काठमाडौं । नेपालको मारवाडी समुदायबाट पहिलो पटक प्रीति अग्रवाल रटेरियाले सगरमाथाको चुचुरोमा टेक्दै इतिहास रचेकी छिन् । उनले सन् २०२६ मे २१ को बिहान सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएकी हुन्।
‘द समिट फोर्स प्रा. लि.’ का संस्थापक ङा तेन्जी शेर्पाका अनुसार प्रीतिले हिमाल आरोहण सहयोगी (क्लाइम्बिङ गाइड) हरू पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा सगरमाथाको सफल आरोहण गरेकी हुन्। यस कीर्तिमानी आरोहणसँगै प्रीति सगरमाथाको शिखरमा पुग्ने विश्वकै पहिलो ‘प्राणिक हिटर’ र ‘अर्हातिक योगी’ समेत बनेकी छन्।
पर्वतारोहणमा लगातार सफलता
सगरमाथाको सफल आरोहण प्रीतिको पर्वतारोहण यात्राको एउटा ठूलो र महत्त्वपूर्ण कोशेढुङ्गा हो। यसअघि उनले विश्वको आठौँ अग्लो हिमाल मनास्लुको समेत सफल आरोहण गरेर इतिहास बनाइसकेकी छन्। उनले सन् २०२५ सेप्टेम्बर २३ मा ‘द समिट फोर्स’ का गाइड पासाङ शेर्पासँगै मनास्लुको सफल आरोहण गरेकी थिइन्।
छोटो समयमै ठूला उपलब्धि
प्रीतिले आफ्नो पर्वतारोहण यात्रा सन् २०२४ मे महिनामा लोबुचे हिमालको आरोहणबाट सुरु गरेकी थिइन्। त्यसपछि उनले सन् २०२४ अक्टोबरमा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो र सन् २०२५ अप्रिलमा मेरा पिकको सफल आरोहण गरिसकेकी छन्। छोटो समयमै एकपछि अर्को सफलता हासिल गर्दै उनले सगरमाथाको शिखरमा मारवाडी समुदाय र समग्र नेपालको नाम चम्काएकी छन्।












