काठमाडौं । पछिल्लो समय विश्वभर नै मानिसहरु आफ्नो स्वास्थ्य र खानपानप्रति निकै सचेत हुन थालेका छन्। कोही माछामासु त्यागेर शाकाहारी बन्दैछन् त कोही दुग्धजन्य पदार्थसमेत नखाने कडा शाकाहारी अर्थात् भेगन बन्ने दौडमा छन्। तर, के मासु नखाँदैमा क्यान्सरको जोखिम पूर्ण रुपमा टर्छ त ? हालै सार्वजनिक भएको एउटा प्रतिष्ठित अनुसन्धानले यस विषयमा केही रोचक र सोच्न बाध्य बनाउने तथ्यहरु बाहिर ल्याएको छ।
ब्रिटिस जर्नल अफ क्यान्सरमा प्रकाशित एउटा बृहत् अध्ययनअनुसार शाकाहारी भोजन गर्नेहरुमा मासु खानेहरुको तुलनामा केही निश्चित प्रकारका क्यान्सरहरुको जोखिम निकै कम पाइएको छ। तीनवटा महादेशका १८ लाखभन्दा बढी मानिसहरुको तथ्यांक विश्लेषण गरेर निकालिएको यो निष्कर्षले खानपान र स्वास्थ्यको सम्बन्धलाई पुनः बहसको केन्द्रमा ल्याइदिएको छ।
अध्ययनका अनुसार शाकाहारी जीवनशैली अपनाउने मानिसहरुमा पाँच प्रकारका क्यान्सरको जोखिम कम देखिएको छ। यसमा विशेष गरी प्याङ्क्रियाज (अग्नाशय)को क्यान्सर, स्तन क्यान्सर, प्रोस्टेट (मूत्र नली) क्यान्सर, मिर्गौलाको क्यान्सर, मल्टिपल माइलोमा (एक प्रकारको रक्त क्यान्सर) समावेश छन्।
अक्सफोर्ड पपुलेसन हेल्थका इमेरिटस प्रोफेसर टिम कीका अनुसार फलफूल, तरकारी र फाइबरयुक्त खानाको बढी प्रयोग र प्रशोधित मासुको शून्य उपभोग नै शाकाहारीहरुमा क्यान्सरको जोखिम कम हुनुको मुख्य कारण हुन सक्छ।
त्यस्तै शाकाहारीहरुको शारीरिक वजन पनि सन्तुलित हुने भएकाले यसले विशेषगरी स्तन क्यान्सरको जोखिम घटाउन मद्दत पुर्याउने अनुसन्धानकर्ताहरुको अनुमान छ।
त्यसैगरी माछा र दुग्धजन्य पदार्थ खाने तर मासु नखानेहरुमा पनि ठूलो आन्द्रा, स्तन र मिर्गौलाको क्यान्सरको जोखिम कम पाइएको छ।
आश्चर्यजनक खुलासा
यो अध्ययनले सबैभन्दा ठूलो आश्चर्य भेगन कुनै पनि जनावरजन्य उत्पादन जस्तै– दूध, दही, घिउसमेत नखानेहरुको हकमा देखाएको छ। सामान्यतया रातो मासुको सेवनलाई ठूलो आन्द्राको क्यान्सरसँग जोडेर हेरिन्छ। तर, अचम्मको कुरा के छ भने मासु वा दुग्धजन्य पदार्थ केही पनि नखाने भेगनहरुमा यो क्यान्सरको जोखिम मासु खानेहरुको तुलनामा बढी पाइएको छ।
मुख्य अनुसन्धानकर्ता यशभी डुनरामका अनुसार भेगनहरुले दुग्धजन्य पदार्थ नखाँदा उनीहरुको शरीरमा क्याल्सियमको मात्रा निकै कम हुन पुग्छ। जुन यो जोखिमको कारण हुन सक्छ।
त्यस्तै शाकाहारीहरुका लागि पनि अर्को एउटा चेतावनीमूलक तथ्य फेला परेको छ। शाकाहारीहरुमा स्क्वामस सेल कार्सिनोमा भनिने अन्ननलीको क्यान्सरको जोखिम मासु खानेहरुको तुलनामा झन्डै दोब्बर पाइएको छ। अनुसन्धानकर्ता ओरोरा पेरेज कोर्नागोका अनुसार शरीरमा रिबोफ्लाभिन भिटामिन बी२ को कमी यसको कारण हुन सक्छ। भिटामिन बी२ मुख्यतया अन्डा, दूध र कलेजोजस्ता खाद्यपदार्थमा पाइन्छ। जुन पूर्ण शाकाहारीको डाइटमा कम हुन जान्छ।
सन्तुलित आहार नै उत्तम विकल्प
यो अध्ययनले पूर्ण रुपमा शाकाहारी वा भेगन बन्दैमा सबै रोगबाट मुक्ति मिल्छ भन्ने भ्रमलाई चिरेको छ। शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थको कमी भएमा उल्टै अन्य स्वास्थ्य समस्या निम्तिन सक्छन्।
अध्ययनमा संलग्न नभएका एबरडिन विश्वविद्यालयका रोवेट इन्स्टिच्युटका निर्देशक जुल्स ग्रिफिनका अनुसार स्वास्थ्यका लागि बेलायतको नेसनल हेल्थ सर्भिसुले सिफारिस गरेजस्तो सन्तुलित आहार नै सबैभन्दा उत्तम हुन सक्छ। जहाँ मासु र माछा खाइन्छ तर निकै सन्तुलित र कम मात्रामा मात्र। यस्तो सन्तुलित आहारले शरीरलाई आवश्यक पर्ने सम्पूर्ण पोषक तत्व प्रदान गर्छ र क्यान्सरको जोखिमलाई पनि न्यूनतम स्तरमा राख्न मद्दत गर्दछ।
त्यसैले फेसन वा नक्कलका भरमा मात्र आफ्नो आहार परिवर्तन गर्नुभन्दा शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरुको सन्तुलन मिलाएर खानु नै बुद्धिमानी हुने देखिन्छ।












