काठमाडौं । नजिकिंदै गरेको चाडपर्वलाई लक्षित गरेर भित्र्याउने तयारीमा रहेका चिनियाँ विद्युतीय सवारी साधनहरू बगाउँदा अटोमोबाइल बिक्रेताका लागि ठूलो नोक्सानी हुने भएको छ।
बुधबार बिहान चीनको स्वशासित क्षेत्र तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवागढी भन्सार कार्यालय बगाउँदा कार्यालय परिसरमा ठूलो संख्यामा राखिएका सवारी साधन बगाएको छ।
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार क्षेत्र र आसपासमा रहेका ७०० बढी विद्युतीय कार र १०० बढी कन्टेनर बगाएको अनुमान गरिएको छ । गत वर्ष असार २४ गते आएको भीषण बाढीले रसुवागढी नाकामा क्षति पुर्याउँदा ८० भन्दा बढी विद्युतीय कार र कण्टेनर बगाएको थियो। व्यवसायीले सवारीसाधनको उच्च माग हुने दशैं तिहारलाई लक्षित गरेर ठूलो परिमाणमा विद्युतीय सवारी साधन आयात गरेका थिए ।
मोटर आयातकर्ताहरूले वास्तविक संख्या संकलनको काम भइरहेको बताउँदै ७ सयको संख्यामा विद्युतीय सवारी साधन बगाएको हुन सक्ने आशंका गरेका छन्। यो नाकाबाट चीनमा उत्पादित बीवाइडी, ओमोडा, ग्रेटवाल मोटर्स जेको, आइकार, बीएआइसी, स्काइवेल लगायत ब्राण्डका सवारीसाधन आयात हुने गरेको छ।’
भन्सार नाका रहेका मालसामान तथा सवारी साधन ठूलो संख्यामा बढाउँदा यसको क्षतिपूर्तीका लागि निर्जीवन बीमकले ठूलो नोक्सानी व्यहोर्नुपर्ने भएको छ। अन्तर्राष्ट्रिय नाकाबाट भित्र्याउन लागिएकाले प्रत्येक सवारी साधनको पूर्ण बीमा गरिएको हुन्छ।
तिब्बती क्षेत्रमा अवस्थित हिमतालमा भूकम्प पछिको विष्फोटले लेदोसहितको बाढी ल्याउँदा क्षतिको आँकडा बढ्न गएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीका कारण भन्सार कार्यालयमा कार्यरत ४० मध्ये १५ जना कर्मचारी सम्पर्कविहीन रहेको रसुवागढी भन्सार कार्यालयका अधिकारीले जानकारी दिएका छन् ।












