काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म बैंकहरुबाट थप २३ अर्ब ६८ करोड रुपैयाँ शेयर बजारमा भित्रिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्म बैंकहरुबाट १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुबाट थप २३ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ शेयर धितो कर्जा गएको हो। असारको तुलनामा पुससम्म २६.३ प्रतिशतले शेयर धितो कर्जा बढेको छ।
पुससम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ७५ अर्ब ४४ करोड २४ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ३४.९ प्रतिशतले बढेको छ।
यसैगरी पुससम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब २८ करोड १९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब १४ करोड ४७ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।
गत असारको तुलनामा पुससम्मको ६ महिनामा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४.९ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ११.९ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८.१ प्रतिशतले बढेको छ।

















