काठमाडौं । माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि भदौ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज भदौ ४ गतेसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
माण्डु हाइड्रोपावरले दुई आर्थिक वर्ष २०८१।८२ र २०८२।८३ को १४ औँ र १५ औँ वार्षिक साधारणसभा एकैपटक भदौ १८ गते आयोजना गर्दैछ। सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट हुनेछ।
सोही सभाले दुवै आर्थिक वर्षको लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछ। कम्पनीले आर्थिक वर्ष २०८२।८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको कुल १२ प्रतिशत हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
यसैगरी अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ। जसमा १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।
सभाले दुवै आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।












