काठमाडौं । पियोर इनर्जीले पहिलो चरणको आइपीओ फागुन २० गतेदेखि खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ खुला गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीलाई सर्वसाधारणलाई जारी हुने जारी पुँजीको १८ प्रतिशतले हुन आउने १४ लाख ४० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ४४ हजार कित्ता जारी गर्नेछ। आयोजना प्रभावितले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित स्थानीय पियोर इनर्जीको आइपीओमा चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्म सबै कित्ता बिक्री नभएको खण्डमा आइपीओको निष्कासन मिति चैत २० गतेसम्म लम्बिन सक्नेछ। वैदेशिक रोजगारमा रहेका नेपालीले भने यो आइपीओमा चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारमा रहेका नेपालीले पियोर इनर्जीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। स्थानीयले भने बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, कोहलपुर र नेपालगन्जस्थित नबिल बैंक र लक्ष्मी सनराइज बैंकका शाखा, खजुरास्थित सिद्धार्थ बैंकको शाखा तथा चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारस्थित कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन्।

















