै, नेशनल लाइफले उनको काममा सहजता ल्याउन एक जना असिष्टेनको समेत व्यवस्था गरिदिएको छ । यसरी नेपालगन्जमा नेशनल लाइफ मार्फत अभिकर्ताको राम्रो छाप बसाउन सफल भएकी छिन् उनी ।
कम्पनीले बेलाबखत नेपाल टप, नेपाल दोस्रो जस्ता उपाधिहरुबाट सम्मान दिइरहने भएकोले पनि उनी यो पेशाप्रति थप आकर्षित भइन् । आफूले गरेको मेहेनतको उच्च मूल्याङ्कन गर्न कम्पनीले कुनै कसुर नछोडेपछि कामप्रतिको लगाव बढ्दै गएको उनी बताउँछिन् ।
कमिसन मात्र होइन सेवा पनि हो
अभिकर्ता पेशाको गहिराई बुझेकी गंगालाई यो पेशा कमिसनको लागि मात्र गरिने पेशा होइन भन्ने लाग्छ । यहि बीमाको माध्यमबाट सिंगो परिवार नै आर्थिक संकटबाट जोगिने भएकोले उनी यसलाई सेवाको पेशा समेत मान्छिन् । अभिकर्ता बन्नुभन्दा अगाडी नाताले सानिमा पर्नेको श्रीमान दुर्घटनामा परेर बित्नु भएको थियो । घरको हाली मुहाली सम्हाल्दै आएको व्यक्तिको नै अकालमा मृत्यु भएपछि सिंगो परिवारमा गहिरो चोट परेको थियो । तर, मृतकले बीमा गरेकोले बीमा कम्पनीले उनको सानिमाको परिवारलाई एकमुष्ठ २० लाख रुपैयाँ हस्तान्तरण गरेका थिए । यहि कुरालाई देखेर पनि गंगालाई अभिकर्ता पेशा मन परेको थियो ।
स्वस्थ हुँदा सबै काम गर्न सक्ने व्यक्ति बिरामी भएपछि आश्रित परिवारमा आइपर्ने समस्यालाई न्यूनिकरण गर्नका लागि पनि बीमाले ठूलो भूमिका खेल्छ । यत्ति मात्र नभई घातक रोग लागेको खण्डमा उपचारको लागि बीमाङ्क रकम बराबरको रकम समेत प्रदान गर्ने भएकोले यो पेशालाई केवल पेशाको रुपमा मात्र लिन नहुने उनको भनाई छ ।
घरपरिवारले साथ दिएमा महिला गृहिणीहरुले सजिलै आम्दानी गर्न सकिने यो पेशामा चुनौती भने धेरै रहेको उनको बुझाई छ । समाजमा सबैको बुझाई र नजर एकै किसिमको नहुने हुँदा काम गर्न केहि असहज भने पक्कै छ । तथापि परिवारबाट साथ समर्थन भएमा यस्ता चुनौतीलाई सजिलै जित्न सकिने उनको बुझाई छ ।