काठमाडौं । यती एयरलाइन्स लिमिटेडले प्रिमियमसहित प्राइभेट प्लेसमेन्ट मार्फत २ अर्ब २७ करोड रुपैयाँ थप शेयर पूँजी भित्र्याएको छ। नयाँ प्रवर्द्धकहरूको प्रवेश र पुँजी थपिएसँगै कम्पनीको वित्तीय स्वास्थ्यमा उल्लेख्य सुधार आएको क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले जनाएको छ।
कम्पनीले प्रति कित्ता रू ५० प्रिमियम सहित रू १५० का दरले नयाँ लगानीकर्ताबाट शेयर पूँजी जुटाएको हो । यसअघि एशियन लाइफ इन्स्योरेन्सले पनि यती एयरलाइन्ससँग प्रिमियम मूल्यमै शेयर खरिद गरेको थियो ।
नयाँ लगानीकर्ताबाट प्रिमियमसहित थपिएको पुँजीको एउटा हिस्सा कम्पनीको पुरानो ऋण चुक्ता गर्न र जहाजका इन्जिन मर्मत सम्भार गर्न प्रयोग गरिएको छ। कम्पनीले थप पूँजीबाट दीर्घकालीन कर्जामध्येको ३१ करोड रूपैयाँ ऋण चुक्ता गरेको छ। आंशिकरूपमा ऋण चुक्ता गरिएपछि यसको ऋण पुँजी अनुपातमा सुधार देखिएको छ। कम्पनीको ओभरअल गियरिङ अनुपात आव २०७९।८० को ४९.८१ गुणा र आव २०८०।८१ को ४.४५ गुणाबाट घटेर आव २०८२।८३ मा १.४९ गुणामा झरेको छ।
कम्पनीले २ करोड ७१ लाख ९० हजार अमेरिकी डलर बराबरको वैदेशिक मुद्रामा रहेको कर्जालाइ नेपाली मुद्राको कर्जामा रूपान्तरण गरेको छ। अमेरिकी डलरको ऋण एकैपटक नेपाली मुद्रामा रूपान्तरण गर्दा यसले कम्पनीलाइ एकैपटक ३७ करोड २० लाख रूपैयाँ घाटा व्यहोर्न बाध्य बनायो। तर, अमेरिकी डलरमा ऋण कायमै रहँदा अमेरिकी डलरको भाउ वृद्धिसँगै कम्पनीको ऋणको पूँजी पनि बढ्दै जाने समस्या थियो। अब पूर्णतः नेपाली मुद्रामा मात्र ऋण भएकाले डलरको भाउ बढ्दा यसले ऋण पूँजीको भार बढेर कम्पनीलाइ थप दबाब पर्नेछैन । यो निर्णयले कम्पनीको नाफामा दीर्घकालमा सकारात्मक प्रभाव पार्नेछ ।
कुल बाह्य दायित्व र खुद सम्पत्तिको अनुपात आव २०८०।८१ को ४.८८ गुणाबाट सुध्रिएर १.६० गुणामा आएको छ। कम्पनीको ऋण सेवा कभरेज अनुपात १.१३ गुणाबाट बढेर १.८८ गुणा पुगेको छ।
नयाँ पुँजी संरचना र प्रवर्द्धकहरूको आगमनसँगै यती एयरलाइन्सका पुराना तथा संस्थापक शेयरधनीहरूको स्वामित्व प्रतिशतमा संकुचन आएको छ। पहिले यती एयरलाइन्समा एशियन लाइफ इन्स्योरेन्सको ४६.८२ प्रतिशत संस्थागत शेयर स्वामित्व रहेकोमा नयाँ पूँजी थपिएपछि यो स्वामित्व घटेर २९.८५ प्रतिशतमा सीमित भएको छ। यद्यपि, प्रिमियम मूल्यसहित रु १ अर्ब ५६ करोड १ लाख ५० हजार ३७६ रूपैयाँ लगानी गरेको एशियन लाइफ अझै पनि सबैभन्दा ठूलो एकल शेयरधनीका रूपमा कायम छ। कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाको स्वामित्व पहिले २५.०३ प्रतिशत रहेकोमा घटेर १५.९६ प्रतिशतमा आएको छ। त्यसैगरी, प्रबन्ध निर्देशक चन्दा शेर्पाको स्वामित्व २०.०६ प्रतिशतबाट घटेर १२.७९ प्रतिशतमा झरेको छ।
कम्पनीले निकट भविष्यमै २ अर्ब १० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने तयारी गरिरहेको छ। आईपीओ निष्कासन पश्चात् कम्पनीको पुँजीगत ढाँचा थप बलियो भई ऋणको मात्रा अझ घट्ने इन्फोमेरिक्स नेपालको विश्लेषण छ।












