काठमाडौं । बीमा क्षेत्रमा एक पछि अर्को मर्जर सफल हुँदै गइरहेका छन् । नियामक निकायदेखि लिएर सम्पुर्ण क्षेत्रको प्रत्साहनले गर्दा बीमा कम्पनीहरुका लागि मर्जर सहज बनिरहेको छ । मर्जर सफल हुँदै गर्दा मर्जर पछिको उपलब्धीलाई अझै पनि देख्न सकिएको छैन । त्यसैले मर्जरका लागि मर्जर भन्दा पनि मर्जरबाट सिनर्जी ल्याउने कुरा अहिलेको सबैभन्दा चासोको विषय बनेको छ ।
मर्जर लगायत बीमा क्षेत्रका समग्र विषयबस्तुमा केन्द्रित गरेर नेपालको बीमा क्षेत्रमा झण्डै तीन दशक विताएका सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत सुद्युमन उपाध्यायसँग इन्स्योरेन्स खवरका सम्पादक अरुण सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:
बीमा क्षेत्रमा मर्जर सम्भव छैन भन्ने कथन थियो । तर साविक सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनी विच मर्जर सफल भएर अहिले सानिमा जिइसीको नामबाट कारोबार भइरहेको छ । यि दुई कम्पनी विचको मर्जर कसरी सफल भयो ?
मर्जरमा अहिले नै हामी सफल भयौ भन्ने अवस्था छैन होला जस्तो लाग्छ । किनभने नेपालको बीमा इतिहासमा हाम्रो मर्जर दोस्रो थियो । हामीले मर्जर गर्ने समयमा सक्कायौ तर मर्जर गरिसके पछि गतिविधिहरु हामीले गर्नु पर्ने थियो त्यसलाई पुरा गर्ने प्रयासमै छौ । केहि कुराहरु भइसकेको छ र केहि कुराहरु अझै गर्न बाँकी छ । त्यसैले गर्दा सफल भनि नहालौ । तर हामी सहिबाटोमै छौ ।
पहिला पहिला दुई कम्पनी मर्जर भएर एकिकृत कारोबारको चरणसम्ममै पुग्न सक्दैन भन्ने संशय थियो । उक्त संशयको चरणमा के कस्ता समस्याहरु आउदा रहेछन् र त्यसलाई कसरी समाधान गर्यौ ?
समस्याहरु भन्दा पनि त्यसमा नियामकको धेरै सहयोग भयो । हामीले हरेक नियकाबाट पाउने स्वीकृति थियो त्यसै सबै समयमै प्राप्त गर्यौ । डिडिए अडिटरले पनि समयमै प्रतिवेदन सम्पन्न गर्नु भयो । त्यसकारणले गर्दा हरेक किसिमका गतिविधिमा हामीले समयसिमा तोकेका थियौ त्यो समयसिमामा काम गर्न सक्यौ । त्यस कारणले गर्दा नै समयमा पुरा गर्न सक्यौ । तर मेरो विचारमा समयमै प्रकृयाँ पुरा गरेर एकिकृत कारोबार गर्नु ठुलो कुरा होइन कि त्यस पछि आफुलाई कसरी अगाडी लैजान सकिन्छ भन्ने कुरा सबैभन्दा महत्वपुर्ण हुन्छ । मर्जरका लागि मर्जर होइन मर्जरबाट सिनर्जी ल्याउने भन्ने कुरा चाँही ठुलो कुरा हो । र त्यो सिनर्जी ल्याउनको लागि हामी प्रयासरत छौ । अव सफल पनि हुन्छौ होला ।
कर्मचारी समायोजनामा कत्तीको गाह्रो पर्दो रहेछ ?
कर्मचारी समायोजनमा हामीलाई त्यतिको गाह्रो हुने अवस्था रहेन । किनभने हामी दुई वटै कम्पनी एकै पटक स्थापित भएको कारणले गर्दा कर्मचारी संख्या दुबैका लागि आवस्यक थियो । दुबै कम्पनीको योजना अनुसार नै अहिले बजारमा तत्कालिन अवस्थामा अरु कम्पनीको जति जनशक्ति हुन्छ दुई वटा कम्पनीको मर्जर गर्दा पनि त्यति नै जनशक्ति हुनि कारणले गर्दा समायोजनामा त्यस्तो धेरै समस्या भएन । किनभने प्रारम्भिक दिनमै अधिक कर्मचारी थिएन ।
मर्जर पछि कम्पनीले त्रैमाशिक वित्तीय विवरण प्रकाशित गरिसकेको छ । यहि सन्दर्भमा हिजोका दिनमा दुई कम्पनीको छुट्टा छुट्टै पोर्टफेलियोले कत्तीको निरन्तरता पाएको पाउनु भयो ?
पुरानो व्यवसायमा पनि राम्रो निरन्तरता भएको छ । नभएको होइन । तर हिजोका दिनमा दुई छुट्टा छुट्टै कम्पनीको रणनितिले काम गर्थ्यो । तत्कालिन सानिमा जनरल इन्स्योरेन्सको रणनीतिमा एउटा व्यवसाय भइरहेको थियो । त्यस्तै तत्कालिन अवस्थामा जिआइसीले पनि आफ्नै रणनीतिमा व्यवसाय गरिरहेको थियो । हामीले साविक कम्पनीहरुको जुन व्यवसायिक रणनीति थियो त्यसैलाई निरन्तरता दियौ त्यसबाट राम्रै प्रतिकृया पाइएको छ । तर कुनै व्यवसायलाई अहिलेको अवस्थामा घटाउनु पर्छ भन्ने लाग्यो त्यहि अनुसार अगाडी बढेका छौ ।
फरक संस्कृतिको दुई कम्पनीका जनशक्तिलाई एउटै संस्कृतिमा ढाल्नका लागि के कस्तो कामहरु गर्यौ ?
हामीले त्यसका लागि कर्मचारीहरुको परिचयात्मक कार्यक्रमहरु गर्यौ । संस्कृति भनेको मनस्थितिको कुरा मात्रै हो । हामीले बीमा गर्ने वेलामा राज्यले तोकेको कानुन अनुसार गर्नु पर्यो । नियामक निकायले दिएको निर्देशन निर्देशिका अनुसार काम गर्नु पर्यो । त्यो बाहेक अन्तर्राष्ट्रिय बीमाको मान्यता अनुसारको सञ्चालनका अभ्यासहरुलाई पच्छ्याउनु पर्यो । सम्पुर्ण कार्यालयमा यहि नै हुने हो । यो भन्दा फरक त हुँदैन ।
अलि अलि काम गर्ने कार्यशैलीमा फरक हुने हो । तर निश्चित मुल्य मान्यता र सिद्धान्तमा बसेर काम गर्नु पर्ने कारणले गर्दा त्यति धेरै सांस्कृतिक फरक हुन्छ जस्तो लाग्दैन । तर मनस्थिति हो । जुन मानविय गुण हुने भएकाले अलि अलि हुन्छ । तर समयमा आफै समाधान हुँदै जान्छ । त्यसमा त्यति धेरै फरक पर्दैन ।
तपाईले सिनर्जीका लागि मर्जर गर्नु परेको भन्नु भयो । अहिलेसम्मको अवस्थामा सिनर्जी पाइयो कि प्लस पाइयो ?
दुई वटा कम्पनी जोड्दा सिनर्जी र प्लस भन्ने कुरालाई हेर्दा हामी प्लस नै हुन्छौ जस्तो लाग्छ । त्यहि हिसावमा काम गरिरहेका छौ । अहिले नै यस्तो पाइयो भनेर आउटकमलाई भन्ने अवस्था आइसकेको छैन । किनभने अर्थतन्त्रमा पनि केहि दवाव परिरहेको छ । त्यसको प्रभाव पक्कै पनि बीमा क्षेत्रमा पनि पर्न सक्छ । त्यसले गर्दा यस कुरामा हामीले सिनर्जी ल्याइसक्यौ भनेर गर्व गर्न सक्ने अवस्था छैन । तर म के भन्छु भने हामी सहि मार्गमै छौ । र भोलिका दिनमा पक्कै पनि सिनर्जी ल्याउने छौ ।
हिजोका दिनमा कम्पनीहरु धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भयो भन्ने थियो । कम्पनीहरु घट्दै गर्दा अस्वस्थ प्रतिस्पर्धा घटेको छ कि अझै बढ्यो ?
छैन छैन । घट्दै गएको छ । विस्तारै हामी पहिलाको भन्दा धेरै कुरामा ट्र्याकमा छौ । अस्वस्थ प्रतिस्पर्धा पनि क्रमश घट्दै जान्छ ।
मर्जर पछि बढेको पूँजीको प्रतिफलका लागि पनि व्यवसायिक दवाव त होला नि ?
बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा गर्दैमा प्रतिफल आउछ भन्ने हुँदैन । व्यवसाय व्यवसायकै सेन्समा गर्नु पर्यो । मुनाफा हुने गरेर गर्नु पर्यो । व्यवसाय गर्नु ठुलो कुरा होइन त्यो व्यवसायलाई व्यवस्थापन गरेर अगाडी बढाउनु ठुलो कुरा हो । यो वर्ष टपलाइनको ग्रोथ गर्दैमा त्यसले राम्रो गर्छ भन्ने कुरा होइन ।
अस्वस्थ प्रतिस्पर्धा कुन ठाउँमा भइरहेको छ कसरी भइरहेको छ र त्यसले के कस्तो नतिजा ल्याइरहेको छ भन्ने कुराहरुमा विश्लेषण गर्न जरुरी हुन्छ । हामीले ग्लोबल ट्रेण्डमा हेर्यौ भने पनि त्यस्तै अवस्थाहरु हुन्छ । अस्वस्थ प्रतिस्पर्धा गरेर धेरै बीमा शुल्क संकलन गर्दैमा सफल हुन्छ भन्ने कुरा हुँदैन । किनभने हामीले भविष्यको दायित्वको व्यवसाय गर्ने भएकाले त्यो दायित्वको कति विश्लेषण गरिन्छ, त्यस पछाडी कत्तीको काम गरिएको छ, त्यसले निर्धारण गर्ने कुरा हो ।
त्यसैले गर्दा लगानीकर्ताको प्रतिफल हेर्नु भयो भने यदि क्षेत्रमा कुनै कम्पनीको टपलाइन कम हुँदा पनि प्रतिशेयर आम्दानी बढि छ र कुनै कम्पनीको टपलाइन व्यवसाय धेरै हुँदा पनि प्रतिशेयर आम्दानी थोरै छ । निश्चयनै कसरी व्यवसाय छनोट गर्नु हुन्छ, कसरी सेवा प्रदान गर्नुहुन्छ र खर्च व्यवस्थापनको काम कसरी व्यवस्थापन गर्नुहुन्छ भन्ने कुराले निर्धारण गर्छ । यो चिजहरुमा मापनका विभिन्न तहहरु हुन्छन् र त्यसमा आफुले कत्तीको नियन्त्रण गर्न सक्नु हुन्छ भन्ने कुराहरुमा भर पर्छ ।
बजारमा प्राइस कटिङका विभिन्न हल्लाहरु आइरहेका छन् । वास्तवमा यस्को अभ्यास कस्तो छ ?
प्राइस कटिङको अवस्थालाई हेर्दा केहि कम्पनीहरुले नबुझेर प्राइस कटिङ गरेको पाइन्छ । केहि कम्पनीहरुले बुझेर म प्रतिस्पर्धा गर्छु भनेर पनि गरिरहेका हुन्छन् । यसका भिन्न भिन्न पाटाहरु हुन्छन् । त्यसैले गर्दा यसमा यहि नै भइरहेको छ भनेर आकलन गर्न सकिदैन ।
जति सुकै प्राइस कटिङ गरे पनि हामीले पुनर्बीमा गर्नै पर्छ । पुनर्बीमा समेत गर्न नपुग्ने गरि पनि अभ्यास भइरहेको छ कि के छ ?
यो भनेको कम्पनी पिच्छे फरक पर्ने कुरा हो । कुनै कम्पनीले जुन वेलामा नन ट्यारिफ अन्तर्गतका पोलिसीहरुमा इन्जिनियरिङ तर्फ अहिले निर्धारण भएका ट्यारिफ दर भन्दा माथि प्रिमियम संकलन गरेका थिए । कुनै कम्पनी एकदमै तल गएर बीमा गर्ने कम्पनी पनि थिए । यहि बजारमा अहिलेको ट्रयारिफदर भन्दा कम भन्ने पनि थिए । त्यसैले गर्दा आफुले कसरी विश्लेषण गरिएको छ र पुनर्बीमाको व्यवस्थापन कसरी गरेको छ भन्ने कुराले निर्धारण गर्छ ।
हामीले शुक्ष्म रुपमा भन्दा पनि बृहत रुपमा हेर्यो भने पनि प्राइस कटिङले पक्कै पनि समाधान दिदैन । यो रिजनेवल हुनु पर्छ । हामीले कुनै पनि सामानको उचित मूल्य राख्नु पर्छ । बढि पनि हुनु भएन घटि पनि हुनु भएन । बढि र घटिको फरक के हो भन्ने कुरालाई बीमा क्षेत्रका अभ्यासकर्ता आफैले बुझ्ने कुरा हो । आज मैले प्राइस कटिङ गर्दा कहाँ कहाँ प्राभाव पार्छ भन्ने कुरालाई बुझ्नु पर्यो । कतिमा गर्दा सम्पुर्ण स्टेकहोल्डरलाई दियो बनाउन सक्छ । व्यवस्थापन खर्चलाई, कम्पनीलाई दीगो बनाउन, लगानीकर्ताको पूँजीको यथोचित प्रतिफल आउनु पर्यो भन्ने कुराहरुलाई व्यवस्थापन गरेर अगाडी बढाउनु पर्छ ।
विश्वमै आर्थिक संकट देखापरेको छ । यस सँगै जोखिमहरु पनि बढ्दै जान्छ । यसले गर्दा विदेशी पुनर्बीमा कम्पनीले लगाउने शुल्कमा कत्तीको प्रभाव पार्छ ?
एकदमै प्रभाव पार्छ । किनभने बीमाको बजार तथा व्यवसाय ग्लोबल बीमाको बजारमै भर पर्छ । त्यसैले यहाँको मूल्य जहिले पनि विदेशी मूल्य सँग निन्तरनिर्भर हुन्छ । यसको प्रत्यक्ष प्रभाव पर्छ । प्राकृतिक विपद ‘क्याटास्ट्रप’ जोखिमको शुल्क बढिरहेको छ । हवाइ बीमाको शुल्क पनि बढिरहेको छ । हामीहरुले विभिन्न ग्लोबल प्ल्याटफर्ममा बीमाको विषयमा छलफल गर्दा यो प्यान्डामिक पछिको प्रभाव भनिरहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमै पुनर्बीमाको क्षमता घटिरहेको छ । कम्पनीहरुले आफ्नो क्यापिटल बचाउन बरु व्यापार नै नगर्ने लाइनमा गइरहेका छन् । त्यस अवस्थाले गर्दा बजारमा पुनर्बीमा क्षमता नै घट्दै गइरहेको छ ।
नेपालको बीमा बजारमा कन्ट्रोल प्राइस छ । विश्व बजार अनुसार बढाउन सक्ने अवस्था छैन । यस्तो अवस्थामा नेपाली बीमा कम्पनीहरु कसरी टिक्न सक्छन् ?
नियामकबाट न्युनतम मूल्यमा मात्रै नियन्त्रण भएको छ । न्युनतम मूल्य भन्दा माथि गएर पनि बीमा शुल्क निर्धारण गर्न सक्छौ । हामी तोकिकएको भन्दा माथि जान सक्छौ तल जान मात्रै नसक्ने हो । नियामकको अवधारणा के हो भने तल गएर अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्ने हो । तर बजारमा पुनर्बीमाकै अभाव भयो भने माथिल्लो मूल्यमा पनि बीमा गर्नु पर्ने हुन्छ ।
अहिले जलविद्युतकै क्षेत्रमा हेर्ने हो भने विश्व बजारमै जलविद्युतको पुनर्बीमा क्षमता कम हुँदै गइरहेको छ । यदि अहिलेको मूल्य अनुसार प्राइसिङ नहुने भयो भने न्युनतम भन्दा माथिल्लो मूल्यमा दर निर्धारण गर्नु पर्ने अवस्था आउछ । अहिले नै कतिपय हाइड्रोपावरको व्यवसाय चाहेर पनि गर्न सकिरहेका छैनौ किने भने हामी पुनर्बीमाको बजार पाइरहेका छैनौ ।
त्यसैले विश्व बजारको धेरै नै प्रभाव पर्छ । हाम्रो जस्तो विकासिल अर्थतन्त्र भएको मुलुकमा अप्रेसनल जोखिम भन्दा पनि प्रोजेक्ट जोखिम धेरै माथि छ । अप्रेसन र प्रोजेक्ट जोखिम दुबै व्यवसाय बराबरी अवस्थामा रहेको अवस्थामा हुन्छ । हाम्रो अप्रेसनल भन्दा पनि प्रोजेक्ट जोखिम धेरै माथि रहेकाले प्राइसिङ अलि माथि हुन्छ । त्यसैले स्टेबल हुँदैन ।
पूँजी बृद्धि लगायतका कुराले बीमा कम्पनीहरुको जोखिम बहन गर्ने क्षमता बढेको छ । त्यस्तै दुई पुनर्बीमा कम्पनीहरु पनि स्थापित छन् । यहि अवस्थामा नेपालले कत्तीको जोखिम ग्रहण गरेर राखेको छ ?
जोखिम बहन गर्ने कुरामा पूँजी बढ्दैमा क्यापिटललाई कत्ती एक्पोजर गराउने भन्ने कुराले फरक पार्छ । हामीले कुन पोलिसीमा कति क्यापिटल एक्सपोज गराउने भन्ने कुरामा बीमितको संख्यामा भर पर्छ । बीमितको संख्या नबढेसम्म पूँजी छ भन्दैमा जोखिम बहन गर्न सक्ने क्षमता पनि बढ्दैन । किनभने यसले असन्तुलन बनाइदिन्छ । आजको दिनमा एउटा कम्पनीले हेलिकप्टरको मात्रै बीमा गर्छु । २० करोड रुपैयाँ मात्रै त होनि भनेर सत प्रतिशत जोखिम आफैले राख्न सक्दैन । ९९ प्रतिशत क्षति हुने सम्भावना नहोला तर एक प्रतिशत सम्भावनाले मात्रै क्षति हुँदा पनि त कम्पनी डुब्छ । यसलाई अन व्यालेन्स पोर्टफेलियो भनिन्छ । हाम्रो पोर्टफेलियो अझै पनि सन्तुलत अवस्थामा छैन । त्यसैले हामी सँग पूँजी हुँदा हुँदै पनि त्यसलाई प्रयोग गर्न सक्दैनौ ।
हामीलाई पुनर्बीमाले पनि भन्छ, एक अर्बको क्षमता चाहियो भन्यो भने मैले एक अर्बको कति वटा व्यवसाय गरे भन्ने कुरालाई ख्याल गर्नु पर्छ । त्यस पछि मात्रै क्यापिटल निर्धारण गरिन्छ । क्यापिटल छ भन्दैमा धेरै व्यवसाय गर्ने होइन । तर जोखिम बहन गर्न सक्ने क्षमताको लेभल भने पहिलाको भन्दा बढ्दै गइरहेको छ । यो क्रमश हुन्छ रातारात हुँदैन ।
यदि मैले जोखिमको संख्या बढाएर जोखिम बहन गरे भने त्यो सन्तुलित हुन्छ तर संख्या नबढाइ जोखिम बहन गरे भने त्यो असन्तुलित हुन्छ । नेपालमा त्यस्तो हुँदैन । किनभने नेपालमा धेरै वटा निर्देशन निर्देशिकाले नियमन गरेको छ ।
नेपाल बीमा प्राधिकरणले यस वर्ष दाबी भुक्तानीको वर्षको रुपमा मनाइरहेको छ । यदि बीमा कम्पनीहरुको वित्तिय विवरण हेर्यो भने धेरै नै तिर्न बाँकी रहेको देखिन्छ । जवकी गएको वर्षको वित्तीय विवरण हेर्यो भने धेरै तिर्न बाँकी देखिन्छ र अर्को वर्षको वित्तीय विवरण हेर्दा त्यति बराबरको तिरेको देखिदैन । किन यस्तो हुन्छ ?
तपाईहरुले वित्तीय विवरण हेर्दा ग्रस फिगर नहेरी नेट क्लेम हेर्दा राम्रो हुन्छ । ग्रस फिगर भनेको एउटै प्रोजेक्टमा ५ अर्बको क्षति भयो भने नेट क्लेम हेर्यो भने ४/५ करोड मात्रै तिरेको देखिन्छ । नेट क्लेमको ट्रेण्ड हेर्नु भयो भने बढेको नै देखिन्छ ।
ग्रस क्लेम जुन वर्ष प्राकृतिक विपद भएको छ त्यस वर्ष धेरै हुन्छ । सामान्य अवस्थामा कम देखिन्छ । त्यहि वेलामा एक दुई वटा जोखिमले एकदमै धेरै देखाइदिएको हुन्छ । सामान्य समयमा कम देखाइरहेको हुन्छ । त्यसैले गर्दा हामीले नम्बर पोलिसी र नम्बर अफ क्लेम सेटलको प्यारामिटर र रकमलाई हेरेर तुलना गर्नु पर्छ ।
प्राधिकरणको अभियान कत्तीको प्रभावकारी देखिन्छ ?
एकदमै प्रभावकारी देखिन्छ । प्राधिकरणले एकदमै धेरै जनचेतनाका काम गरिरहेको छ । यसले गर्दा बीमा क्षेत्रमा जनचेतना बढाइरहेको छ । यस्तो अवस्थामा सानोतिनो दाबी भुक्तानी पेण्डिङ भएर बस्न पाउदैन । जतिधेरै जनचेतना बढ्छ दाबी भुक्तानीको कागजपत्र पुर्याउनेको संख्या पनि बढ्दै जान्छ । बीमा क्षेत्रमा आवस्यक कागजपत्रमा समस्या नहुने वित्तीकै दाबी भुक्तानी स्वभाविक रुपमा सहज हुन्छ ।
बीमा कम्पनीको आशय दाबी रोक्छु भन्ने हुँदैन । कागजपत्र पुरा भए पछि कम्पनीहरुले दाबी भुक्तानी गर्नै पर्ने हुन्छ । बीमा कम्पनीहरु पनि सक्रिय रुपमा लागिरहेकै हुन्छन् । जनचेतना बढ्दै जादा यस्ता समस्या पनि घट्दै जान्छन् ।
मर्जर पछाडी पनि सानिमा जिआइसीको न्युनतम चुक्ता पूँजीका लागि ५० करोड पुग्दैन । यस्तो अवस्थामा क्यापिटल प्लानलाई कसरी अगाडी बढाउदै छौ ?
अहिले हाम्रो वित्तीय विवरणको आकार, त्यहाँ भएको सरप्लस छ, प्रतिफल रहेको छ त्यसले गर्दा हामीले बोनस शेयर दिन सक्ने अवस्था छैन । त्यसैले गर्दा हामीलाई नियामकले कसरी हेर्नुहुन्छ भन्ने हो । एउटा अवस्था मर्जर गरिसकेको अवस्थामा पनि नियामकबाट हकप्रद निष्काशन गर्न नदिने बोनस शेयर दिएरै पूँजी जुटाउनु पर्छ भन्ने आयो भने हामीलाई दुई तीन वर्ष लाग्छ । हैन हकप्रद दिने भन्ने भयो भने त्यहि अनुसार हामीले व्यवस्थापन गर्नु पर्ने हुन्छ । नियामकको निर्देशन अनुसार हामीले काम गर्छौ ।
अहिलेको अवस्थामा कम्पनीको व्यवसाय र पूँजीको अनुपातको आधारमा ओभर क्यापिटलाइजको अवस्था रहेको छ कि अझै पूँजी आवस्यक देखिन्छ ?
ओभरक्यापिटलाइज छैन । किनभने अवको हाम्रो ग्रोथको जुन टार्गेट छ त्यस अनुसार पूँजी आवस्यक छ । हामीले धेरै नै शाखाबादी भएर ग्रोथको टार्गेट लिएका छैनौ । अहिलेकै अवस्थामा थोरै मात्रै व्यवसाय बढ्दा पनि हामीलाई पूँजी पुग्दैन । अरु कम्पनीहरु सँग प्रतिस्पर्धा गर्नकै लागि पनि हामीलाई थप पूँजी आवस्यक पर्छ ।
प्राधिकरणले शाखा कार्यालय सम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ । उक्त मार्गदर्शन अनुसार शाखा सञ्चालन गर्न कित्तीको सहज वा गाह्रो के छ ?
त्यसमा केहि गाह्रो छैन । हामीले आन्तरिक रुपमा पनि यहि कुरालाई सोचिरहेका थियौ । शाखा कार्यालयबाट जुन किसिमको खर्चहरु आइरहेको छ त्यसमा ठुला शाखा कार्यालयको खर्च कसरी घटाउने र जुन ठाउँमा शाखा कार्यालय राम्रो सँग चलिरहेको छैन त्यस्ता ठाँउमा सम्पर्क कार्यालय तथा उपशाखा कार्यालय बनाउने योजनामा थियौ ।
मर्जर हुनु भन्दा अगाडी पनि तत्कालिन सानिमा जनरल इन्स्योरेन्स कम्पनीले जुन ठाउँमा शाखा कार्यालय त्यति भायबल हुँदैन त्यस ठाउँमा उपशाखा कार्यालयहरु स्थापना गरेर काम गर्ने योजना बनाएका थियौ । त्यो अवस्थालाई पहिला नै सोचिरहेको भएर अहिले पनि केहि शाखाहरुलाई उपशाखा कार्यालयमा परिणत गर्नु पर्ने अवस्था छ । किने भने त्याहा ४/५ वर्ष सञ्चालन गरिसक्दा पनि राम्रो व्यवसाय भइरहेको छैन भने व्यवसायिक रुपमा उपयुक्त छैन भन्ने हो । त्यस्ता स्थानमा आफ्नो उपस्थिति जनाएर शाखाको संख्या घटाउनु पर्ने अवस्था छ ।
यसले गर्दा बजारमा प्रादेशिक कार्यालय, शाखा कार्यालय र उप शाखा कार्यालयको इप्रेसन पनि राम्रो बनाउछ । साथै सेवाको गुणस्तर पनि राम्रो हुन्छ जस्तो लाग्छ । कुनै पनि शाखा कार्यालय खोल्दै गर्दा जुन किसिमको न्युनतम व्यवसायको आवस्यकता पर्छ त्यो नहुँदा घाटामा सञ्चालन गर्नु पर्ने हुन्छ । यतिका वर्षमा पनि ब्रेक इभनमै आउन सक्ने अवस्था छैन भने सञ्चालन गरेर मात्रै हुँदैन ।
बीमा प्राधिकरणले ४ वटा निर्जीवन लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको छ । अवको केहि समयमा उनिहरुले व्यवसाय शुभारम्भ गर्नेछन् । उनिहरुले गर्ने व्यवसायले पुराना कम्पनीहरुलाई कत्तीको प्रभाव पार्छ ?
चलिरहेको बजारमा कत्तीको प्रभाव पार्छ भन्दा अहिले सञ्चालनमा रहेका बीमा कम्पनीहरुले कतिपय व्यवसाय गर्न सकिरहेका छैनन् । माइक्रोमै फोकर भएर आउने कम्पनीहरुले यहि क्षेत्रमा बढि काम गर्न सक्छन् । आजका दिनमा हामीले हवाइ बीमा पनि गरिरहेका छ र माइक्रो पोलिसी अन्तर्गत सामान्य गाइ भैसीदेखि लिएर गाई गोठको बीमा पनि बिक्री गरिरहेका छौ ।
हाम्रो संचरनामा धेरै ठुलो खाडल छ । यस्तो खाडललाई विशिष्टिकृत गर्दै लैजानु भनेको नियामको उद्देश्य धेरै राम्रो हो । नियामकले तय गर्ने निर्देशन तथा मार्गदर्शनमा माइक्रोइन्स्योरेन्स कम्पनीले के कस्तो क्षेत्रमा काम गर्ने भन्ने कुराहरु महत्वपुर्ण हुन्छ । प्राधिकरणले निर्धारण गर्ने कार्यक्षेत्रका आधारमा हामीले आ-आफ्नै व्यवसाय खोज्ने भएकाले यसमा त्यति धेरै ठुलो समस्या ल्याउला जस्तो लाग्दैन । किनभने नियामकले सबैलाई आ-आफ्नो स्पेस दिइरहनु भएको छ । त्यो स्पेसमा आफुलाई कसरी फिटिङ गराउने भन्ने कुरा हो ।