काठमाडौं । उच्च रक्तचाप सम्बन्धी स्वास्थ्य विवरण लुकाएको दाबीसहित लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल(एलआईसी नेपाल)ले अस्वीकृत गरेको एउटा मुद्दामा बीमित पक्षले ५० लाख रुपैयाँको दाबी भुक्तानी दिलाएको छ।
नेपाल बीमा प्राधिकरणले बीमितको पक्षमा दिएको निर्णयविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेको एलआईसी नेपालको पुनरावेदन खारेज गर्दै उच्च अदालतले बीमितकी श्रीमतीलाई दाबी भुक्तानी दिने फैसला सदर गरेको हो। काठमाडौंका बीमित शिवराम श्रेष्ठको बीमा अवधिभित्रै २०७७ पुस ११ मा निधन भएपछि उनकी पत्नी अञ्जु तुलाधरले ५० लाख रुपैयाँको बीमा दाबी गरेकी थिइन्। तर, बीमा कम्पनीले बीमितले १० वर्ष अघिदेखिको उच्च रक्तचापको विवरण लुकाएको आरोप लगाउँदै दाबी भुक्तानी दिन अस्वीकार गरेको थियो।
रोग लुकाएको पुष्टि हुने आधार पेस गर्न नसकेको भन्दै बीमा प्राधिकरणले मृत्यु दाबी भुक्तानी दिन आदेश दिएपछि बीमा कम्पनी उच्च अदालत पाटन पुगेको थियो। न्यायाधीश रमेशराज पोखरेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले २०८२ भदौ १० गते गरेको फैसलामा बीमा गर्नुअघि कम्पनी स्वयंले गराएको मेडिकल रिपोर्टमा रक्तचाप सामान्य १३०–८० देखिएको र बीमाअघि नै रोग पहिचान भई उपचार भएको ठोस प्रमाण कम्पनीले पेस गर्न नसकेकाले बीमा रकम भुक्तानी गर्नुपर्ने प्राधिकरणको निर्णय सदर गरेको हो।
एलआईसी नेपालले बीमित शिवराम श्रेष्ठलाई विगत १० वर्षदेखि उच्च रक्तचाप रहेको दाबी गरे पनि बीमालेख जारी हुनुअघि नै उक्त रोग पहिचान भई उपचार गराएको ठोस प्रमाण पेस गर्न सकेन। नर्भिक अस्पतालको प्रतिवेदनमा विगत १० वर्षदेखि उच्च रक्तचाप उल्लेख भए पनि सोही कागजातमा औषधि सेवन नगरेको र पछि मात्र एचटीएनको औषधि खान थालेको उल्लेख हुनुले बीमा गर्नुअघि नै रोग प्रमाणित भएको मान्न नसकिने अदालतको ठहर छ।
बीमा गर्नुअघि कम्पनीले गराएको चिकित्सकको गोप्य प्रतिवेदनमा बीमितको रक्तचाप सामान्य १३०–८० र ईसीजी सगरमाथा पोलिक्लिनिक सामान्य देखिएको थियो। कम्पनीले बीमितको सम्पूर्ण शारीरिक परीक्षण गरी योग्य ठहर्याएर ५० लाख रुपैयाँको बीमालेख नं. ११००६६९३९ जारी गरेको हुनाले पछि दाबी पर्दा उक्त सम्झौताबाट पछाडि हट्न नमिल्ने अदालतको ठहर छ।
यो प्रकरणले बीमा गर्दा र जोखिमांकन गर्दा बीमकले प्रस्तावकको स्वास्थ्य परीक्षण प्रतिवेदन र स्वास्थ्य अवस्थाका बारेमा राम्ररी ध्यान दिनुपर्ने सन्देश दिएको छ। बीमकले प्रस्ताव स्वीकार गर्नुअघि नै बीमितको स्वास्थ्य परीक्षण, पूर्वरोगको स्थिति र मेडिकल रिपोर्टको गहन विश्लेषण गर्नुपर्छ। किनकि एकपटक बीमालेख जारी भइसकेपछि दाबी पर्दा स्पष्ट र प्रमाणित आधारबिना केवल अनुमानका भरमा बीमकले दाबी भुक्तानी अस्वीकार गर्न मिल्दैन।
अर्कोतर्फ बीमितले पनि जीवन बीमाको प्रस्ताव फाराम भर्दा आफ्नो व्यक्तिगत स्वास्थ्य इतिहास, पहिले भएका वा हाल रहेका रोग र औषधि सेवनको विवरण स्पष्ट रुपमा खुलाउनुपर्छ। स्वास्थ्य परीक्षणका रिपोर्टहरु र बीमा प्रस्तावका क्रममा बुझाइएका कागजातका प्रतिलिपि सुरक्षित राख्नुपर्छ।












