काठमाडौं । जेनजी आन्दोलनका क्रममा सोमबार काठमाडौं र सुनसरीको इटहरीमा गरी १८ प्रदर्शनकारीको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर घाइते भएका १६ जनाको काठमाडौंमा र इटहरी प्रदर्शनमा घाइते भएकाहरुको धरानमा उपचारका क्रममा मृत्यु भएको छ।
हालसम्म काठमाडौंको आन्दोलनमा घाइते भएका १६ जनामध्ये ट्रमा सेन्टरमा ७ जना, एभरेष्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ।
उता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इटहरीको प्रदर्शनमा घाइते भएका २ जनाको मृत्यु भएको छ।
हालसम्म काठमाडौंमा भएको प्रदर्शनमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ। जसमा ट्रमा सेन्टरमा मृत्यु हुने ग्लोबल कलेजमा अध्ययनरत श्रीराम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ र कीर्तिपुरका ४२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन्।
त्यस्तै केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु हुने सौरभ किशोर श्रेष्ठ र सुवास पोखरेल रहेका छन्।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध, भ्रष्टाचार र बेथिती लगाएको भन्दै जेनजीले आज काठमाडौंमा प्रदर्शन गरेका थिए। प्रहरी गोली चलाएपछि आन्दोलन झन चर्किएको छ। देशका विभिन्न स्थानमा जेनजीले सरकारविरुद्ध आन्दोलन चर्काएका छन्।

















