काठमाडौं । सहजरूपमा पैसाको कारोबारका लागि वित्तीय प्रविधिको प्रयोगमा नेपालमा सर्वसाधारण उपभोक्ताको आकर्षण तीब्ररूपमा बढिरहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार पछिल्लो एक वर्षको अवधिमा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या ११.९१ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैंकको ‘आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ अनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या अघिल्लो वर्षको २ करोड ७७ लाखबाट बढेर ३ करोड १ लाख पुगेको छ। यो संख्या मोबाइल बैंकिङ सेवाका लागि बैंक वित्तीय संस्थालाइ सेवा शुल्क भुक्तानी गरिरहेका वा सेवाका लागि दर्ता गराएका ग्राहकहरूको हो। मोबाइल बैंकिङ सेवाको वास्तविक प्रयोगकर्ताको संख्या भने यो भन्दा थोरै हुनसक्छ।
सोही अवधिमा क, ख र ग वर्गका संस्थामा निक्षेप खाता सङ्ख्या ५ करोड ९८ लाख ८१ हजारबाट बढेर ६ करोड ३४ लाख २५ हजार तथा लघुवित्तका सदस्य सङ्ख्या ६२ लाख २१ हजारबाट बढेर ६५ लाख ३० हजार पुगेको छ। यति ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन रहेपनि नियमितरूपमा बैंकिङ कारोबार गर्ने ग्राहकको संख्या भने थोरै छ।











