काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को १० महिनामा लघु निर्जीवन बीमकको व्यापार १ अर्ब रुपैयाँ नाघेको छ।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले चालु आर्थिक वर्षको वैशाखसम्म १ अर्ब १० करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। यो अवधिमा यी कम्पनीले ४ लाख १८ हजार ९९० वटा बीमालेख जारी गरेका छन्।
वैशाखसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १ लाख २० हजार ६८५ वटा बीमालेख जारी गरेर ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले वैशाखसम्म १ लाख १ हजार ३१६ वटा बीमालेख जारी गर्दै २७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।
वैशाखसम्म स्टार माइक्रो इन्स्योरेन्सले १ लाख १६ हजार २६४ वटा बीमालेख बिक्री गरेर २६ करोड १९ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ८० हजार ७२५ वटा बीमालेख जारी गरेर २५ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।












