काठमाडौं । वीर अस्पतालको बर्न युनिट मा उपचारका क्रममा ज्यान गुमाएका मुगु, सोरु गाउँपालिका वडा नं १ का २५ वर्षीय गणेश नेपालीको निधनको विषयलाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा आइतबार दुई पक्षबीच औपचारिक सहमतिपत्रमा हस्ताक्षर भएको हो। गत असार २६ गते वीर अस्पतालमा उपचारका क्रममा नेपालीको असामयिक निधन भएको थियो। सो घटनालाई लिएर उत्पन्न विवाद र मागहरू सम्बोधन गर्न दुबै पक्ष वार्तामा बसेका थिए।
सहमतिका मुख्य बुँदाहरूः
स्वतन्त्र छानबिन समिति गठनः घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको मितिले ७ दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ।
सहिद घोषणाको प्रक्रियाः मृतक गणेश नेपालीलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउनेछ।
नगर प्रहरी कर्मचारी निलम्बनः घटना घटेको दिन कार्यक्षेत्रको अग्रभागमा खटिएका काठमाडौँ महानगरपालिकाका महानगरिय प्रहरी बलका कर्मचारीहरूलाई छानबिन आयोगको प्रतिवेदन नआउन्जेलसम्मका लागि हाललाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्र लेख्नेछ।
रोजगारी र उच्च शिक्षाको व्यवस्थाः काठमाडौँ महानगरपालिकाको आगामी कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमती एकमाया नेपालीलाई उनको योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ।
उचित राहत र स्वास्थ्य बीमाः आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइनेछ। साथै, पीडित एकाघरका परिवारको स्वास्थ्य बिमाको कार्य स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट मिलाइनेछ।
अन्तिम संस्कार र आवास खर्चः मृतकको शव बुझ्ने, पोस्टमार्टम लगायतका कानुनी प्रक्रियामा पीडित पक्षले सहयोग गर्नेछन्। मृतकको अन्तिम संस्कार तथा काजकिरियाको सम्पूर्ण व्यवस्था र खर्च महानगरपालिकाले व्यहोर्नेछ। साथै, काजकिरिया अवधिभर मृतकका एकाघरका परिवारजनको यातायात र काठमाडौँमा रहँदा बस्दा हुने सम्पूर्ण खर्च समेत महानगरले नै बेहोर्ने सहमति भएको छ।
सहमतिपत्रमा नेपाल सरकार तथा स्थानीय तहका तर्फबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।
त्यस्तै, पीडित परिवार तथा वार्ता समितिका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली र वार्ता समितिका सदस्यहरू भक्तबहादुर रावत, धर्मराज शाही, मन नेपाली, प्रवलकुमार चौलागाईं, नवराज न्यौपाने, पदम नेपाली, आशिष देवकोटा तथा सर्जन बरालले हस्ताक्षर गरेका छन् ।












