काठमाडौं । यतिबेला जीवन बीमा कम्पनीहरुको साझा संस्था जीवन बीमक संघ आचार संहिता निर्माणमा जुटेको छ । संघले आचार संहितामा बीमा अभिकर्ताको गोजी पनि समेट्न सकेमा जीवन बीमा अझै मर्यादित, व्यवस्थित र व्यवसायिक हुने देखिएको छ ।
जीवन बीमा कम्पनीहरुको मेरुदण्ड हुन् बीमा अभिकर्ता । तर, केही अभिकर्ताको कारण सिंगो पेशा र जीवन बीमा माथि नै समय समयमा प्रश्न चिन्ह उठ्ने गरेको छ । यसैमध्येको एक हो, बीमा अभिकर्ताले बीमितबाट बीमा शुल्क बुझ्ने तर, कम्पनीमा नबुझाई गोजीमा राख्ने । यो समस्या शहरी क्षेत्रमा केही कम भएपनि ग्रामिण क्षेत्रमा अझै बढि रहेको बीमा प्रशासकहरुको गुनासो छ ।
बीमितबाट बीमा शुल्क अभिकर्ताले बुझिसकेको र बीमा कम्पनीमा दाखिला नगरेकै अवस्थाको ट्रान्जिसनल पिरियडको व्यवस्थापन जीवन बीमा कम्पनीले जारी गर्ने आचार संहितामा समेटिन सकेमा बीमा अभिकर्ताको लागि समेत मार्गदर्शन हुने देखिएको छ । बीमा शुल्क बुझ्ने वित्तिकै बीमितले आफ्नो जोखिम कम्पनीलाई सुम्पेको ठान्दछन् । तर यता, कम्पनीले भने आफ्नो खातामा रकम जम्मा नभएको अवस्थामा घट्ना घटेमा त्यसको जिम्मेवारी लिन सक्दैन ।
बीमा अभिकर्ता बीमा कम्पनीका आधिकारिक कर्मचारी होइनन् । तर मेरुदण्ड हुन्, अभिकर्ता बिना कुनै पनि जीवन बीमा कम्पनीहरु चल्दैनन् । जीवन बीमा कम्पनीहरुलाई अभिकर्ता नभई नहुने, उनीहरुको प्रमाणित गरेको स्वास्थ्य र आर्थिक स्रोत र वित्तीय अवस्थामा प्रमाणित हुने तर उनीहरुले लिएको बीमा शुल्क प्रमाणित नहुने अवस्थाले बीमित, बीमा अभिकर्ता र बीमा कम्पनीका बीचमा संक्रमणकालिन अवस्थाको सिर्जना गर्ने गर्दछ ।
यही अवस्थाका कारण थुप्रै बीमा अभिकर्ताहरुले विगतमा जरिवना तिरेको इतिहास छ । त्यसैले बीमा अभिकर्ताहरुलाई वैधानिक रुपमा समय सीमा तोक्दा कम्पनी, बीमा अभिकर्ता र बीमित तीनै पक्षलाई फाइदा हुने र बीमा अभिकर्ताले गर्न सक्ने बदमासी रोकिने यस क्षेत्रका बिज्ञहरु बताउँछन् ।
पेशागत बीमा अभिकर्ता संघ अध्यक्ष नन्दलाल तिवारीले अभिकर्ताले बीमितको घरदेखि बीमा कम्पनीसम्म पुगेर रकम जम्मा गर्न बैधानिक रुपमा उपयुक्त समय सीमा निर्धारण गर्दा सबैलाई फाइदा हुने बताउँछन् । जीवन बीमक संघले भने भर्खरै कार्यदल बनेकाले छलफल गर सबैतिर अन्तरक्रियामार्फत जीवन बीमा आचार संहिताको ड्राफ्ट तयार गर्ने जनाएको छ ।