काठमाडौं । सामाजिक सञ्जाल तथा अन्य माध्यममा बीमासम्बन्धी गलत, भ्रामक तथा अतिरञ्जित प्रचारप्रसार गर्ने बीमा अभिकर्ताहरूमाथि कारबाहीको लागि सिफारिस गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ।
इन्स्योरेन्स खबरले केही बीमा अभिकर्ताहरूले “इन्स्योरेन्स एडभाइजर” जस्ता पद प्रयोग गरी सर्वसाधारणलाई भ्रामक सूचना बाँडेको विषयमा निरन्तर समाचार सम्प्रेषण गरेपछि प्राधिकरणले निर्देशन दिएको हो।
भ्रामक प्रचार गर्न छोडेनन् अभिकर्ताले, अझै पनि झुठा प्रचार सामग्री सामाजिक सञ्जालमा छ्यापछ्याप्ती
प्राधिकरणद्वारा सोमबार जारी परिपत्रमा उल्लेख भएअनुसार, यसअघि भाद्र ८ मा भ्रामक प्रचार नियन्त्रण तथा अनुगमनका लागि परिपत्र जारी भइसकेको भए पनि सामाजिक सञ्जालमा अझै पनि केही बीमा अभिकर्ताहरूले सोही प्रकृतिका गलत र भ्रामक प्रचारबाजी गरिरहेको पत्रपत्रिकाका समाचारबाट ध्यानाकर्षण भएको जनाइएको छ।
प्राधिकरणले सम्पूर्ण बीमा कम्पनीहरूलाई आफ्ना अभिकर्ताहरूबाट हुने यस्ता प्रचार सामग्रीको कडाइका साथ अनुगमन गर्न भनेको छ। साथै, भ्रामक सूचना वा ठगीजन्य कार्यमा संलग्न अभिकर्ताको इजाजतपत्र (लाइसेन्स) खारेजी लगायतका नियमनकारी कारबाही गर्नुपर्ने देखिएमा सोको सिफारिससहित प्राधिकरणमा लेखी पठाउन स्पष्ट निर्देशन दिएको छ।












