काठमाडौं । फोटोन मोटर्स नेपालले सुनसरीको इटहरीमा नयाँ शोरूम उद्घाटन गर्दै पूर्वी नेपालमा आफ्नो उपस्थिति विस्तार गरेको छ। चैत १५ गते आयोजित कार्यक्रममा शोरूम उद्घाटनसँगै ग्राहक भेटघाट (कस्टमर मिट) कार्यक्रम पनि सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीस्थित यो शोरूमले सुनसरी, मोरङ लगायत आसपासका जिल्लाका ग्राहकलाई सेवा प्रदान गर्नेछ। कम्पनीका अनुसार नयाँ शोरूमलाई पूर्ण 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधा सहित सञ्चालनमा ल्याइएको छ, जसले ग्राहकलाई एकै स्थानबाट सम्पूर्ण सेवा उपलब्ध गराउनेछ।
शोरूम उद्घाटनसँगै आयोजित ‘कस्टमर मिट’ कार्यक्रममा हालका तथा सम्भावित ग्राहकहरूले आफ्ना अनुभव, अपेक्षा र सुझावहरू प्रस्तुत गरेका थिए। कम्पनीले ग्राहकको प्रतिक्रिया संकलन गर्दै सेवा गुणस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
फोटोन मोटर्स नेपालले आफ्टर सेल्स सेवा सुदृढीकरण, छिटो प्रतिक्रिया प्रणाली र ग्राहक सन्तुष्टि अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। ग्राहकको सुझावलाई आधार बनाएर आगामी रणनीति तय गरिने कम्पनीको भनाइ छ।
यसैबीच, कम्पनीले देशभर इलेक्ट्रिक सवारी साधनको प्रयोग सहज बनाउन चार्जिङ पूर्वाधार विस्तारलाई पनि तीव्रता दिएको छ। हालसम्म १६६ भन्दा बढी स्थानमा CCS2 प्रकारका DC फास्ट चार्जिङ स्टेशन स्थापना भइसकेका छन्।












