आखिर छायाँ सेन्टरलाई किन गलत प्रचारको शिकार बनाउन खोजिँदैछ :छाँया सेन्टरका प्रबन्धक निर्देशक महेश्वर श्रेष्ठ

सरकारले वैदेशिक लगानी भित्र्याउन आगामी चैत १५ र १६ गते राजधानीमा नेपाल लगानी सम्मेलन गर्ने तयारी गरिरहेको छ । लगानी सम्मेलनको तयारी चल्दै गर्दा मुलुक भित्रकै लगानीको सुरक्षामा गम्भिर प्रश्न चिन्ह उठेको छ ।

स्वदेशी लगानीमा बनेका पुर्वाधार तथा आयोजनामा केही व्यक्तिको स्वार्थले आक्रमणको प्रयास हुन थाले पछि स्वदेशी लगानीकर्ता लगानी असुरक्षित भएकोमा चिन्तित हुनु स्वभाविक हो । यस्तो अवस्थामा निजी लगानीको सुरक्षाको प्रत्याभुत नभएसम्म विदेशी लगानी भित्र्याउन कठिन हुने छाँया सेन्टरको धारणा छ ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी छाँया सेन्टरले राज्यले निर्दिष्ट गरेको नियमको अधिनमा रहेर गरिएको अर्बौं रुपैंयाको लगानीमा नियोजित रुपमा आक्रमण थालिएको प्रष्ट पारेको हो ।

पर्यटकीय गन्तव्य ठमेलमा केही समय अघि सञ्चालनमा ल्याइएको छाँया देवी कम्प्लेक्स अर्थात छाँयाँ सेन्टरलाई अहिले गलत प्रचारको शिकार बनाउन खोजिँदैछ । तीन दर्जन बढी स्वदेशी लगानीकर्ताको साढे पाँच अर्ब बढी लगानीमा सेन्टर निर्माण सम्पन्न भई गत डिसेम्बर २५ देखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो ।

ठुलो लगानीमा सञ्चालनमा आएकै कारण छाँयाँ सेन्टरलाई स्वार्थका साथ नकरात्मक प्रचारको उत्कर्षमा पुर्याउन खोजिएको छाँयाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ बताउँछन् । ‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र पारिएको छ । पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको घटना क्रमले पुष्टि गर्छ ।

निजी क्षेत्रबाट बनेका ठुला पुर्वाधारहरु निर्माण सम्पन्न भए पछि बखेडा उत्पन्न गरी गलत प्रचार गराइने गरेको पहिलो घटना छाँया सेन्टरको मात्र हैन । यस अघि पनि ठुला अनि फरक प्रकृतिका आयोजनाहरुलाई केन्द्रमा राखेर गलत प्रचार गराइएका धेरै घटनाहरु छन् ।यस्तो प्रचारको श्रृंखला एउटा विन्दुमा पुगे पछि सामसुम हुने गरेको छ । यसले आयोजना निर्माण पश्चात स्वार्थका साथ सिमित समुहले लगानीकर्तालाई आतंकित पार्न खाजिएको तथ्यलाई चरितार्थ गर्छ ।

अहिले छाँया सेन्टरको विषयमा इतिहासका पन्नाहरुलाई आधार बनाएर तत्कालिन कानुनी व्यवस्थाहरुलाई नै गलत सावित गराउन खेजिनु दुखद भएको छाँया सेन्टरका प्रबन्ध निर्देशक श्रेष्ठको भनाई छ ।
‘सरकारी निकायबाट पुरा गर्नु पर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ ?जग्गा किनेको ६ वर्ष पछि कम्प्लेक्स निर्माणको काम थाल्नु पहिले अहिले हल्ला गर्नेहरु किन मौन बसे?

हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मुल्यांकन तथा सार्वजनिक सुनुवाई गरेर छिमेकी तथा साँधसँधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनालाई अहिले धारे हात लगाइनु आश्चर्यको विषय बनेको छ ।’पत्रकार सम्मेलनमा श्रेष्ठले भने । ‘पहिले सिधै चन्दाको विषय आउँथ्यो अहिले गलत प्रचारबाट स्वार्थ पुरा गराउने समुहहरु हाबी भएको कुरामा दुई मत छैन ।स
मयले त्यस्ता व्यक्तिलाई आफैं परिचित गराउनेमा हामी विश्वस्त छौं ।’

‘यसरी नियोजित रुपमा केही व्यक्तिले अघि सारेको स्वार्थको विषयलाई सबै पक्षले किन महत्वका साथ समर्थन गरिरहेका छन् भन्ने कुराले हाम्रो ध्यानाकर्षण भएको छ । कानुन अनुसार निर्माण सम्पन्न भईसकेको र राज्यलाई करोडौं रुपैंया राजश्व तिरेका हामीले पैसा तिरेर जग्गा किनेका हौं । इतिहासका पाना पल्टाउनेहरुलाई हामी प्रश्न गछौं कि हाम्रो गल्ती कहा भयो ?’ श्रेष्ठले भने ।

यस्तो छ तथ्य

काठमाण्डौं महानगरपालिका वडा नम्बर २९ मा रहेका कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम, कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम, कित्ता नम्बर १६१६ को २ रोपनी १० आना र कित्ता नम्बर १६१७ को ६ आना जग्गा जग्गा सिंह सार्थ गरुड भगवान बहाल गुठीबाट विभिन्न व्यक्ति हुँदै अम्बिका राणको नाममा नामसारी रैतानी दर्ता भएको देखिन्छ ।

साविकको कित्ता नम्बर १६७ को २६ रोपनी ८ आना जग्गा मध्ये माथि उल्लेखित जग्गाहरु अम्बिका राणको नाममा मोही दर्ता भै भोग तिरो रहेको जग्गाका रुपमा छ । उक्त जग्गा केशर शमशेरको नाममा मोही जनाइएको छ ।

मोही केशर शमशेरले उल्लेखित जग्गामा पर्खाल लगाएर आफ्नो परिसर भित्र पारेका थिए । यो विषयलाई गुठीको जग्गा खिचोला गरेको भनी काठमाण्डौं जिल्ला अदालतमा फिराद परे पछि २०३० बैशाख २५ गते काठमाण्डौं जिल्ला अदालतले उक्त फिराद खारेज गर्ने फैसला गरेको थियो ।

जिल्ला अदालतको फिराद खारेजीको उक्त फैसलामा पुनरावेदन परे पछि २०३१ असोज २५ गते काठमाण्डौं जिल्ला अदालतले पहिलेकै फैसलालाई सदर गर्दै पुनरावेदनको अनुमति पाएर सर्वोच्च अदालतमा २०३३ पुस ३ गते केयुर शमशेर मोही भई भोगचलन गरी खान पाउने गरी भगवान गुठीका तर्फबाट सबै दाबी छाडेर मिलापत्र भएको तथ्यले देखाउँछ ।

१ नम्बर नापीको दर्ता नम्बर ९१२ ले मिति २०३९ जेठ २३ को गुठी तथा तहशिल कार्यालय भद्रकालीको पत्र संख्या ०३८–०३९ चलानी नम्बर २४३३, मिति २०३९ जेठ २१ को पत्र अनुसार कित्ता नम्बर १६७ को १२ रोपनी ११ आना २ पैसा ३ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा दर्तावाला मोही केयुर शमशेर रहेको देखाउँछ ।
कित्ता नम्बर १६७ को १२ रोपनी १३ आना २ पैसा २ दाम मध्येबाट रजिष्ट्रेशन नम्बर १३२३२ मार्फत मिति २०३९ असार १० मा ६ आना जग्गा सुधा पैडोल र रजिष्ट्रेशन नम्बर १३२३३ मार्फत सोही दिन २ रोपनी १० आना जग्गा विना पौडेललाई केयुर शमशेरले राजिनामा लिखतबाट कित्ता काट गरि नामसारी गरिदिएको देखिन्छ ।

केयुर शमशेरको मृत्यू पश्चात उनको हकदाबी अम्बिका राणा भएकाले कित्ता नम्बर १६१८ को ९ रोपनी १३ आना २ पैसा २ दाम र कित्ता नम्बर १०४० को ९ आना २ पैसा ३ दाम जग्गा अम्बिका राणाको नाममा नामसारी गरिपाउँ भन्ने निवेदन परेको थियो । सो पश्चात अम्बिकाको नाममा जग्गा नामसारी गर्न बाधा अड्चन भए सात दिन भित्र सुचना पठाउन भनी ठमेल सिंह सार्थ गरुड भगवान गुठीलाई गुठी लगत तथा तहशिल कार्यालयले पत्र पठाएको थियो ।

जवाफमा भगवान बहाल गुठीले २०४४ माघ १० गते अम्बिका राणाको नाममा जग्गा नामसारी हुँदा कुनै आपत्ति नपर्ने व्यहोरा उल्लेख गरेको थियो । सोही आधारमा २०४४ माघ २० गते उल्लेखित जग्गा अम्बिका राणको नाममा नामसारी भएकोे दस्तावेजमा उल्लेख छ ।

गुठी संस्थान ऐन २०३३ को दफा ३६ ले तोकेको दस्तुर बुझाए पश्चात २०४७ माघ १८ का दिन गुठी लगत तथा तहशिल कार्यालयबाट रैतानी नम्बरी कायम भएको व्यहोरा दस्तावेजमा प्रष्ट छ ।

यो रैतानीको निर्णय भुलबस भएकाले रैतानी गर्न नमिल्ने भन्दै रकम लिन आउनु भनी २०४७ फागुन १४ गतेको गुठी तहशिल कार्यालयले पत्र पठाएकोमा उक्त पत्र बदर गरी पाउँ भनी परेको मुद्धालाई काठमाण्डौं जिल्ला अदालतले राणाको मागलाई सदर गर्यो । त्यस पछि गुठी संस्थानको पुनरावेदनलाई समेत पुनरावेदन अदालत पाटनले २०५३ साल जेठ २५ गते सदर गरी राणाको पक्षमा अन्तिम फैसला गरेको थियो ।

यसरी रैतानीको निर्णय कायम रहँदै गर्दा परेका मुद्धाको सवालमा २०६२ असार १६ गते काठमाण्डौं जिल्ला अदालतमा भएको मिलापत्र अनुसार भगवान बहाल गुठीले अम्बिका राणासँग एक करोड ५० लाख रुपैंया नगद र ४ आना जग्गा लिएर मिलापत्र गरेको थियो ।

त्यस पछि २०७० बैशाख २०मा काठमाण्डौं जिल्ला अदालतबाट रोक्का राख्न नमिल्ने भनी विपक्षको नाममा आदेश भएको थियो । फेरी सर्वोच्च पुगेका उनीहरुलाई सर्वोच्चले २०७३ असार २० मा रोक्का राख्न नमिल्ने भन्ने नै आदेश गरेकोे थियो । फेरी पनि सर्वोच्चमा सोही विषयलाई लिएर पुगेकाहरुलाई सर्वोच्चले २०७१ कात्तिक २ गतेका दिन रोक्का राख्न नमिल्ने भनी विपक्षका नाममा नै आदेश दिएको थियो ।

२०७१ मंसिर २५ गते काठमाण्डौं जिल्ला अदालतले छाँयादेवी कम्प्लेक्सको पक्षमा अन्तिम फैसला गरेको थियो । त्यस पश्चात पछि पुनरावदेन अदालत पाटनले पनि २०७२ फागुन १० गते छाँयादेवी कम्प्लेक्सको पक्षमा नै फैसला गरेको थियो ।

‘अदालतले पटक पटक तार्किक निष्कर्षमा पुर्याएको विषयलाई बखेडा बनाएर किन प्रचार गरिँदैछ भन्नेमा हामी आफैं आश्चर्यमा छौं । लगानीका हिसावले हेर्दा यस्तो गलत अभ्यास देशका लागि नै शुभ छैन ।’ छाँयाँ सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठ भन्छन् ।

काठमाण्डौं महानगरपालिकाले २०६९ असोज ११ गते छाँयादेवी कम्प्लेक्सको डिपिसीसम्मको नक्सा पास गरेको थियो । साथै कम्प्लेक्स निर्माणका लागि सार्वजनिक सुनुवाई भएकोमा कसैबाट पनि त्यस बेला विवाददास्पद विषय निकालेका थिएनन् । सोही वर्षको असोज ३१ गते महानगरपालिकाले कम्प्लेक्सलाई स्थायी नक्सापास गरिदिएको थियो ।

‘जब २०७५ कात्तिक ८ गते काठमाण्डौं महानगरपालिकाले छाँयादेवी कम्प्लेक्सलाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दियो, त्यस पछि अरु प्रोजेक्टमा दुख दिनेहरुजस्तै अहिले छाँया सेन्टरमा सलबलाई रहेका छन् । हैन भने स्वार्थमा बस्नेहरु छाँया सेन्टर सञ्चालनमा आउनु पहिले कहाँ निदाएका थिए ?’ श्रेष्ठले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार