काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को वैशाखसम्म लघु जीवन बीमकले साढे ९६ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ३ वटा लघु जीवन बीमकले चालु आर्थिक वर्षको १० महिनामा कुल ९६ करोड ५६ लाख रुपैयाँ बढीको व्यापार भित्र्याएका हुन्। यो अवधिसम्म यी कम्पनीहरुको सक्रिय बीमालेख संख्या २४ लाख ३७ हजार २४ वटा रहेको छ।
समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा क्रेस्ट माइक्रो लाइफ रहेको छ। यो कम्पनीले वैशाखसम्म ३४ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। वैशाखसम्म कम्पनीको सक्रिय बीमालेख संख्या ५ लाख ५५ हजार ३५० रहेको छ।
यसैगरी वैशाखसम्म गार्डियन माइक्रो लाइफले ३४ करोड ६६ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २६ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। यस अवधिसम्म गार्डियन माइक्रो लाइफको सक्रिय बीमालेख १४ लाख ९१ हजार ८९९ वटा र लिबर्टी माइक्रो लाइफको ३ लाख ८९ हजार ७७५ वटा रहेको छ।












