प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

संघीय सरकारले प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा (एसईई)का बाँकी परीक्षा स्थगित गरेको छ । अन्य प्रदेशमा भने परीक्षा जारी रहनेछ ।

बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश २ मा २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

बिहीबार रद्द भएर २२ गतेका लागि तय भएको विज्ञान विषयको परीक्षा भने हुनेछ । मन्त्री गिरिराजमणि पोखरेलले भने, २२ गतेदेखि जोडेर बाँकी परीक्षा गर्ने प्रयासमा छौं । व्यवस्थापकीय पक्षमा छलफल गरेर परीक्षा तालिका प्रकाशित गर्छौं ।

मन्त्री पोखरेलका अनुसार यसअघि सञ्चालन भइसकेको परीक्षा भने रद्द हुने छैन । प्रदेश २ मा एसईई परीक्षा दिने ७० हजार ५६८ परीक्षार्थी छन् भने २६२ परीक्षा केन्द्र तोकिएको थियो । पोखरेलले प्रश्नपत्र आउट गर्नुलाई आपराधिक घटना भएको र संलग्नलाई कारबाही गरिछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार