इन्स्योरेन्स खबर/काठमाडौँ: धादिङको गजुरीमा प्रधान कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले असार १० गते आइतबारदेखि सर्वसाधारणका लागि चार करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चार लाख ८० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
लघुवित्त कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्दै छ । निष्काशित कुल शेयरमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई पनि २४ हजार कित्ता शेयर सुरक्षित गरिएको छ । बाँकी ४ करोड ३२ लाख रुपैयाँ बराबरको ४ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
कम्पनीको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले गरेको छ । कम्पनीको आइपिओमा न्युनतम २० कित्ता अर्थात् रु २,००० र अधिकतम २ हजार ४ सय कित्ता अर्थात् रु २४०,००० आवेदन गर्न पाइने बिक्री प्रवन्धकले जनाएको छ ।
कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार १३ र ढिलोमा साउन ७ गतेसम्म तोकिएकोे छ । लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यालय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।
लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी (हालको लुम्बिनी बिकाश बैंक) को लगानी रहेको छ । लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ । लघुवित्तको पछिल्लो बित्त्य विवरण अनुसार कम्पनीको सेयरमा लगानी आकर्षक देखिन्छ ।