काठमाडौं । गत आर्थिक वर्ष २०८२।८३ मा कडा रोग लागेका ४२ हजार बिरामीले उपचार सुविधा पाएका छन्।
स्वास्थ्य बीमा बोर्डका अनुसार गत आर्थिक वर्षमा कुल ४२ हजार १३१ जना कडा रोग लागेका बिरामीले स्वास्थ्य बीमामार्फत उपचार सुविधा पाएका छन्। यसरी उपचार सुविधा पाउनेमा सबै बढी क्यान्सरपीडित छन्।
गत आर्थिक वर्षमा स्वास्थ्य बीमामार्फत १९ हजार ५४४ जना क्यान्सरपीडित बिरामीले उपचार सुविधा लिएका छन्।
यसैगरी दोस्रो धेरै उपचार सुविधा पाउनेमा मिर्गौलापीडित छन्। बोर्डका अनुसार १२ हजार ८२४ जना मिर्गौलापीडित बिरामीले उपचार सुविधा लिएका छन्।
त्यस्तै स्वास्थ्य बीमामार्फत मुटुरोगी ६ हजार ८२९ जना, सिकलसेल एनिमिया भएका १ हजार ४२७ जना, स्पाइनल इन्जुरी भएका ९४२ जना, हेड इन्जुरी भएका ४३७ जना, पार्किन्सोनिजम भएका ८२ जना र अल्जाइमर्स भएका ४६ जनाले उपचार सुविधा पाएको बोर्डले जनाएको छ।
यी ८ प्रकारका कडा रोगमा सरकारले २ लाख रुपैयाँसम्मको उपचार सुविधा दिने गरेको छ। तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा यी कडा रोगमा सरकारले दिँदै आएको १ लाख रुपैयाँको उपचार सुविधालाई बढाएर २ लाख रुपैयाँ पुर्याइएको थियो।












