काठमाडौं । बुटवल पावर कम्पनीले आफ्नो ३३ औँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले साधारणसभा यही पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि वितरण गरिने भनी प्रस्ताव गरिएको हाल कायम चुक्तापुँजीको ६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ।
सोही सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ। सभाले विभिन्न संस्था तथा व्यक्तिलाई दिइएको आर्थिक सहयोग रकम ९ लाख ८७ हजार २०० रुपैयाँ स्वीकृत गर्नेछ।
लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

















