सामान्य तालिमको भरमा बीमा सर्भेयरको लाइसेन्स दिनु हुँदैन, संख्यात्मक भन्दा गुणात्मक बृद्धि आवश्यक

सुर्य प्रसाद जोशी/शेर बहादुर बुढा  

बिगत तिन बर्षदेखि बीमा सर्भेयरको तालिम अनपेक्षित रुपमा बन्द रहेको थियो । बीमा समितिले नियमित रुपमा सर्भेयरको तालिम सञ्चालन गर्न नसक्दा दाबी भुक्तानीमा ढिलाइ भइरहेको गुनासो सुनिदै आएको छ । यसैलाई सम्बोधन गर्ने क्रममा समितिले करिव २०० जना नयाँ सर्भेयरलाई लाइसेन्स दिने योजना सहित प्रस्ताव आह्वान गरेको छ । तर समितिले सोचे भन्दा अत्याधिक धेरैको आवेदन परेको छ । प्रस्ताव आह्वान गरेको केहि दिनमै साढे सात सय भन्दा धेरैले आवेदन दिइसकेको र अझै आवेदन पर्ने क्रम जारी रहेको अवस्थामा बीमा समितिले यसलाई गम्भिरता पुर्वक हेर्नु पर्ने भएको छ । क्षेत्रगत सुधारका लागि संख्यात्मक बृद्धिलाई भन्दा पनि गुणात्मक बृद्धिका लागि समितिले कदम चाल्नु पर्ने अवस्था सिर्जना भएको छ ।

बीमितको विश्वास- निर्जीवन बीमाको आधार

निर्जीवन बीमा एक वर्षको समयावधिको जोखीम बहन मात्र हो । यसले जीवन बीमा जस्तो जोखीम बहनका साथै नियमित बचत र बचतको प्रतिफलका पक्षहरुलाई समेट्दैन । निर्जीवन बीमा क्षेत्रले न्यायपुर्ण तरिकाले वास्तविक क्षतिको क्षतिपुर्ति दिन्छ भन्ने बीमीत वर्गमा जवसम्म विस्वास स्थापित हुँदैन तवसम्म निर्जीवन बीमा क्षेत्रको दिगो विकास हुँदैन । यसकारण निर्जीवन बीमा क्षेत्र प्रति बीमित वर्गको विस्वास बृद्धि गर्नु निर्जीवन बीमा क्षेत्रको मुख्य चुनौती हो ।

दाबी बखत नै विमितले बीमा क्षेत्रको मुल्यांकन गर्छ

निर्जीवन बीमा पोलीसी विक्री गर्दाका बखत बीमा कम्पनीहरुले बीमित वर्गलाई क्षतिको क्षतिपूर्ति गर्ने आशा बेचेका हुन्छन् । बीमितका लागि उक्त आशा विस्वासमा परिणत हुने वा निराशामा परिणत हुने अवस्थाको निर्धारण विमितको दाबीको दाबी निरुपण हुँदाका बखत नै हुन्छ । कतिपय अवस्थामा दाबीकर्ता बीमितहरुले क्षति मूल्याङ्कनमा असन्तुष्ट भई आफ्नो बीमा कम्पनी छोड्ने वा स्वेच्छाले बीमा गराएको रहेछ भने बीमा गराउन नै छोड्ने प्रचलन पनि देखीन्छ ।

सर्भेयर निर्जीवन बीमाको केन्द्रमा

बीमा कम्पनीले बीमितबाट दावी घटनाको निवेदन प्राप्त गर्नासाथ क्षति मूल्याङ्कनका लागी सर्भेयर नियुक्त गर्दछ । सर्भेयरले नै क्षति मुल्याङ्कनका कार्य प्रक्रियाहरु बीमितको सहयोग, संलग्नता वा सहमतिमा पुरा गर्दछ । कार्यप्रक्रियाको यो चरणमा नै बीमितले बीमा क्षेत्रलाई मुल्यांकन गर्दछ । यहि चरणमा सर्भेयरले गर्ने निर्णयले बीमितलाई वास्तविक असर गरेको हुन्छ । त्यसकारण सर्भेयरले बीमितका लागि  बोल्ने विश्लेषण र दिने निर्णयले बीमितको बीमा क्षेत्र प्रतिको विस्वास निर्धारण गर्दछ । अर्को शब्दमा नियामक बीमा समितिका नीति-निर्देशन र पोलीसीको रुपमा बीमा कम्पनीले बेचेका आशा दुवैको अन्तिम कार्यरुप बीमितका लागी सर्भेयरको काम र व्यवहार नै हो । संक्षेपमा दावीकर्ता बीमितका लागि बीमा सर्भेयर नै निर्जीवन बीमा क्षेत्रको ऐना हो । आधारभुत ज्ञानसिपको अभावमा सर्भेयरले बीमितलाइ सहमत नगराई क्षति मुल्यांकन कार्य सम्पन्न गरेमा दावीकर्ता बीमितले आफु निर्जीवन बीमा क्षेत्रबाट ठगीएको वा अन्यायमा परेको महशुस गर्दछ । जति धेरै संख्यामा यस्ता बीमितहरुको संख्या वढ्दै जान्छ त्यती धेरै विवाद निरुपण कार्यबोझ बीमा समितिमा वढ्दै जान्छ । यसकारण सर्भेयरको कार्यलाई निर्जीवन बीमा क्षेत्रको केन्द्रमा रहेको मान्नु पर्ने देखिन्छ ।

हालको हलुङ्गो बीमा सर्भे तालिम/लाईसेन्स कार्य प्रक्रिया

सर्भेयरको उल्लेखित महत्वका वावजुत हाल नेपालमा निर्जीवन बीमा सर्भे तालिम÷लाईसेन्स कार्य प्रक्रिया निकै हलुङ्गो छ । जस अनुसार बीमा नियमावली २०४९ ले निर्धारण गरेको न्यूनतम योग्यता पुगेकाहरुलाई एक हप्ते तालीममा सहभागीता जनाएकै भरमा मात्र कुनै परिक्षण र परिक्षा बिना एकै पटकमा पुर्ण सर्भेयरको लाईसेन्स जारी गरीन्छ । सर्भेयरलाई आवश्यक हुने न्यूनतम अवधारणा, सैद्धान्तिक ज्ञान र सिप उक्त तालीममा सहभागीले प्राप्त गरे नगरेको परिक्षा लिईदैन । परिक्षामा सामेल नै हुन नपर्ने भएकोले बीमा सर्भे लाईसेन्स प्राप्त गर्न चाहनेहरुले गहन अध्ययन गरेका हुँदैनन् र नयाँ लाइसेन्सधारीहरुले काम गर्दै सिक्ने प्रचलन व्याप्त छ ।

काम गर्दै सिक्दै गर्ने बीमा सर्भेयरले बीमितलाई निरन्तर हैरान पार्न सक्ने

विना कुनै परिक्षा सोझै लाईसेन्स प्राप्त गरि काम गर्दै सिक्दै गरेका सर्भेयरबाट बीमितलाई विभिन्न प्रकारले हैरानी पुग्न सक्छ । भुकम्पको त्रासदिपुर्ण घटनाबाट आहत बीमितबाट प्रहरीको घटना प्रमाणिकरण पत्र माग गरीयो । ६ दिने संक्षिप्त तालीममा बीमित सँग माग्नु पर्ने कागजातको सूचिमा एउटा “प्रहरी पत्र” पनि लेखीएको हुन्छ । परिक्षामा पास हुने गरि बीमा सर्भे सम्बन्धी पठन सामग्रीहरु अध्ययन नगरेसम्म यो अवधाणा उत्पन्न हुँदैन कि “प्रहरीको पत्र घटना प्रमाणिकरण गर्नुपर्ने अवस्थामा मात्र आवश्यक हुन्छ” । त्यस्तो अवधाणा नहुनेले जतासुकै “प्रहरी पत्र” माग गर्दछन | त्यस्तै मोटर बीमालेख निर्देशिका गहन अध्ययन नगरेको सर्भेयरले मोटर सर्भेमा समेत औसतको सर्त (अण्डर इन्स्योरेन्स) लगाई विवाद खडा गर्छ । सर्भेयरबाट “पेश हुनु पर्ने कागजातहरुको लिष्ट” हातमा आउनासाथ कतिपय बीमितहरुले माग गरीएका कागजातको उपादेयता र अपरिहार्यतामा प्रश्न गर्दछन् । अध्यययन नगरेका तर अधिकार प्राप्त सिकारु सर्भेयरले “चलन यस्तै हो वा लिष्टमा लेखेको छ, त्यसकारण सबै कागजात दिनुहोला ” भन्ने गरेका कारण बीमितले धेरै हैरानी बेहोर्नु पर्ने देखिन्छ ।

काम गर्दै सिक्दै गर्ने बीमा सर्भेयरले सहपाठी बीमा सर्भेयरहरुलाई समेत निरन्तर हैरान पार्न सक्ने

हरेक दावी निवेदनका लागि बीमा कम्पनीले अलग-अलग सर्भेयरलाई कार्यादेश गर्दछ | बीमितले बिभिन्न बीमा कम्पनीबाट विभिन्न पोलिसी खरिद गरेको हुन्छ | यसरी बीमितले अफ्ना विभीन्न दावीका लागि विभीन्न सर्भेयरहरुलाई सामना गर्नुपर्ने हुन्छ । यसै क्रममा कूनै बीमित समक्ष अघिल्लो सर्भेयरले बोलेको विश्लेषण र लिएका निर्णयहरुले पछी आउने सर्भेयरलाई हैरानीका विषय हुने गर्दछन ।

बीमा ऐन, नियमावली र समितिका निर्देशन आदि अनुसार प्रहरीको घटना प्रमाणीकरण पत्रलाई सदैव अकाट्य प्रमाणको रुपमा लिनु पर्ने देखिदैन । सवारी साधनको एक भयानक दुर्घटनाको फिल्ड सर्भेका क्रममा प्रत्यक्षदर्सीहरुले पहिचान गरेको चालकको नाम प्रहरी पत्रमा उल्लेख गरेको नाम भन्दा फरक देखियो । सो मुख्य जानकारी बाझिएका कारण चालकको परिचय निरुपण गर्ने कार्य समेत सर्भेयरबाट अगाडी वढ्यो । संस्थागत बीमित समुहबाट अघिल्ला सर्भेयरको उदाहरण सहित यो तर्क गरियो कि “सर्भेयरको कार्य क्षति मूल्याङ्कनमा मात्र सिमीत रहेकोले घटनाको अन्य पक्ष निरुपण गर्न खोज्नु बीमितलाई दुःख दिने र गलाउने वहाना मात्र हो” । त्यस्तै सम्पत्ती बीमालेख अन्तर्गत उच्च भोल्टेजका कारण इलेक्ट्रीक मोटरको क्वाईल डढेर हुन गएको क्षतिलाई सम्पति बीमालेखले नसमेट्ने तर्क सर्भेयरले गर्नासाथ यस प्रकारको दावीमा अघिल्लो सर्भेयरबाट क्षतिपुर्ति सिफारिस भएको उदाहरण बीमितबाट पेश भयो ।

सम्पत्ती बीमालेख निर्देशिकाहरु र बिभिन्न पोलिसिहरुको फिल्ड कार्यान्वयनकर्ता नै सर्भेयर

अग्नी बीमालेखले आगलागी र भुकम्प घटनाहरु मात्र अनिवार्य रक्षावरण हुने गरी बाढी, पहिरो, हावाहुरी लगायतका घटनाहरुको रक्षावरण स्वेच्छीक गरेको थियो । व्यापक गृहकार्य पछि त्यस प्रकारका धेरै घटनाहरुको अनिवार्य जोखीम बहन हुने गरी २०७५ मा समितिबाट “सम्पति वीमालेख निर्देशिका” जारी भयो । स्वभावीक रुपमा उक्त निर्देशिका कार्यन्वयनकर्ता सर्भेयरहरु र बीमा कम्पनीका अण्डर राईटिङ्ग विभागहरु हुन् । निर्देशिकाको मुख्य कार्यान्वयनकर्ताको रुपमा सर्भेयरहरुले उक्त निर्देशिका पढे पढेनन, बुझे बुझेनन लागु गरे गरेनन् कतैबाट वास्ता भएन अर्थात सर्भेयरले उक्त निर्देशिका नपढेका कारण अनुत्तीर्ण हुनु पर्ने वा कारवाही भोग्नु पर्ने व्यवस्था नै छैन | फलस्वरुप निर्देशिकाको प्रावधान विपरित बीमित हैरान हुने क्रम पटक पटक देखियो, जस्तै बिमांकको २ प्रतिशतसम्म दावी भएमा न्यून बीमाको हिसाब गर्न नपर्ने प्रावधानका बिपरित १० करोडको पोलीसीबाहकले ५ लाखको स्टक क्षतिको क्षतिपुर्ति दावी गर्दा समेत सम्पुर्ण स्टक विवरण मागीयो, र पुर्नस्थापना बीमालेखका प्रावधानहरु आत्मसाथ नगरी समेत क्षति मुल्याङ्कन गरीयो ।

कतिपय पठन सामाग्रीहरु सर्भेयरले पढ्नै पर्छ 

सम्पत्ती बीमालेख निर्देशिका जस्ता अन्य बिभिन्न सामाग्रीहरु समावेश गरीएको कोर्षमा आधारीत परिक्षा पास हुनेलाई मात्र ट्रेनी सर्भेयर अनुमति दिने कार्य हुन सकेमा उपरोक्त समस्याहरु कम हुँदै जानेछन । सर्भेयरले कहिले पनि परिक्षामा समावेस हुनै नपर्ने हालको प्रावधानले यस्ता आधारभुत पाठ्यसामाग्रीहरु समेत सर्भेयर हुने आकांक्षीहरुले अध्ययन नगरेको पाईन्छ । ट्रेनी सर्भेयर हुने आकांक्षीहरुका लागि कोर्ष सहजै तत्कालै तयार गर्न सकिन्छ जस्तै – बीमा ऐन र नियमावली, मोटर बीमा निर्देशिका, सम्पत्ती बीमा निर्देशिका, सामुन्द्रिक बीमा निर्देशिका, विभिन्न इन्जिनियरिङ्ग बीमाहरु (CAR, EAR, CPM, MBD, EE) का आधारभूत ज्ञान र समितिले तोकेको सर्भेयरको जिम्मेवारी र आचारसंहिता आदि | यस्ता न्युनतम आधारभुत ज्ञानको परिक्षण नगरी ६ दिने तालिमको सहभागीताका आधारमा मात्र एकै पटक २०० जनालाई पुर्ण सर्भेयर लाईसेन्स जारी गरीएमा बीमितले खेप्ने हैरानी र सक्रिय सर्भेयरहरुले खेप्ने हैरानी दुवै तर्फ वढोत्तरी हुने देखीन्छ ।

बीमा सर्भे तालीम/लाईसेन्स कार्य प्रक्रियामा तत्कालै लागु गर्न सकिने सुधारहरु

लेखा परिक्षण क्षेत्र, चिकित्सा क्षेत्र र कानुनक्षेत्र लगायतका व्यवसायीक क्षेत्रहरुमा परिक्षाको माध्यमबाट नयाँ लाईसेन्स जारी गर्ने तथा परिक्षाकै माध्यमबाट नविकरण र बर्ग वृद्धि गर्ने प्रचलन स्थापित छ । यो विश्वव्यापी प्रचलन पनि हो । बीमा सर्भे क्षेत्रमा समेत निम्नानुसारको परिक्षाहरु तत्कालै लागु गर्न व्यावहारीक र कानुनी अड्चन देखीदैन ।

क) ट्रेनी सर्भेयर लाईसेन्स परिक्षा

६ दिने तालीममा सहभागीहरुलाई १ महिनाको स्व-अध्ययन समय दिई तत्पश्चात परिक्षा सञ्चालन गर्ने । यसका लागि समितिबाट स्वीकृत पाठ्यक्रम अनुसार सिनियर सर्भेयरहरुबाट प्रश्नहरु माग गरि प्रश्नहरुको संगालो तयार गर्न सकिन्छ | परिक्षामा उत्तिर्णलाई मात्र तालीम सम्पन्न प्रमाणपत्र जारी गरी सो प्रमाणपत्रमा नै ट्रेनी सर्भेयरको रुपमा काम गर्न पाउने अख्तीयारी समेत उल्लेख गर्न सकिन्छ । तालिमको रुपमा काम गर्न गराउन ऐेन कानुन काँही कतै बाधक देखीदैन ।

ख) सर्भेयर लाईसेन्स परिक्षा

साधारण तालिम ट्रेनी सर्भेयरहरुको रुपमा काम सुरु गरेकाले फिल्ड सर्भे गर्न सक्ने र सर्भे प्रतिवेदन तयार गर्न सक्ने स्तरको ज्ञान सिप हासिल गरेका छन् वा छैनन भनी परिक्षण गर्न सर्भेयर लाइसेन्स परिक्षा सञ्चालन गर्नु पर्ने आजको आवश्यकता हो । यस कार्य प्रक्रियाले वास्तवमै बीमा सर्भे क्षेत्रको ज्ञान सिप भएका र बीमा सर्भे क्षेत्रमा रमाएकाहरु मात्र बीमा सर्भेयरका रुपमा प्रवेश गर्नेछन । अन्यथा एकै पटक अधिकार प्राप्त सर्भेयर लाईसेन्स लिएका र काम गर्दै सिक्दै गर्ने गरेका २०० मध्ये धेरै नयाँ सर्भेयरहरुले बीमित वर्ग र सहपाठी सर्भेयर वर्गलाई आउदा एक दुइ बर्ष हैरान पार्नेछन र त्यसपछि आफै हैरान भइ बीमा सर्भे क्षेत्र छोड्ने क्रम वढ्नेछ । हाल यसरी सर्भे क्षेत्रमा निस्कृय लाइसेन्सधारीको संख्या ठुलो छ |

ग) सर्भेयरको वर्गवृद्धि परिक्षाहरु

यसरि नै ५ वर्ष आफ्नो वर्गमा सक्रिय बीमा सर्भेयरले वर्ग वृद्धि परिक्षामा सामेल हुन पाइने प्रवन्ध गर्नुपर्ने आवश्यकता छ । अन्यथा बीमा सर्भे क्षेत्रमा निष्क्रिय लाइसेन्सधारीले ५ बर्ष लाइसेन्स नविकरण गराएकै कारण बर्ग वृद्धि गर्ने हालको क्रम जारि रहनेछ |

बीमा समितिले परिक्षामा आधारीत परिक्षण गर्न कानुनी बाधा अड्चन छैन :

बीमा ऐन २०४९ को दफा ३०(१) मा तोकीए बमोजिम योग्यता पुगेकाहरुले निवेदन दिन सक्ने व्यवस्था छ । उपदफा ३०(३) मा “उक्त निवेदन उपर जाँचबुझ गर्दा इजाजत पत्र दिन हुने देखिएमा…” उल्लेख भएकाले समितिले आफुले सञ्चालन गरेको तालीम उत्तिर्ण भएको एक वर्ष पुगेको प्रावधान राखी त्यसैलाई उपयुक्तताको एउटा आधारको रुपमा लीन सक्ने देखिन्छ ।

ऐनको उल्लेखित दफाको कार्यान्वयनका लागि बीमा नियमावली २०४९ को परिच्छेद ५ “सर्भेयर सम्बन्धि व्यवस्था” अन्तर्गत ७ वटा दफाहरु मध्ये उपदफा २८(२)ले “योग्यता पुगेको निवेदकले समितिले सञ्चालन गरेको सर्भेयर सम्बन्धि तालिममा सहभागी भई तालीम पुरा गरेको प्रमाणपत्र प्राप्त गरेको हुन पर्नेछ” भन्ने उल्लेख छ । यसै वाक्य बमोजीम परिक्षामा उतिर्ण भएकालाई मात्र तालिम पुरा गरेको समितिले मान्न सक्ने प्रावधान नियमावलीले दिएकोछ । यसरी बीमा सर्भेयर पेशाको गुणस्तर वृद्धिका लागि विभिन्न चरणमा उपयुक्त परिक्षा प्रणाली लागु गर्नका लागि बीमा ऐन नियमावली बाधक छैनन ।

निचोड:

हालका महिनाहरुमा बीमा क्षेत्रका विभिन्न सुधारका लागि समितिवाट बिभिन्न कदम चालीएका छन । सर्भेयरको संख्यामा वृद्धि गर्ने कदम समेत बीमा दावी भुक्तानीमा सिघ्रता र सहजताको लागि नै हो । सर्भेयरहरुको संख्यात्मक वृद्धिका क्रममा गुणात्मक वृद्धिका लागि कदम नचाल्ने हो भने आउदा दिनहरुमा समस्याहरु घट्नुको साटो बढ्न सक्ने देखिन्छ । विशेषतः ६ दिने सेमिनार प्रकारको तालिममा सहभागीताका भरमा मात्र बीमा सर्भे क्षेत्र बारे बिल्कुल अध्ययन नगरेका ठुलो संख्यामा पुर्ण अधिकार प्राप्त सर्भेयरहरु एकैपटक थपीएमा उनीहरुले आउँदो एक दुई वर्ष काम गर्दै सिक्दै (Learning by Doing) गर्नेछन् । उक्त परिस्थीतीका कारण एकातर्फ समितीको विवाद निरुपण कार्य बोझ बढ्दै जानेछ भने अर्को तर्फ बीमित वर्गको निर्जीवन बीमा क्षेत्र प्रतिको विस्वास थप घट्न सक्नेछ । सो परिस्थितिको न्यूनीकरणका लागि समितिले सहजै र तत्कालै गर्न सकिने कार्य हो – सर्भेयर पेशामा प्रवेसका लागि र सर्भेयरको बर्ग वृद्धिका लागि बिभिन्न प्रकारका परिक्षाहरु संचालन गर्नु | तालिमका लागि धेरै आवेदन परेकाले परिक्षाका माध्यमबाट उत्कृष्ट आवेदक छनोट गर्दै अगाडी बढ्ने यो अवसर पनि हो ।

(लेखकद्वय नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन – निशाका अध्यक्ष र सदस्य हुन )

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार