काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त सबैखाले बीमकलाई आन्तरिक अनुगमन तथा सुपरिवेक्षण सम्बन्धि त्रैमासिक प्रतिवेदन समयमै पेश गर्न निर्देशन दिएको छ।
प्राधिकरणको नियमन शाखाले परिपत्र जारी गर्दै बीमकको संस्थागत सुशासन निर्देशिका, २०८० को दफा ११(१) बमोजिम गरिएको अनुगमन तथा सुपरिवेक्षणको प्रतिवेदन प्रत्येक त्रैमास समाप्त भएको मितिले पन्ध्र (१५) दिनभित्र प्राधिकरणसमक्ष पेश गर्नुपर्ने व्यवस्था अवगत गराउँदै प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।
यो दफामा बीमकको सञ्चालक समितिले ऐन, नियमावली, प्रचलित कानून, प्राधिकरणबाट समय-समयमा जारी भएका निर्देशन, तथा सञ्चालक समितिबाट स्वीकृत नीति, नियम, निर्णय, निर्देशन, दिग्दर्शन (म्यानुअल), परिपत्र वा कार्यविधिको पालना भए, नभएको सम्बन्धमा आवश्यक कार्यविधि बनाएर लागू गर्नुपर्ने व्यवस्था गरेको छ। साथै यस्तो कार्यका सम्बन्धमा कम्तीमा प्रत्येक तीन-तीन महिनामा अनुगमन तथा सुपरिवेक्षण गरी सोको अद्यावधिक अभिलेख राख्नुपर्ने व्यवस्था रहेको छ।
निर्देशिकाको दफा ११(२) मा अनुगमन तथा सुपरिवेक्षणको प्रतिवेदन प्रत्येक त्रैमास समाप्त भएको मितिले पन्ध्र (१५) दिनभित्र प्राधिकरणसमक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ। अधिकांश बीमकले प्रतिवेदन पेश नगरेपछि प्राधिकरणले परिपत्र जारी गर्दै बीमकलाई ताकेता गरेको हो।












