काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ४ करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु वर्षको चैतसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ नै थियो।
शेयर पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा २० करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६९ करोड १६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५८ करोड ३४ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटीमा १८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
चालु वर्षको पहिलो ९ महिनामा कम्पनीले ४ अर्ब ३१ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ४ अर्ब ४६ करोड ५६ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३.४० प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ४ अर्ब ३ करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ४ अर्ब १८ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ३.३८ प्रतिशतले घटेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ०.५४ रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १२.६८ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १५०.१८ रुपैयाँ रहेको छ।
सम्पत्ति शुद्धीकरण विभागको निर्देशनमा प्राधिकरणले हिमालयन रिमाथि अनुसन्धान गरेको थियो। सोही अनुसन्धान पूरा भएपछि प्राधिकरणले गत वैशाख २९ गते नियामकीय कारबाही गर्ने निर्णय गर्दै हिमालयन रिको पुनर्बीमा कारोबारमा आउँदो असार मसान्तसम्मका लागि रोक लगाएको हो।












