काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले एलायन्ज जिओ पुनर्बीमा कम्पनी सञ्चालनका लागि स्वीकृति प्रदान गरेको छ। यो कम्पनी भारतीय पुनर्बीमा बजारमा तेश्रो भारतीय पुनर्बीमक हुनेछ।
भारतमा यसअघि सरकारी स्वामित्वको जिआइसी रि र निजी क्षेत्र प्रवर्द्धित भ्यालुएटिक्स पुनर्बीमा कम्पनी सञ्चालनमा रहेको छ। भ्यालुएटिक्स पुनर्बीमा कम्पनीमा अनलाइन प्ल्याटफर्ममार्फत बीमालेख बिक्री गरिरहेको गो डिजिटका प्रवर्द्धक कामेश गोयल, ओवन भेञ्चर र एफएएल कर्पोरेशनको लगानी छ।
एशियन इन्स्योरेन्स रिभ्युका अनुसार, इजाजत पत्र प्राप्त नयाँ पुनर्बीमक एलायञ्ज जिओ एलायन्ज समूह र जिओ फाइनान्सियल सर्भिसेज बीचको बराबर स्वामित्वको कम्पनी हो। एलायन्स समूहले भारतमा विगत २५ वर्षदेखि एलायन्ज रिको पुनर्बीमा शाखा सञ्चालन गरिहेको छ।












