काठमाडौं । शेयर बजारमा सबै क्षेत्रको बजार पुँजीकरण बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकले यस्तो देखाएको हो।
तथ्यांकअनुसार नेप्सेमा बीमा कम्पनीहरुको बजार पुँजीकरण पछिल्लो १ वर्षमा १५.०२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष पुससम्म बीमा कम्पनीहरुको बजार पुँजीकरण ५ खर्ब ३६ अर्ब ४१ करोड ७६ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको पुससम्म बढेर ६ खर्ब १६ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ पुगेको छ।
यो १ वर्षको अवधिमा व्यापार समूहका लगानीकर्ताको सम्पत्तिमा उछाल आएको छ। यो समूहको बजार पुँजीकरण १३४० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष पुससम्म १६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर २ खर्ब ४२ अर्ब ९८ करोड १० लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष पुससम्म वित्त समूह बजार पुँजीकरण ५९ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ९३ अर्ब ३६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षमा वित्त समूहको बजार पुँजीकरण ५६.७ प्रतिशतले बढेको छ।
यसैगरी जलविद्युत समूहको बजार पुँजीकरण ३७.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष पुससम्म जलविद्युत समूहको कुल बजार पुँजीकरण ५ खर्ब ८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ७ खर्ब १ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै पछिल्लो १ वर्षको अवधिमा विकास बैंकको २९.२ प्रतिशत, लघुवित्त समूहको २८.९ प्रतिशत, उत्पादन तथा प्रशोधनको २४.९ प्रतिशत, लगानी समूहको २३.५ प्रतिशत, अन्य समूहको १५.९ प्रतिशत र होटेल समूहको १६.३ प्रतिशतले बजार पुँजीकरण बढेको छ।
यो १ वर्षको अवधिमा बैंकिङ समूहको बजार पुँजीकरण पनि १५.२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष पुससम्म बैंकिङ समूहको बजार पुँजीकरण ९ खर्ब १६ अर्ब ५६ करोड ३४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर १० खर्ब ५६ अर्ब १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ।
पछिल्लो एक वर्षको अवधिमा नेप्सेको कुल बजार पुँजीकरण २९.२ प्रतिशतले बढेर ४३ खर्ब २ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष पुससम्म नेप्सेको बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब ७५ करोड १ लाख रुपैयाँ थियो।
नेप्सेको कुल बजार पुँजीकरणमा वाणिज्य बैंक समूहको २४.५ प्रतिशत, विकास बैंक समूहको ४.६ प्रतिशत, फाइनान्स कम्पनी समूहको २.२ प्रतिशत, लघुवित्त समूहको ८.६ प्रतिशत, बीमा कम्पनी समूहको १४.३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ५.२ प्रतिशत, होटल समूहको २.८ प्रतिशत, व्यापार समूहको ५.६ प्रतिशत, लगानी समूहको ७.४ प्रतिशत, जलविद्युत समूहको १६.३ प्रतिशत र अन्य समूहको ८.५ प्रतिशत हिस्सा रहेको छ।

















