काठमाडौं । बीमा कम्पनीहरूले आफूले बहन गर्ने वित्तीय जोखिमलाई न्यूनीकरण गर्न पुनर्बीमाको सहारा लिन्छन्। पुनर्बीमा कम्पनीहरूले प्राथमिक बीमा कम्पनीहरूलाई सम्भावित ठूला वित्तीय क्षतिबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छन्। जोखिम व्यवस्थापनका लागि पुनर्बीमाका विभिन्न संरचनाहरू प्रयोगमा ल्याइन्छन्, जसमध्ये कोटा शेयर (अनुपात बाँडफाँड) र एक्सेस अफ लस (अधिक क्षति) सबैभन्दा बढी प्रचलित र महत्त्वपूर्ण हुन्।
यी दुबै संरचनाको मुख्य उद्देश्य जोखिम स्थानान्तरण गर्नु भए पनि यिनको कार्यशैली भने पूर्ण रूपमा फरक छ।
१) अनुपात बाँडफाँड
अनुपात बाँडफाँड एक समानुपातिक पुनर्बीमा संरचना हो। यसमा प्राथमिक बीमा कम्पनी र पुनर्बीमा कम्पनीबीच पहिले नै तोकिएको निश्चित प्रतिशतका आधारमा बीमा शुल्क र दाबी बाँडफाँड गरिन्छ।
उदाहरण यदि कुनै बीमा कम्पनीले ३० प्रतिशत कोटा सेयर सम्झौता गरेको छ भने, हस्तान्तरण गरिएको बीमाशुल्कको ३० प्रतिशत रकम पुनर्बीमा कम्पनीले प्राप्त गर्छ र भविष्यमा पर्ने दाबीको ३० प्रतिशत क्षति पनि सोही पुनर्बीमा कम्पनीले नै व्यहोर्छ।
२) अधिक क्षति
अधिक क्षति एक गैरसमानुपातिक पुनर्बीमा संरचना हो। यसमा बीमा कम्पनीले क्षति रकमको निश्चित सिमा आफैं व्यहोर्छ र सो सिमाभन्दा माथिको क्षति मात्र पुनर्बीमा कम्पनीले भुक्तानी गर्छ।
मानौँ, रु १ करोडको दाबीमा रु ५० लाख भन्दा माथिको सम्झौता छ भने, पहिलो रु ५० लाख सम्मको क्षति प्राथमिक बीमा कम्पनी स्वयंले व्यहोर्छ र सोभन्दा माथिको क्षति सम्झौताको अधिकतम सीमासम्म पुनर्बीमा कम्पनीले व्यहोर्नेछ।
कोटा बाँडफाँडमा निश्चित प्रतिशतका आधारमा समानुपातिक रूपमा जोखिम बाँडफाँड गरिन्छ। तोकिएको सीमाभन्दा बढी क्षति भएमा मात्र पुनर्बीमा सक्रिय हुन्छ। बीमाशुल्क र दाबी दुबै पूर्व सहमति अनुसारको अनुपातमा बाँडिन्छ। सीमाभन्दा माथिको दाबी मात्र पुनर्बीमाले व्यहोर्छ। अर्कोतर्फ अधिक क्षतिमा निश्चित सीमाभन्दा माथिको क्षति व्यहोर्ने दायीत्व पुनर्बीमा कम्पनीले स्वीकारेको हुन्छ ।यसले गर्दा प्राथमिक बीमकलाइ अधिक वित्तीय भार वा नोक्सानीको संभावनाबाट मुक्त राख्न मद्दत मिल्छ।
बीमा कम्पनीहरूले आफ्नो वित्तीय क्षमता, पोर्टफोलियो र जोखिम व्यहोर्ने क्षमताको विश्लेषण गरेर यी दुबै पुनर्बीमा मोडलहरूको प्रयोग गर्ने गर्छन्, जसले गर्दा बजारमा ठूला विपत्ति वा धेरै दाबी पर्दा पनि बीमा क्षेत्रको स्थायित्व कायम रहन्छ।












