काठमाडौं । नेपालको हवाई क्षेत्रमा अब मुलुकको राष्ट्रिय चिह्न अंकित विदेशी विमानमात्रै उडाउन पाउने कानुन ल्याउन लागिएको छ।
प्रतिनिधिसभामा दर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विधेयकमा विमान दर्ता भएको मुलुकको राष्ट्रिय चिह्न अंकित विमानमात्र नेपालको हवाई क्षेत्रमा उडान भर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।
यसैगरी अन्य मुलुकमा दर्ता भएको विमान नेपालमा लिज वा भाडामा ल्याई सञ्चालन गर्दा वा नेपालमा दर्ता भएको विमान अन्य मुलुकमा लिज वा भाडामा दिँदा त्यस्तो राष्ट्रको नियमनकारी निकाय तथा प्राधिकरणबीच आपसी समझदारीका आधारमा तय गरिएको सर्तबमोजिम हुने व्यवस्था पनि विधेयकमा गरिएको छ। नेपालमा वा अन्य मुलुकमा दर्ता नभएको विमान नेपालमा उडाउन नहुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।
विमान दुर्घटनामा परी वा अन्य प्राविधिक कारणले सञ्चालनमा ल्याउन नसकेमा, विमान बिक्री भई नेपालबाहिर पठाउनुपर्ने भएमा दर्ता खारेज गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।
कसैले नेपालको हवाई क्षेत्रमा चालकरहित विमानको सञ्चालन वा उडान गर्न वा गराउन चाहेमा नेपाल उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था पनि गरिएको छ।

















