काठमाडौं । महालेखापरीक्षकको कार्यालयले आठ प्रकारका गम्भीर रोगलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गर्न महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ।
कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१।८२ को ६३ औँ प्रतिवेदनमा यस्तो सुझाव दिएको हो। ‘ती ८ प्रकारका रोगलाई स्वास्थ्य बीमा कार्यक्रमसँग आबद्ध गरी स्वास्थ्य सेवा प्रवाह एकद्वारा प्रणालीबाट उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ’, प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनअनुसार विपन्न नागरिक औषधिउपचार निर्देशिका, २०८० मा ८ प्रकारका गम्भीर रोगको उपचारमा आर्थिक सहयोग दिने व्यवस्था रहेको छ। ‘यो वर्ष स्वास्थ्य सेवा विभागले मुटु रोगी हजार ४१०, मिर्गौला रोगी १२ हजार ७३, क्यान्सर रोगी २८ हजार ६७८, पार्किन्सन रोगी १०८, अल्जाइमर्स रोगी ४४, स्पाइनल इन्जरी भएका १ हजार २५३, हेड इन्जुरी भएका ९८० तथा सिकलसेल एनिमिया रोगी २ हजार ३१ जना गरी ५३ हजार ५७७ बिरामीको उपचार गरेको आधारमा १३६ स्वास्थ्य संस्थालाई ४ अर्ब ५९ करोड ८५ लाख ३२ हजार रुपैयाँ शोधभर्ना गरेको छ’, प्रतिवेदनमा भनिएको छ।












