काठमाडौँ फाल्गुन १३। एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आइतबार ( फाल्गुन १३) देखि बिक्री खुला भएको छ । एशियनले चुक्तापुँजी बढाउन हाल कायम चुक्ता पुंजीको ५०% अर्थात् ४० करोड २७ लाख ९६ हजार रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीको चुक्ता पुँजी हाल ८० करोड ५५ लाख रुपैयाँ छ ।
हकप्रद निष्कासन बन्द चैत १८ गते हुनेछ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो । गत माघ ७ गतेसम्म नेपाल स्कट एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविक सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने छन् ।
हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब २० करोड रुपैयाँ पुग्ने छ ।चालु आर्थिक वर्षको असारसम्म जीवन बीमा व्यवसाय गर्ने कम्पनीले चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था नियामक बीमा समितिले गरेको छ । तोकिएको पूँजी पुर्याउन कम्पनीले हकप्रद सेयर निष्कासन पछि थप सवा ७९ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ । अहिलेको हकप्रद सेयर बाँडफाँडपछि पनि केही प्रतिशत हकप्रद सेयर बाट नै कम्पनीले आफ्नो चुक्ता पुँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने बाध्यतामा कम्पनी रहेको भुझ्न सकिन्छ ।
कम्पनीको आबहनपत्र अनुसार हेर्दा कम्पनीले आउदो ३ वर्षमा नाफा ३ सय प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरेको छ । ०६४ चैत २१ गतेदेखि जीवन बीमा व्यवसाय गर्दै आएको कम्पनीले आउदो आर्थिक वर्ष ०७६÷०७७ मा नाफा झण्डै ३ सय प्रतिशत बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा एशियनले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । ३ वर्षमा कम्पनीले नाफा झण्डै १६ करोड रुपैयाँ बढाउने प्रक्षेपण गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआएबीएल क्यापिटल रहेको छ । कम्पनीका सेयरधनीले एनआएबीएल क्यापिटल, एशियन लाइफ इन्स्योरेन्सका सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति पाएका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन गर्न सक्नेछन् ।