काठमाडौं । सोनापुर मिनिरल्स एन्ड आयलले गत आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुल हाल कायम चुक्तापुँजीको कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२६३ नगद लाभांश छन्।
यो लाभांश अनुमोदन गर्न कम्पनीले आफ्नो १९ औँ वार्षिक साधारणसभा यही मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा दाङको घोराहीस्थित होटल माला इनमा बिहान १० बजेबाट सुरु हुनेछ।
सोही सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले चुक्तापुँजी तथा सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण रकम अनुमोदन गर्ने तथा कम्पनी सञ्चालनका क्रममा हाल कायम रहेको चुक्तापुँजी र सञ्चित मुनाफाको जम्मा रकभन्दा बढी ऋण लिन आवश्यक भएमा सोका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १० गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।











