काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० को संशोधन जारी गरेको छ। बीमकले यो संशोधनबाट पुनर्बीमा जोखिमको अति केन्द्रीकरण रोक्ने प्रावधान ल्याइने अपेक्षा गरेका थिए। बीमकको अपेक्षा र अनुमानविपरीत प्राधिकरणले पुनर्बीमा निर्देशिकामा पुनर्बीमासम्बन्धी कुनै पनि प्रावधानमा फेरबदल गरिएन।
निर्देशिकाको संशोधित संस्करण पूर्णतः सामान्य विषयमा संशोधन गरेर ल्याइएको छ। संशोधित संस्करणमा विदेशी पुनर्बीमा दलाल कम्पनीको कार्यालय अनिवार्य रुपमा नेपालमा दर्ता गर्नुपर्ने अवधि चौथोपटकका लागि सारेको छ।
बीमा जोखिम स्वदेशभित्रै अतिकेन्द्रीकृत गर्दा भविष्यमा भयावह अवस्था आउन सक्ने भन्दै निर्देशिका केही प्रावधानहरु समग्र बीमा क्षेत्रको हितमा नभएको भन्दै नेपाल बीमक संघ र जीवन बीमक संघले लिखित रुपमा नै प्राधिकरणलाई सुझाव दिएको छ। पुनर्बीमा निर्देशिकामा बीमकले आफूले स्वीकारेको जोखिमको ६० प्रतिशतसम्म जोखिम दुई स्वदेशी पुनर्बीमकलाई अनिवार्य रुपमा हस्तान्तरण गर्नुपर्छ।
यसअघि वैश्विक बीमकसँग पुनर्बीमा सम्झौतामार्फत जोखिम हस्तान्तरण गर्दै आएका थिए। निर्देशिका जारी भएपछि अहिले वित्तीय रुपमा कमजोर र जोखिम व्यवस्थापनमा कमजोर र विदेशी पुनर्बीमकको तुलनामा कमजोर अनुभव भएका स्वदेशी पुनर्बीमक नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सलाई हस्तान्तरण गर्नुपरिरहेको छ।
विदेशी र वित्तीय रुपमा सबल पुनर्बीमकसँग पुनर्बीमा गरेकै कारण २०७२ साल वैशाख ११ गतेको शक्तिशाली भूकम्पका कारण भएको क्षतिको समेत निर्जीवन बीमकले सहजै क्षतिपूर्ती दाबी भुक्तानी गर्नसक्षम भए।
नियामकीय निर्देशन मान्न बाध्य पारिए पनि बीमित हित संरक्षण गर्नुपर्ने मुख्य दायित्व बोकेका बीमकहरु पुनर्बीमासम्बन्धी प्रावधानका कारण चिन्तित छन्। ‘हामी बीमितको ट्रस्टी(संरक्षक) मात्र हौँ, बीमा कोषमा भएको पैसा हाम्रो होइन, बीमितकै हो’, एक प्रमुख कार्यकारी अधिकृतले इन्स्योरेन्स खबरसँग भने, ‘स्वदेशमै पुनर्बीमा जोखिम अतिकेन्द्रित गर्दा अवस्था भयावह हुन सक्छ।’
पुनर्बीमा निर्देशिका संशोधनका लागि बीमकका तर्फबाट दिइएको सुझाव किन समेटिएन भन्ने प्रश्नमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले भने, ‘अहिलेको संशोधन विदेशी पुनर्बीमा दलालको विदेशी मुद्रा सटहीको सुविधामा देखिएको अवरोध खुलाउन मात्र ल्याइएको हो। अन्य विषयका लागि यो संशोधन होइन।’
सुवेदीले बीमकले दिएको सुझाव र प्राधिकरणको अध्ययनका आधारमा पुनर्बीमा निर्देशिका संशोधनको सम्बन्धमा निर्देशिका संशोधनका लागि गृहकार्य जारी रहेको जानकारी दिए। उनले भने, ‘निर्देशिका संशोधनको मस्यौदामाथि प्राथमिकताका साथ सञ्चालक समितिमा छलफल र परामर्श जारी छ। बीमक साथीहरु अहिले नै हतारिएर हुन्न। केही समय लाग्छ।’












