काठमाडौं । विनाशकारी रसुवा बाढीमा भएको बीमाकृत सम्पत्तिको क्षतिको प्रारम्भिक तथ्यांक त्रुटिपूर्ण रहेको देखिएको छ। यो गलत तथ्यांकले बीमा क्षेत्रमै हलचल मच्चिएको छ।
नेपाल बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्यांक त्रुटिपूर्ण देखिएको हो। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँबराबरको बीमाकृत सम्पत्तिको क्षति भएको देखाएको छ। यो कुल ५८३ वटा दाबीको भनिएको छ।
नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ दामोदर भण्डारीले रसुवा बाढीको प्रारम्भिक क्षतिसम्बन्धी बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक त्रुटिपूर्ण रहेको बताए। ‘खासगरी ओरिएन्टल इन्स्योरेन्सले १३ अर्ब रुपैयाँबराबरको एक्सपोजर पठाएको थियो। तर, प्राधिकरणले लस भनेर बुझेछ’, उनले भने, ‘यसले बीमा क्षेत्रमा नराम्रो सन्देश गएको छ।’ भण्डारीले रसुवा बाढीको प्रारम्भिक क्षति करिब साढे १७ अर्ब रुपैयाँबराबरको मात्र रहेको बताए।
प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा धेरै दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ८ वटा बीमा दाबीमा १३ अर्ब ३ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। तर, यो पूर्ण रुपमा गलत तथ्यांक हो।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले रसुवा बाढीको प्रारम्भिक क्षतिको तथ्यांक त्रुटिपूर्ण भएको स्वीकारेका छन्। ‘विशेषगरी ओरिएन्टल इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सको तथ्यांक गलत प्रकाशित हुन पुग्यो’, उनले भने ।
कार्यकारी निर्देशक सुवेदीले करिब साढे ८ अर्ब रुपैयाँको फरक पर्न गएको बताए। ‘हालको प्रारम्भिक क्षति साढे १७ अर्ब रुपैयाँ बढीको भएको देखिएको छ’, उनले भने, ‘अबका दिनमा सही तथ्यांक ल्याउन प्राधिकरणको टिमले काम गरिरहेको छ।’












