काठमाडौं । नेपाल बीमा प्राधिकरणले सामाजिक सञ्जालको दुरुपयोग गर्दै जीवन बीमासम्बन्धी भ्रामक प्रचार नगर्न अभिकर्तालाई कारबाहीको चेतावनीसहित सचेत गराए पनि अझैसम्म पनि सामाजिक सञ्जालबाट अभिकर्ताहरुले त्यस्ता भ्रामक सामग्री हटाइएका छैनन्।
इन्स्योरेन्स खबरले निगरानी गर्दा जीवन बीमा कम्पनीका अभिकर्ताहरुको सामाजिक सञ्जाल विशेषगरी फेसबुक र टिकटकमा अझै पनि भ्रामक सामग्री छ्यापछ्याप्ती फेला परेका छन्।

खासगरी बीमामा लगानी गर्दा डब्बल पाइने, एकमुष्ठ मुद्दति निक्षेपमा बैंकको ब्याजभन्दा धेरै प्रतिफल प्राप्त हुने, बीमाशुल्क रकममा डिस्काउन्ट (छुट) पाइनेजस्ता भ्रामक शब्द र तथ्यांकहरुको प्रयोग गरेर सर्वसाधारणलाई झूठा विवरणमार्फत् भ्रममा पारेर ठग्ने प्रयास गरिएको देखिन्छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै अभिकर्ताले सर्वसाधारणलाई बीमा सम्बन्धमा गलत जानकारी दिएर ठगी धन्दा चलाएको भन्दै इन्स्योरेन्स खबरले श्रृंखलाबद्ध रुपमा समाचार प्रकाशन गरेपछि भदौ ८ गते अभिकर्तालाई सार्वजनिक सूचनामार्फत सचेत गराउँदै कुनै पनि बीमकका बारेमा भ्रामक प्रचार नगर्न चेतावनी दिएको थियो।
हामीले सामाजिक सञ्जालमा भेटिएका सामाग्रीहरू संकलन गरेर यो समाचार प्रकाशन गरेपछि अन्य अभिकर्ताहरूको तस्वीर पनि समावेश गरिदिनुहुन भन्दै अभिकर्ता र गैर अभिकर्ता दुबै खाले पाठकले हामीलाई सम्बन्धित अभिकर्ताको भिडियो लिङ्क र स्क्रिन सट उपलब्ध गराएका छन् । हाम्रो समाचार पढेर केही अभिकर्ताले प्राधिकरणको सूचना अघिको मितिको सामाग्री हुन् भन्दै आफ्नो बचाउ गर्ने प्रयास गरेका थिए, यद्दपी भ्रामक सामाग्री पुरानो वा नयाँ जुनसुकै भएपनि आचारसंहिताले यसको उलंघनमा छुट दिएको छैन ।
बीमा प्राधिकरणको सूचना र चेतावनीको अवज्ञा गर्दै केही अभिकर्ताले भदाै १४ गते साँझ पनि भविष्यमा प्राप्त हुने प्रतिफलको ग्यारेण्टी गरिएका श्रव्यदृश्य सामाग्री फेसबुक रिल र टिकटकमा प्रशारण गरिरहेको पाइएको छ।
समाचारमा समेटिएका तस्वीरहरू प्रतिनिधिमूलक तस्वीर मात्र हुन्। यसमा कुनै अभिकर्ता विशेषसँग हाम्रो व्यक्तिगत कुनै सरोकार होइन, पेशागत मर्यादामा रहेर पेशाको इज्जत जोगाउन सबै अभिकर्ता गम्भीर बनून् भन्ने उद्देश्यले सरोकारवालाको ध्यानाकर्षण गराउने यी स्क्रिन सट समावेश गरिएका हुन् ।
*अध्यावधिक गरिएको ।












