IME Life New

सफल बीमा अभिकर्ता कसरी बन्ने ? के लाइसेन्स पाएलगत्तै बीमालेख बेच्न कुदिहाल्ने ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा अभिकर्ता बन्नु आर्थिक र व्यक्तिगत दुवै रुपमा लाभदायक वृत्ति हुन सक्छ। अभिकर्ताहरुले प्रियजनहरुलाई सुरक्षित राख्न र आर्थिक सुरक्षा प्रदान गर्न सक्ने रक्षावरण वा जोखिम बहन सुविधा प्रदान गरेर बीमितलाई अप्रत्याशित परिस्थितिहरुको लागि पूर्वतयारीमा महत्वपूर्ण भूमिका खेल्छन्।

पेसामा प्रवेश गर्नुपूर्वको तयारी

Esewa
Crest

आफ्नो यात्रा सुरु गर्न सबैभन्दा तपाइँले आफ्नो शैक्षिक योग्यता सुनिश्चित गर्नुपर्छ। विद्यमान बीमा नियमावलीअनुसार कम्तीमा दस जोड दुई अर्थात उच्च माध्यामिक तहको शिक्षा पूरा गरेको हुनुपर्छ।

तालिमका लागि जानकारी

दोस्रो चरणमा तपाइँले नजिकको कुनै जीवन बीमा कम्पनीको कार्यालयमा सम्पर्क गर्नुपर्छ। बीमा कम्पनीले उपलब्ध गराउने तालिम निवेदन फारम भरेर तालिम शुल्क र इजाजतपत्र शुल्कसहित ३ हजार रुपैयाँ बीमा कम्पनीमा भुक्तानी गर्नुपर्छ। केही बीमा कम्पनीले सुरुमा तालिम शुल्क र परीक्षा उत्तीर्ण भएपछि मात्र इजाजतपत्र शुल्क लिने गरेका छन्।

इजाजतपत्र प्राप्त गर्नुपूर्व तपाइँले कम्तीमा ४ दिनको नियमित तालिममा सहभागिता जनाएर बीमाबारे स्पष्ट बुझ्नुपर्छ। प्रत्येक दिन तालिममा पूरा समय उपस्थित हुने, विषय वस्तु राम्ररी ज्ञान लिने र बीमाको सम्बन्धमा तालिममा दिइएको विषयहरुको बारेमा आफ्नो जिज्ञासाहरु मेटाउने तपाइँको कर्तव्य हुनेछ।

तालिमका क्रममा वस्तुगत प्रश्नहरुसहितको प्रश्नपत्र बीमकले उपलब्ध गराउँछन्। तपाइँले सबै प्रश्नको उत्तर दिनसक्ने गरी आफ्नो क्षमताको विकास गर्नुपर्छ। यसका लागि गम्भीरतापूर्वक तालिममा सहभागिता जनाउनुको विकल्प हुँदैन।

इजाजतपत्र परीक्षामा सहभागिता

तालिम सम्पन्न भएपछि तपाइँले परीक्षाका लागि प्राधिकरणको वेब पोर्टलमा बीमा कम्पनीका कर्मचारीको सहयोग लिएर अनलाइन आवेदन फारम भर्नुपर्छ। फाराम भर्ने समयमा नै तपाइँले परीक्षाको मिति र समय छनौट गर्नुपर्छ।

तोकिएको समयमा वेब लिंकमार्फत परीक्षामा सहभागिता जनाएर तपाइँले परीक्षा दिनुपर्छ। ५० वस्तुगत प्रश्नका लागि प्रत्येकमा ४ वटा विकल्प दिइएका हुन्छन्। तपाइँले कम्प्युटरको स्क्रिनमा देखिएको विकल्पमध्ये सही विकल्प छनौट गर्नुपर्छ। कम्तीमा २५ वटा प्रश्नको सही उत्तर दिने परीक्षार्थी मात्र परीक्षा उत्तीर्ण हुन्छन्।

तालिमका क्रममा सिकेका विषयवस्तुहरुको सिकाइको स्तर मापन गरेपछि उतीर्ण हुने प्रशिक्षार्थीको हकमा नेपाल बीमा प्राधिकरणले इजाजतपत्र जारी गर्छ। यस्तो प्रमाणपत्र अभौतिक (डिजिटल) हुन्छ। प्रमाण पत्रमा तपाइँको इजाजतपत्र नम्बरसमेत उल्लेख गरिएको हुन्छ।

अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परिक्षामा कसरी सहभागी हुने ? यस्तो छ प्रकृया !

कम्पनीका बारेमा जानकारी

परीक्षामा उत्तीर्ण भएर इजाजतपत्र प्राप्त गरिसकेपछि आफूले काम गर्ने जीवन बीमा कम्पनीका बारेमा सम्पूर्ण जानकारी लिनुपर्छ। कम्पनीको सञ्चालकहरुको पृष्ठभूमि, चुक्तापुँजी, बीमा कोष, बोनसदर, ग्राहक सेवाको स्तर, बीमा दाबी अनुपातसहितको जानकारी लिनुपर्छ। कम्पनीका बारेमा जानकारी लिएपछि सुरुमा ४ देखि ५ किसिमका मुख्य बीमा योजनाहरुबारे जानकारी लिएर बीमाको विशेषताबारे पूर्ण जानकार हुनुपर्छ।

बीमालेखका बारेमा राम्ररी बुझ्नुहोस्

सामान्य खाले सावधिक, सीमित भुक्तानी सावधिक, अग्रिम भुक्तानी सावधिक र बालबालिकाको जीवन बीमाबारे विस्तृतमा बुझ्नुपर्छ। अरुलाई समेत बुझाउन सक्ने क्षमता बनाउनुपर्छ। यसका लागि तपाइँले कम्तीमा ७ देखि १० दिन बीमा कम्पनीका कर्मचारी वा अनुभवी अभिकर्तासँग बसेर प्रशिक्षण लिनु अनिवार्य हुन्छ।

तपाइँले प्रतिस्पर्धी बीमा कम्पनीहरुका बारेमा पनि जानकारी राख्नु आवश्यक हुन्छ। प्रतिस्पर्धी कम्पनीको वित्तीय अवस्था, बीमा योजनाहरु र बोनसदरबारे जानकार हुनुपर्छ।

जनसम्पर्क निर्माण

अब पालो गाउँ–टोलका बजारमा जनसम्पर्क विस्तार गर्ने। यो चरणमा तपाइँले बीमालेख बिक्री सुरु गरिहाल्नुको साटो पहिले मान्छेहरुको पहिचान बढाउन थाल्नुहोस्। परिचित हुन थाल्नुहोस्। उनीहरुसामु तपाइँको नियमित उपस्थितिले तपाइँको विश्वसनीयता बढाउन सघाउँछ। तपाइँको समुदायभित्र व्यक्ति–व्यक्ति, घर, टोल–समाजसँग परिचित हुँदै गएर पहिचानको सञ्जाल बढाउनुहोस्।

व्यावसायिक संस्थाहरुमा सक्रिय सभागिता जनाउँदा तपाइँलाई सम्भावित ग्राहकसँग सम्पर्क गर्न मद्दत गर्न सक्छ। ठूला सहरका अभिकर्ताले ठूला सामुदायिक संस्था, लायन्स, लियो, रोटरी क्लबलगायतका ठूला संस्थामा क्रमशः सहभागिता बढाउनु फाइदाजनक हुन्छ।

सुरुआतमै आफूलाई बीमा अभिकर्ताका रुपमा चिनाउने प्रयास नगर्नुहोस्।

सामाजिक सञ्जालको प्रयोग

आफूलाई बीमा अभिकर्ताका रूपमा चिनाउन तपाइँ सामाजिक सञ्जाल प्लेटफर्महरु(फेसबुक, टिकटक, युट्युब च्यानल, रिल्स, इन्स्टाग्राम) को भरपुर प्रयोग गर्नुहोस्। सुरुका केही दिन वा कम्तीमा १ महिना तपाइँले सामाजिक सञ्जालमा सक्रियतापूर्वक बीमासम्बन्धी जानकारीमूलक सामग्री सार्वजनिक गर्नुहोस्। अप्ठेरो नमारेर सरल भाषामा बीमासम्बन्धी सामान्य जानकारी सार्वजनिक गर्न थाल्नुहोस्। तपाइँको दर्शकलाई बीमाबारे बुझाउन थाल्नुहोस्।

सुरुआती चरणमा आफ्नै अनुहार देखाएर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्न आत्मविश्वासको कमी भएमा तस्बिर र शब्दहरुको संयोजन गरेर ध्यान खिच्ने मन तान्ने सामग्री नियमित रुपमा प्रविष्ट गर्न थाल्नुहोस्। प्रत्येक सामग्रीमा आफ्नो पूरा नाम, अभिकर्ता परिचय र सम्पर्क नम्बर उल्लेख गर्न नछुटाउनुहोस्। सामाजिक सञ्जालमा फलोवर वा दर्शक कति छन् भन्नेतिर नलाग्नुहोस्, राम्रो सामग्रीले क्रमशः आफैँ दर्शक तान्दै जानेछ। तपाइँ सामाजिक सञ्जालको तस्बिर वा भिडियोमा देखिँदा जहिले पनि सफा, चिटिक्क परेको र सकेसम्म जागिरे आत्मविश्वासी देखिने पहिरनमा देखा पर्नुहोस्।

नियमित अध्ययन र अध्यावधिक

बीमाको बजार प्रतिस्पर्धात्मक छ। यसमा प्रविधिको प्रयोग पनि क्रमशः बढ्दै गएको छ। त्यसैले तपाइँले बीमा सेवाको क्षेत्रमा देशभित्र र बाहिर भइरहेका नौलो प्रगति, गतिविधिबारे नियमित जानकारी लिनुहोस्। युट्युब च्यानल, समाचार माध्यम, सामाजिक सञ्जाल तपाइँका लागि उपयोगी हुन सक्छन्।

तपाइँले लामो समय बीमा कम्पनीमा काम गर्दै जाँदा पहिले थाहा पाएका बीमा योजनाहरुको साटो कम्पनीले नयाँ बीमा योजनाहरु पनि ल्याएको हुन सक्छ। ती बीमा योजनाको प्रत्येक विशेषताबारे आफूलाई अध्यावधिक राख्नुहोस्। पूरा चासोका साथ जानकारी लिनुहोस्। अरुलाई समेत बुझाउन सक्ने गरी सक्षम बन्नुहोस्।

निरन्तर अपडेट रहँदा तपाइँलाई अन्य अभिकर्ताभन्दा फरक पहिचान स्थापित गर्न सहज हुन्छ।

सधैँ सम्झनुहोस्, एक सफल बीमा अभिकर्ताले बीमालेख मात्र बेच्दैन, विश्वास र समर्थनमा आधारित दिगो सम्बन्ध पनि निर्माण गर्छ। सफलताको शुभकामना !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS