काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले रसुवामा आज बिहान गएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई बीमा दाबी भुक्तानी कार्यमा सहजीकरण गरिदिन आग्रह गरेको छ।
संघले आज प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘यस्तो कठिन परिस्थितिमा बीमा क्षेत्र प्रभावित बीमित तथा सर्वसाधारणको साथमा रहेको र बीमाबाट सुरक्षित सम्पत्तिमा भएको क्षतिको जोखिम बहन गर्न प्रतिबद्ध रहेको समेत अवगत गराउन चाहन्छौँ’, संघले भनेको छ।
यस विपद्का कारण नागरिक तथा व्यावसायिका घर, भवन, सवारीसाधन, उद्योग–व्यवसाय तथा अन्य सम्पत्तिमा पुगेको क्षतिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘यस प्राकृतिक विपदबाट बीमा गरिएको आफ्नो सम्पत्ति, सवारीसाधन, व्यवसाय वा अन्य बीमित सम्पत्तिमा क्षति पुगेका सम्पूर्ण बीमितलाई सम्बन्धित बीमा कम्पनीमा यथाशीघ्र सम्पर्क गरी बीमा दाबी भुक्तानी कार्यमा सहजीकरण गरिदिन हुन संघ हार्दिक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै प्रभावित बीमितहरुलाई दाबी प्रक्रियामा आवश्यक सहजीकरण तथा सहयोग गर्न सम्बन्धित बीमा कम्पनीहरुलाई संघको अनुरोध छ।’
यस कठिन घडीमा बीमितहरुको क्षतिको यथाशीघ्र मूल्यांकन तथा दाबी फर्छ्यौट प्रक्रियालाई प्रभावकारी रुपमा अघि बढाउन संघले आवश्यक समन्वय गर्ने भएको छ। ‘यस दुःखद घडीमा संघ प्रभावित नागरिक तथा व्यवसायीहरुसँगै रहेको प्रतिवद्धता व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
रसुवाको सीमा क्षेत्र रसुवागढी र तल्लो तटिया क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति संघ गहिरो दुःख व्यक्त गरेको छ। ‘यस विपद्का कारण ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दैछौँ’, संघले भनेको छ, ‘यसका साथै घाइते तथा प्रभावित सम्पूर्ण नागरिकको शीघ्र स्वास्थलाभ तथा सुरक्षित पुनः स्थापनाको कामना गर्दछौँ।’












