काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा महिला नेतृत्वले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ। निजी क्षेत्रबाट निर्माण हुन लागेको नेपालको सबैभन्दा ठूलो ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत् आयोजना महिला नेतृत्वमा अघि बढिरहेको छ।
एससी पावर लिमिटेड प्रवर्द्धक रहेको तिला–१ आयोजनामा सुशन कर्माचार्यले नेतृत्व गरिरहेकी छन्। उनले यस आयोजनालाई अघि बढाउँदै निजी क्षेत्रको स्वदेशी लगानीमा निर्माण हुन लागेको अहिलेसम्मकै ठूलो जलविद्युत् परियोजनालाई वित्तीय व्यवस्थापनको चरणसम्म पुर्याएकी छन्।
आयोजनाको २९८ मेगावाट क्षमताका लागि करिब ५८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। यसका लागि एनएमबि बैंकसहित विभिन्न बैंक तथा वित्तीय संस्थाले करिब ४४ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता गरेका छन्। प्रवर्द्धक समूहले करिब १४ अर्ब रुपैयाँ इक्विटी लगानी गर्नेछ।
आयोजनामा प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, कृषि विकास बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंकलगायतका वित्तीय संस्थाको लगानी रहनेछ। यसका साथै विभिन्न लगानी कम्पनी तथा जलविद्युत् कम्पनीले समेत लगानी गर्ने भएका छन्।
४४० मेगावाट उत्पादनको लक्ष्य
नेपाल विद्युत् प्राधिकरणसँग हाल २९८ मेगावाटको विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ। बाँकी १४२ मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य राखिएको छ। आयोजनाको हेडवक्र्स र सुरुङ भने पूर्ण ४४० मेगावाट क्षमताकै हुने बताइएको छ।
निजी क्षेत्रले विद्युत् व्यापारको अनुमति प्राप्त गरेपछि आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यात गर्ने लक्ष्य राखिएको छ। पूर्ण ४४० मेगावाट क्षमताको आयोजना निर्माणका लागि लागत करिब ६८ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
सहकारीदेखि जलविद्युत् नेतृत्वसम्म
तिला–१ को नेतृत्व गरिरहेकी कर्माचार्यको ऊर्जा क्षेत्रमा प्रवेश र विस्तारलाई महिला उद्यमशीलताको उदाहरणका रुपमा समेत लिन सकिन्छ। उनले यसअघि ५ मेगावाटको इस्टर्न हाइड्रोपावर, ७.२७ मेगावाटको याम्बलिङ र २४ मेगावाटको मादमे खोला जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादनमा ल्याइसकेकी छन्।
कर्माचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) की उपाध्यक्षसमेत हुन्। सहकारी क्षेत्रबाट ऊर्जा क्षेत्रमा प्रवेश गरेकी कर्माचार्यले अहिले निजी क्षेत्रको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको नेतृत्व गरिरहेकी छन्।
महिला नेतृत्वका लागि नयाँ सन्देश
तिला–१ को कथा केवल एउटा ठूलो जलविद्युत् आयोजना निर्माणको मात्र होइन; यो नेपालको ऊर्जा, उद्यमशीलता र लगानी क्षेत्रमा महिलाको बढ्दो नेतृत्वको उदाहरण पनि हो। ठूला पूर्वाधार आयोजनामा महिला नेतृत्व अझै सीमित रहेको अवस्थामा करिब ४४ अर्ब रुपैयाँको ऋण लगानी जुटाउन सफल हुँदै ४४० मेगावाटको आयोजना अघि बढाउनु नेपाली महिला उद्यमशीलताका लागि महत्वपूर्ण उपलब्धि बन्न सक्छ।
नेपालको जलविद्युत् विकास अब केवल उत्पादन बढाउने विषयमा सीमित नरही निजी लगानी, अन्तर्राष्ट्रिय विद्युत् व्यापार, विदेशी मुद्रा आर्जन र महिला नेतृत्वसँग जोडिँदै गएको छ। तिला–१ जस्ता आयोजनाले यस परिवर्तनलाई थप गति दिने अपेक्षा गर्न सकिन्छ।












