काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ नामक संवाद कार्यक्रममा अर्थमन्त्री वाग्लेले यस्तो जानकारी दिएका हुन्। छलफलमा सहभागी नागरिकहरुले स्वास्थ्य बीमाप्रतिको सरकारी धारणाबारे राखेका जिज्ञासाको उत्तर दिँदै उनले यो स्पष्ट पारेका हुन्।
गत वर्ष स्वास्थ्य बीमाका लागि अघिल्लो सरकारले १० अर्ब रुपैयाँ बजेट छुट्याएको तर नपुगेपछि ११ अर्ब थप गरिएको वाग्लेले जानकारी दिए। यस वर्षको बजेटमा स्वास्थ्य बीमाको बजेट ५ अर्बले बढाएर १५ अर्ब छुट्याइएको पनि उनले स्पष्ट पारे। ‘गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ’, उनले भने, ‘यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु।’
अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमामा सरकारको दायित्व अझै बढिरहेको तर लगानी अनुसार नागरिकले सेवा पाएका छन् या छैनन् भन्नेमा शंका रहेको बताए। स्वास्थ्य बीमा कार्यक्रम सरकारी अस्पतालहरुमा निरन्तर जारी रहेको उल्लेख गर्दै उनले यसलाई थप प्रभावकारी बनाउन अध्ययन भइरहेकोसमेत स्पष्ट पारे।












